प्रमुख समाचार

सत्तारुढ कांग्रेस र माओवादीका संसदीय दल बैठक बस्दै

इकागज |
साउन ३, २०७८ आइतबार ७:४३ बजे

काठमाडौँ – अपरान्ह चार बजेबाट बोलाइएको संघीय संसद् बैठकबारे छलफल गर्न सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएका छन् । 

कांग्रेसले दिउँसो दुई बजे नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा र माओवादीले बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् । 


कांग्रेस सचेतक पुष्पा भुसालले संघीय संसद्को अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल गर्न दलको बैठक बोलाएको जानकारी दिइन् ।

माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि संसद् अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिए । माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ । 

पुनःस्थापित प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अपरान्ह चार बजे संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् । 

आठ जेठमा विघटित प्रतिनिधि सभालाई २८ असारमा सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनःस्थापित गरिदिएको थियो । 
 


Author

थप समाचार
x