घरमै धारा पुगेपछि डोकोमा पानी बोक्ने बाध्यता हट्यो
त्रिवेणी (नवलपरासी)- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो ।
देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् । खोलाबाट पानी बोक्दा दिन नै बित्ने गरेकामा अहिले घरमा धारा जोडिएपछि आफूहरूको दैनिकी नै फेरिएको उनले बताइन् ।
“घरमा एक जनाको काम नै पानी बोक्ने हुन्थ्यो, अब घरमै धारा आएपछि खेतीपाती र पशुपालनमा समय दिन सकिने भयो”, उनले भनिन्, “बल्ल डोकोमा पानी बोक्ने दिन सकिए ।”
घरमै धारा अनि चौबीसै घण्टा पानी भएपछि दैनिक काम गर्न सहज भएको स्थानीय लालमाया बरालले बताइन् । पानीको सहजतासँगै घरको सरसफाइ, खेतीपाती र अन्य काममा समय दिन सहज भएको उनको भनाइ छ । पहिला खोलाको छेउमा तरकारी लगाउने गरेका मौलाथुम्कीवासीलाई अहिले घरघरमा तरकारीलगायत अन्य खेती गर्न सहज भएको हुनुका साथै समयको समेत बचत भएको छ ।
देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको सहयोग तथा स्थानीयको श्रमदानमा रु १५ लाख ३९ हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको हो । स्थानीयलाई खानेपानीको समस्या भएपछि वास नमूना गाउँ परियोजनासँग सहकार्य गरी खानेपानीको विस्तार गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताइन् ।
पानीको सहजताले घरमा सबैको समय बचत भएको साथै कृषि तथा पशुपालन सहयोग पुगेको मौलाथुम्की खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष गिरिप्रसाद बरालले बताए । “पहिला नगरपालिकाले सानो खानेपानी ट्याङ्की बनाएको थियो, गाउँका सबैले त्यहाँबाट डोकामा पानी बोक्नुपर्ने बाध्यता थियो”, उनले भने । अहिले सबैको घरमा तरकारी उत्पादन भएपछि तरकारी किनेर खानुपर्ने बाध्यता पनि हटेको छ ।
देवचुली नगरपालिका र वास नमूना गाउँ परियोजनाको साझेदारीमा मौलाथुम्कीमा खानेपानी तथा सरसफाइ अभियान सञ्चालन गरिएको परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले बताए । परियोजनाले देवचुली–५ र ६ मा ग्रामीण खानेपानी स्तरोन्नतिसँगै समुदायमा सरसफाइसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया