प्रमुख समाचार

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

इकागज |
असार २७, २०७८ आइतबार १३:५१ बजे

काठमाडौँ : नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आइतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले निःशुल्क हेमोडाइलाइसिस सेवाको संयुक्त रुपमा शुभारम्भ गरे । 

काठमाण्डौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा आइतबारदेखि मिर्गौलाका बिरामीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको हो । सेवा शुभारम्भपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास स्वरुप अस्पतालसंग सहकार्य गरेको बताए । मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला-स्वस्थ काठमाडौं’ कार्यक्रम अन्तर्गत ३२ वटै वडाहरूमा प्रारम्भीक परीक्षणको सेवा सुरु भइसकेको बताए । 


महानगरले सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धी सहकार्यका लागि महानगरपालिका र अस्पतालबीच ५ बर्षका लागि २०७६ पुस २ गते नै सम्झौता भएको थियो ।

सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट हरेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान गर्न सकिने अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माले बताए । 

यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज-५ पुगिसकेकाहरुका लागि मात्रै हो । यो सेवा लिनका लागि विरामीले महानगरपालिकाको सिफारिस आवश्यक पर्छ । अहिले देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ ।

निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।
 


Author

थप समाचार
x