कोपा अमेरिका
ब्राजिलसँगै अर्जेन्टिना पनि फाइनल पुग्ला ?
काठमाडौँ : पेरुलाई हराउँदै ब्राजिल फाइनल पुगेपछि कोपा अमेरिका फुटबलमा अब अर्जेन्टिनाको प्रतिक्षा भइरहेको छ । दोसो सेमिफाइनल खेल बुधबार बिहान मात्रै हुनेछ । जहाँ ब्राजिलसँगको उपाधि भिडन्त पक्का गर्न अर्जेन्टिनाले कोलम्बियालाई हराउनै पर्नेछ ।
पेरुलाई सहजै हराउँदा ब्राजिलका लागि नेयमारले उपलब्ध गराएको पासमा पेक्वेटाले गोल गरेका थिए । बुधबारको खेलमा मेस्सीले त्यसैगरी अर्जेन्टिनाको जितमा गोल गर्छन वा पास मात्रै दिन्छन् ? भन्ने खुल्दुली बढेको छ ।
कोपामा अहिलेसम्म मेस्सीले चार गोल गरिसकेका छन् । उनले चार वटा पास पनि उपलब्ध गराएका छन् । क्वार्टरफाइनलमा उनले गरेको फ्रिकिक गोलले धेरैको मन जितेको थियो । सोही फ्रिकिकबाट उनले रोनाल्डोलाई पछि पार्दै सर्वाधिक ५८ फ्रिकिक गोल गर्ने किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।
मेस्सीको उत्कृष्ट लयकै कारण कोपा अमेरिकाको फाइनलमा धेरैले ब्राजिल र अर्जेन्टिना खेल्ने अनुमान लगाइरहेका छन् । तर कोलम्बिया पनि बलियो टोली भएकाले अर्जेन्टिनालाई सहज छैन । दुई पटक फाइनल पुगेर पनि कोपा अमेरिका फुटबलको उपाधि जित्न नसकेका मेस्सीका लागि यो ऐतिहासिक अवसर हो ।
जहाँ उनी फेरि एकपटक गर वा मरको अवस्थामा हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया