प्रमुख समाचार

टी-ट्वान्टी श्रृङ्खला

मार्श चम्किदा अष्ट्रेलियाको पहिलो जित

इकागज |
असार ३१, २०७८ बिहीबार ९:२३ बजे

काठमाडौँ : मिचेल मार्शले ब्याटिङ र बलिङमा शानदार प्रदर्शन गरेपछि वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी श्रृङ्खलामा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । आइसलेटमा अष्ट्रेलियाले चौथो टी-ट्वान्टी क्रिकेट ४ रनले जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो । उसका लागि मिचेल मार्शले सर्वाधिक ७५ रन र कप्तान आरोन फिन्चले ५३ रन बनाए । विष्फोट ब्याटिङ गरेका मार्शले ४ चौका र ६ छक्का प्रहार गरेका थिए । वेष्ट इन्डिजका हाइडेन वाल्सले ३ विकेट लिए ।


१९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो । अन्तिम १२ बलमा जितका लागि ३६ रन चाहिएकोमा वेष्ट इन्डिजले ३१ रन मात्रै बनाउन सक्यो । 

वेष्ट इन्डिजको ओपनिङ ध्वस्त पार्न अष्ट्रेलियाका मिचेल मार्शले ३ विकेट लिए । यस्तै एडम जाम्पाले २ विकेट लिए । यससँगै अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्धको टी-ट्वान्टी श्रृङ्खलामा पहिलो जित निकालेको हो । पाँच खेलको श्रृङ्खला यसअघि नै गुमाइसकेको अष्ट्रेलियाले सिरिज ३-१ को अवस्थामा ल्याएको छ । 


 


Author

थप समाचार
x