प्रमुख समाचार

राजनीतिक खिचातानी चलिरहेका बेला 'पर्यावरणको चिन्ता'

इकागज |
असार २७, २०७८ आइतबार १६:३४ बजे

सदनमा उठान हुने विषयहरू मध्ये 'केही फरक, केही नयाँ' ढंगले प्रस्तुत भएका गम्भीर विषयलाई इकागजले 'आजको प्रस्तुति'को रुपमा प्रकाशित गर्छ । आजको प्रस्तुतिमा परशु राम मेघी गुरुङ । 

काठमाडौँ : राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद परशु राम मेघी गुरुङले जलवायु परिवर्तनबारेमा सोच्न पर्ने बताए । विषयहरूको भीडमा आइतबार मेघीले मनसुनी विपत्तिको समस्यालाई केलाउँदै फरक प्रस्तुति दिएका हुन् ।


बैठकमा नेपालको हिमालय क्षेत्रमा हिउँ घट्ने विषयमा विश्व वातावरणसँग सम्बन्धित संस्था इसिमोड लगायत संस्थाहरूले तयार पारेको प्रतिवेदन बारेमा सुनाए । 

‘संस्थाहरूले नेपालको हिमालयमा हिउँ १० प्रतिशत मात्रै रहने  र ९० प्रतिशत हिउँ नरहने हामीलाई सनसनीपूर्ण हुने रिपोर्ट अगाडि सारेको छ,’ उनले भने, ‘हिमालयमा हिउँ भएन भने नेपालको अवस्था के हुन्छ ? त्यसैले मानवीय क्रियाकलापबाट कसरी जोगाउन सकिन्छ भनेर संसारमा आवाज उठाउन जरुरी रहेको छ । हामी आफैँले पनि केही गर्नुपर्ने भएको छ ।’

साढे ११ हजार वर्षअघि भौगोलिक वातावरणको सुरुवात भएको र त्यसयता वातावरण परिवर्तन भइरहेको उल्लेख गर्दै कार्बनको कन्सन्ट्रेशन बढिरहेको, ग्रिनहाउस (हरित गृह)को प्रभाव र यससँगै गर्मी पनि बढिरहेको सुनाए । स्वीडेनमा भएको पृथ्वी सम्मेलन, जापानमा भएको क्योटो सम्मेलनको, पेरिस कन्फरेन्सले यो प्रभावबाट संसारलाई जोगाउन सकिन्छ भनेर संसारका विज्ञ लगायत संयुक्त राष्ट्र संघले पनि यसमा काम गरिरहेको समेत उनले बताए । 

नेपाल जस्तो मुलुकमा यसको प्रभाव पोलार क्षेत्र र हिमालय क्षेत्रमा असाध्यै प्रभाव पर्ने पछिल्ला रिपोर्टहरूले देखाइरहेको समेत उनले सुनाए । उनले भने, ‘विश्व विज्ञहरूले १८८० देखि १९८१ सम्म रिपोर्ट हेर्दा एक शतकको प्रत्येक दश वर्षमा ०.१३ डिग्री फरेन्हाइट अथवा ०.०८ सेन्ट्रिगेटको दरमा  प्रत्येक दश वर्षमा तापक्रम बढ्ने अनुमान भएपनि पछिल्लो १९८१ पछाडिका दशकमा संसारले अनुमान गरेको १.५ सेन्टिग्रेट भन्दा २ डिग्री बढेर जानेछ । यस्तो भइसकेपछि हाम्रो हिमालय क्षेत्रमा रहेको हिऊँ सखाप हुनेछ । यो हिसाबले आंकलन आइरहेको छ । यो क्षेत्रमा सोच्नै पर्ने विषय हो ।’  

यसले डरलाग्दो खडेरी, आँधी–हुरी, खण्डवृष्टि हुने, अतिवृष्टि हुने, तातो हावा बग्ने, समुन्द्रको सतह बढ्ने, हिउँ पग्लिने, समुन्द्र तातिने, एसिड बर्षा हुने, प्रकृतिमा नदेखिएका जीवाणुहरुको प्रकोप बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।

त्यस्तै, सन् १९५५ मा नेपालको जनसंख्या ९३ लाख रहेको र २०२१ सम्म आइपुग्दा यो संख्या बढेर २ करोड ९१ लाख भन्दा बढी पुग्ने वर्ल्ड मिटरले जनाएको प्रसंग उनले कोट्याए । साथै १९५५ मा नेपालका केबल ३ प्रतिशत मात्रै मानिसहरू सहरमा बस्ने र अब २०५० को बिचमा पुग्दा करिब ४० देखि ५० प्रतिशत मानिसको बसोबास सहरी क्षेत्रमा बसोबास हुने उनले सुनाए । 

उनले भने, ‘जुन रुपले भौतिक संरचना निर्माण गरिरहेका छौँ, त्यसले वातावरण सन्तुलन बिग्रिएको छ । जसकारण खेती प्रणालीमा, स्वास्थ्य प्रणालीमा, पानीको स्रोतको व्यवस्थापनमा सोच्नुपर्ने भएको छ ।’ 

साथै उनले मानवीय क्रियाकलापबाट कसरी जोगाउन सकिन्छ भनेर संसारमा आवाज उठाउन जरुरी रहेको र नेपाली नागरिकले पनि यसमा आवाज उठाउनुपर्ने बताए ।


Author

थप समाचार
x