‘केन्द्रीय समिति बैठकमा नेपाल समूह नआउनु पर्ने कारण छैन’

काठमाडौँ : एमाले नेता विष्णु पौडेलले १८ गते बोलाइएको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूह नआउनु पर्ने कुनै कारण नरहेको बताएका छन् । पार्टीको १० औं महाधिवेशन आयोजक समिति खारेज गरेर केन्द्रीय समिति ब्युँताएपछि नेपाल समूहलाई बैठकमा आउन कुनै समस्या नहुँने उनले बताए ।
‘नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी ब्युँताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुन कुनै समस्या हुँदैन,’ पौडेलले भने ।
पौडेलले नेपाल समूहका नेताहरू बैठकमा नआए अनुचित हुने पनि बताए । आफू नेताहरू बैठकमा आउने विश्वासमा रहेको पनि उनले बताए ।
उनले भने, ‘आजका मितिदेखि कारबाहीका प्रशंग पनि सकियो । र स्वभाविक रूपमा पूर्वहैसियत, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भन्दा अगाडीको अवस्थाबाट, अगाडीको पदीय हैसियतसाथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि त्यो बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । त्यसकारणले म आशा गर्छु उहाँहरू आउनुहुनेछ ।’
पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै दायरामा फर्काउनुपर्ने बताए । पार्टीभित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनको जोड छ ।
आगामी दिनमा एमाले व्यक्तिको स्वेच्छाचारीतामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया