१३ लाख बढीले कोभिसिल्डको दोस्रो डोज कहिले पाउँछन् ?
'पहिलो डोजको प्रभावकारिता लामोसम्म रहन्छ'
फाइल तस्बिर
काठमाडौँ : कोभिडविरुद्धको दोस्रो डोज खोप लगाएका मानिसको संख्या नेपालमा साढे सात लाखभन्दा बढी छ । त्यसको दोब्बर मानिसहरू कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो खोपको पर्खाइमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो डोज लगाउनेको संख्या १३ लाख ६८ हजार ८५९ छ । भारत र कोभ्याक्स कार्यक्रममार्फत आएको 'कोभिसिल्ड'को खोप फागुनको तेस्रो सातादेखि ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएका थिए ।
करिब १४ लाख मानिसले 'कोभिसिल्ड'को पहिलो डोज लगाइसकेको भए पनि दोस्रो डोज कहिले पाउने अन्यौल छ । दोस्रो खोपको पर्खाइमा रहेकाहरू अधिकांश जोखिम उमेर समूहका छन् ।
पहिलो डोज खोपको प्रभाव एक वर्षसम्म रहने भएकाले तत्कालै कोभिसिल्डविरुद्धको दोस्रो डोज नपाए पनि समस्या नहुने खोप महाशाखाका प्रमुख डा. झलकप्रसाद गौतमले बताए । कोभिसिल्डको दोस्रो डोज उपलब्ध नहुन्जेल फरक कम्पनीको खोप नलगाउन उनले सुझाव दिए । 'कोभिसिल्डको पहिलो डोजले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पहिलो खोपले मात्रै पनि सुरक्षित राख्छ,' डा. गौतमले भने, पहिलो डोले पनि लामो समयसम्म काम गर्ने खोप निर्माता कम्पनीले जनाइसकेको छ ।'
उनकाअनुसार कोभिसिल्डको पहिलो डोज लगाइसकेको ८ देखि १२ हप्तासम्म दोस्रो डोज लगाउनुपर्ने हुन्छ । दोस्रो खोप त्काल उपलब्ध नभएकोले कोभ्याक्सबाट आएपछि मात्रै लगाउन सकिने उनले बताए । 'कोभ्याक्ससँग निरन्तर सम्पर्कमा छौ,' गौतमले भने,' कुन मितिमा नेपालमा कोभ्याक्सको खोप आउँछ त्यस विषयमा जानकारी आएको छैन ।' कोभ्याक्समा उपलब्ध भएपछि खोप लिने मुलुकलाई कुन लिने भनेर सोध्ने भएकाले नेपालले आवश्यक खोप मगाउन सक्ने गौतमले बताए ।
कोभिडविरुद्ध दुवै डोज खोप लगाएकाहरूमा कति समयसम्म प्रभावकारिता रहन्छ भन्ने इकागजको प्रश्नमा डा. गौतमले भने,' खोप आएको एक वर्ष पनि भएको छैन । खोपको थप अध्ययन हुनै बाँकी छ। खोप निर्माता कम्पनीले दुवै डोजको बारेमा अध्ययन गरेपछि मात्र यस विषयमा यकिन भन्न सकिन्छ ।'
'कूटनीतिक पहल पुगेन'
सरकारले समयमा खोप आयात गर्न नसक्दा ज्येष्ठ नागरिक समस्यमा परेको संक्रामक रोग विशेषज्ञ अनुसन्धान विज्ञ डा. जीवनबहादुर शेरचनले बताए । कोभिसिल्डको दोस्रो डोज आयातका लागि अधिकतम कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ ।
'नेपालले जसरी चीनसँग खोप खरिदका लागि पहल गरेको छ त्यसरी नै अन्य खोप निर्मता मुलुकबाट ल्याउन पहल गरिनुपर्थ्यो,' डा. शेरचनले भने,' सरकारले खोप आयातका लागि बेलायत तथा जर्मन र रसियासँग पहल गर्नुर्थ्यो तर त्यस्तो भएको छैन ।'
'खोपका लागि पहल भइरहेको छ'
कोभिडविरुद्धको 'कोभिसिल्ड' खोपको जस्तै काम गर्ने अष्ट्राजेनिकाको खोपले काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए । खोप आयात गर्न विभिन्न माध्यमबाट पहल भइरहेको उनको भनाइ छ । कोभिसिल्डको पहिलो डोज लगाएर बसेकालाई कोभ्याक्सबाट आएको खोप लगाउन सकिने पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया