प्रमुख समाचार

पेश्की रकम होटल खर्चका लागि होइन : रमेश लेखक

इकागज |
असार १६, २०७८ बुधबार ११:८ बजे

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले पार्टीसँग होटल र अन्य खर्चका निम्ति नभई आवश्यक सामान खरिद र जनशक्ति खर्चका निम्ति पेश्की माग गरेको बताएका छन् ।

‘आठ लाख ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरूको अन्तिम सूची तयार गर्न र त्यस निम्ति आवश्यक कम्प्युटर, प्रिन्टर, स्टेशनरीका खरिदमा खर्च भएको हो’ लेखकले इकागजसँग भने, ‘त्यसअतिरिक्त सूची तयारीका निम्ति कम्प्युटरमा काम गर्ने, सफ्टवेयर इन्जिनियरलगायत जनशक्ति खर्चका लागि पनि हो ।’


छानबिन समितिले पार्टीसँग ४० लाख रुपैयाँ पेश्की मागेको विषयमा इकागजले समाचार प्रकाशन गरेको थियो । लेखकले भने, ‘ती कामका लागि उक्त रकम पेश्‍की स्वरुप माग गरिएको हो, त्यो रकम खर्च भइसकेको स्थिति होइन । ती सामाग्री खरिदका निम्ति पेश्कीका रुपमा माग गरिएको हो ।’

समितिले नेपाल-भारतमैत्री धर्मशाला तिलगंगामा रहेर क्रियाशील सदस्यता छानबिन गरिरहेको छ । लेखकले भने, ‘त्यो रकम धर्मशाला या होटललाई दिइएको होइन । अन्य प्रयोजनमा पनि खर्च भएको होइन ।’

उनका अनुसार, ‘कांग्रेसका ८ लाख ३० हजार क्रियाशील सदस्यहरूको नामावली तयार गर्ने, प्रत्येकको पाँच-पाँच प्रति प्रिन्ट गर्नुपर्छ । त्यति ठूलो संख्यामा प्रिन्ट गर्नुपर्ने भएपछि त्यसमा स्टेशनरी खर्च गर्न लाग्छ नै । त्यो कपी देशभर पठाउनुपर्छ’ लेखकले भने, ‘छानबिन समितिको काम सकिएपछि उक्त खर्च रकम पारदर्शी ढंगले सार्वजनिक गरिनेछ ।’


Author

थप समाचार
x