कोभिड महामारी
‘मिस्टर भर्जिन’ निर्देशक बिशारद बस्नेतको निधन
काठमाडौँ : फिल्म निर्देशक तथा कलाकार बिशारद बस्नेतको निधन भएको छ । केही समय पहिले कोभिड-१९ पोजेटिभ देखिएका उनको शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
३९ वर्षका उनको शुक्रबार साढे ५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पतालका कोभिड फोकल पर्सन नरेन्द्र तिम्सिनाले कोभिडको कारण बस्नेतको निधन भएको पुष्टि गरे ।
भारतमा जन्मिएर लामो समय उतै काम गरेका बिशारदले दुई नेपाली फिल्म निर्देशन गरेका छन् । ‘यता न उता’मा सह निर्देशन गरेका बस्नेतले ‘मिस्टर भर्जिन’ फिल्म पनि निर्देशन गरेका थिए । नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक बस्नेतले भारतमै पनि लामो समय थिएटरमा काम गरेका थिए ।
नेपालमा उनले एभरेस्ट फिल्म एकेडेमीमा अभिनय पनि पढाउने काम गरेका थिए । उनले असिम शाहको निर्देशन रहेको ‘दुई रुपैंयाँ’ पनि अभिनय गरेका छन् । नाट्यकर्मी बिमल सुवेदीले बस्नेतले भारतमा पनि थिएटरमा निकै राम्रो अनुभव काम गरेको बताए ।
‘हामीले सँगै काम त गरेनौँ तर उहाँले भारतमा राम्रै कलाकारसँग काम गर्नु भएको हो । नेपालमा पनि उहाँ अभिनय, निर्देशन र प्रशिक्षण तीनै विधामा सक्रिय हुनुहुन्थ्यो,’सुवेदीले भने ।
मिस्टर भर्जिनमा सँगै काम गरेका कलाकार कमलमणि नेपालले आफूले असल मित्रसँगै होनहार निर्देशक गुमाएको बताए । उनले २० दिन अघि आफूसँग कुराकानी भएको बताउँदै उनको निधनको खबरले स्तब्ध बनाएको बताए ।
‘२० दिनअघि मात्र उहाँसँग कुरा भएको थियो । म कोभिड पोजेटिभ भएर निको हुँदै थिएँ । बिशारदलाई भर्खर कोभिड भएको रहेछ । छेऊमा रहेको सिलिन्डर देखाउँदै मलाई केही हुन्न ब्रो भनेका थिए । मि भर्जिनको सिक्वेलमा हिरो बनाउनु छ तिमीलाई भनेका थिए । आज अचानक यो खबर सुन्दा हैन कि भने जस्तै लागिरहेको छ,’ कमलले भने ।
बस्नतेले मण्डला थियटरमा 'क्लाउन एट वर्क' शीर्षकको कार्यशाला सन्चालन गरेका थिए । बस्नेतले मण्डलाको प्रोडक्सन 'बार दुर्वासा'मा अभिनय पनि गरेका थिए ।
'उहाँको योगदान नेपाली रंगमञ्चमा सधैं जीवित रहनेछ', बस्नेतको निधनपछि मण्डला थियटरले आफ्नो फेसबुक पेजमा लेखेको छ, 'भौतिक रुपमा हामीसँग नरहेपनि हामी वहाँलाई वहाँका कामहरु, सपनाहरु र जिजीविषाका लागि सधैं सम्झिरहनेछौं ।'
कमलमणि नेपालका अनुसार बस्नेतले चार महिनाअघि मात्र बुबा र हजुरआमा गुमाएका थिए । उनको शुक्रबार नै पशुपतिमा दाह संस्कार गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया