प्रमुख समाचार

कोरोनाले विद्यालय बन्दको प्रभाव : परीक्षा नदिई उपल्लो कक्षा, अभिभावक चिन्तित

जितेन्द्र थापा |
साउन ८, २०७८ शुक्रबार ७:४ बजे

सुर्खेत- दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका-४ बस्ने ८ वर्षीया कल्पना विकको दैनिकी गोठालो गएर बितिरहेको छ । बिहानको खाना खाइसकेपछि किताब बोकेर पाठशाला जाने उमेरमा उनी हातमा लौरो बोकेर गोठालो निस्किन्छिन् । कोभिड-१९ माहामारी आएपछि परीक्षा हुँदाहुँदै फेरि बन्द भएको विद्यालय हालसम्म खुलेको छैन । न त कुनै वैकल्पिक माध्यमबाट उनले पढ्न नै पाएकी छन् । गत वर्ष पनि कोभिड नियन्त्रणका लागि लकडाउन हुँदा परीक्षा नै नदिई कक्षा २ बाट ३ मा गएकी कल्पनाले यसवर्ष पनि परीक्षा दिन पाइनन् ।

स्कूलमा मुस्किलले अक्षर चिन्न थालेकी उनलाई कोरोना महामारीमा लगाइएको लकडाउनले परीक्षा नदिइकनै ठूलो कक्षा त चढायो, तर, हालसम्म सामान्य पढाइलेखाइ गर्न पनि उनलाई मुस्किल छ ।


कक्षा चारमा पुगिसकेको कल्पनालार्ई सामान्य किताबका कखरा पनि आउँदैन । तर, घरायसी काम गर्न र गोठालो जान भने उनी सिपालु भइसकेकी छिन् । खाना खाइसकेपछि मध्याह्नतिर ५/७ वटा बाख्रा लिएर उनी गोठालो निस्किन्छिन् । विद्यालय बन्द भएपछि दैलेखबाट सुर्खेत झरेका १५ वर्षका रमेश न्यौपाने कक्षा ८ मा पढ्छन् । विद्यालय बन्द भएपछि सुर्खेतको वीरेन्द्रनगरका विभिन्न ठाउँहरु पुग्दै फलफुल बेच्दै पैसा कमाउदै आएका छन् । विद्यालय बन्द भएपछि घरमा खाली बसेर के गर्नु सोचेर सुर्खेत आएर फलफूल बेच्ने गरेको उनी बताउँछन् । 

‘घरमा बसे विद्यालय बन्द थिए, समय त्यसै खेर जाने सुर्खेत झरेर फलफुल बेचेर दिनमा एकहजारसम्म कमाई हुन्छ, स्कुल खुले पढाइ खर्च निकाल्छु’ उनले भने ।  यता ठाटीकाँध गाउँपालिका ३ का बाबुराम भण्डारी पनि विद्यालय नगएको महिनौ भइसक्यो । नौ वर्षका उनी तीन कक्षा पास भएर चार कक्षा मा गए । तर जति बिद्यालय बन्द भयो त्यति नै बाबुरामले किताब समाएका छैनन् । उमेरले नौ वर्ष पुगेका उनको दैनिकी माटोमा खेल्दा खेल्दै बित्छ । त कहिल्यै गोरु गोठाला त कहिले ढुङ्गामाटोका घर बनाउनु उनको दैनिकी बनेको छ ।

लामो समयसम्म विद्यालय बन्द भएर पढ्न नपाएपछि अचेल उनी घरमै बसिरहेकाछन् । निषेधाज्ञाले गर्दा विद्यालय बन्द भएपछि उनलाई आजभोलि बाटोमा बाबुरामजस्तै केटाकेटी मिलेर सडक बनाउने, ढुङ्गाका पुल बनाउने, गोरुगोठालासँगै बनमा चराचुरुङ्गीका गुँड हेर्ने गर्दै दिन बितेका छन् ।

‘स्कूल कहिले खुल्ने हो र पढ्न पाउने हो ? पोहोर पनि त्यत्रो समयसम्म स्कूल बन्द भयो । अहिले पनि निरन्तर बन्द छ । स्कूलमा गएर पढेका बेला त घरमा त्यसलाई दोहा¥याउन गाह्रो हुन्थ्यो । अहिले त स्कूल नै जान नपाएपछि घरमा पनि पढ्न सकेका छैनौँ,’ कक्षा चारमा मा अध्ययनरत उनले भने । 

ठाटीकाँध-१ भैरवस्थानमा रहेको श्री कृष्ण माध्यामिक विद्य्यालयमा अध्ययनरत प्रकाश बिक, ध्रुव बिकको पनि विद्यालय बन्द भएदेखि माटोमै खेलेर दिन बित्छ । दुई कक्षा पास भएर तीनमा पढ्ने प्रकाश र ध्रुवलाई अहिलेसम्म क ख को क पनि राम्रोसँग आउँदैन । 

सुर्खेतको पञ्चपुरी नगरपालिका ५ कि सरस्वती मगर कक्षा ७ मा परीक्षा दिएकी उनी हाल कक्षा ८ मा पुगिन् तर, उनलाई अझै पनि कक्षा ७ कै कति पाठहरू अप्ठ्यारा लाग्छन् ।  निषेधाज्ञाले पढाइ ठप्प हुँदा आफूले विगतमा पढेको कुराहरू पनि कमै मात्रै याद भएको उनी सुनाउँछिन् । ‘सरासर सधै स्कूल जाँदा त कति कुरा बिर्सिन्छ । झन् अहिले त स्कूल जान नपाएको कति भयो । पोहोर पनि लामो समय बन्द भएर बल्ल स्कूल खुलेको थियो, फेरि बन्द भयो । अरूको जस्तो हाम्रो त अनलाइन क्लास पनि हुँदैन । अनि कसरी पढ्नु ?’ उनले दुखेसो गरिन् ।

स्कूलमा अनलाइन माध्यमबाट पढाइ शुरू भएपनि मोबाइल र इन्टरनेटको अभावले पढ्न नसक्ने उनी बताउँछिन् । लामो समयदेखि श्री नमुना माध्यामिक विद्यालय चामुण्डाविन्द्रासैनी नरपालिका ३ मा अध्यापन गराउदै आएका रछाने लोहारले गाउँमा मोबाइल र इन्टरनेटमा सबैको पहुँचमा नहुँदा हालसम्म अनलाइन शिक्षा प्रणालीको शुरूवात गर्न नसकेको बताए ।

‘तर, मोबाइल र इन्टरनेटमा सबैको पहुँच नभए पनि गाउँरमा रेडियो निकै प्रभावकारी भएको सुनाउँछन् । मोबाइल, नेट र इन्टरनेट नभएता पनि रेडियोबाट भए पनि प्रभावकारी भएजस्तै लागेको छ,’ उनी भन्छन् । विद्याथीहरुलाई किताब वितरण गरिसके पनि कोरोनाको डरले विद्यालय संचालनमा आउन सकेको छैन । 

परीक्षा नदिइ पुगेको कक्षामा पढ्न नसक्ने अभिभावकलाई पीर
विद्यालयमा अध्ययनरत बालबालिकाहरू लगातार दुई वर्षसम्म परीक्षा नै नदिई माथिल्लो कक्षामा पुगेपछि अभिभावकहरू भने चिन्तित छन् । एकातिर आफ्ना छोराछोरी ठूलो कक्षामा पुगेको खुशी र अर्काेतिर परीक्षा नै नदिई पुगेको कक्षाको सिकाइबारे सोचेर चिन्ता लाग्ने गरेको अभिभावकहरु बताउँछन् । 

कृष्ण माविमा पढाउदै आएका आफ्नो छोरालाई पढाउँदै आएका हइते सुजीलाई उनको पढ्ने बानी बिग्रिएको देखेर चिन्ता लाग्छ । पटक-पटक लामो समयसम्म विद्यालय बन्द हुनु र अन्य माध्यमबाट पढाइ नहुनुले पछि फर्केर विद्यालय जान छोरालार्ई समस्या पर्ने हो कि भन्ने डर सुजीलाई छ । 

विद्यालय बन्दले कलिलै उमेरमा कालापहाड जानेको लर्को
ठाटीकाँध १ का सुरेन्द्र बि क कक्षा चारबाट पास भएर पाँचमा पुगेका थिए । विद्यालय बन्दपछि उनी कालापहाड दुइपटक पुगिसके । अहिले उनलाई पढाइ भनेको सामान्य हो नपढे पनि हुुन्छ भन्ने सोच आउने र आफु अब कहिलेही विद्यालय नजाने अडानमा छन् । ‘पहिले स्कुल जानुपर्छ भन्ने लाग्थ्यो अहिले त्यस्तो लाग्दैन । अब कि गाडी सिकेर गाडी चलाउछु नत्र स्काभेटर, डोजर सिकेर चलाउँछु,’ उनले भने ।  

सुरेन्द्र विद्यालय बन्दले स्कुल छोड्ने एक उदाहरण मात्र हुन् । ठाटीकाँध गाउँपालिकाभर र कर्णालीका अन्य विकट ठाउँ, गाउँमा विद्यालय बन्दले कैयौ बालवालिकाको जीवन अन्धकारतिर धकेलिरहेको छ । लामोसमयसम्म विद्यालय बन्द रहेपछि पढाइसँगसँगै कलिलै उमेरमा घर छाडेर कालापहाडमा मजदुरी गर्ने जानेको लर्को नै लाग्ने गरेको छ ।

विद्यालय बन्दले बालविवाह
लामो समयसम्म विद्यालय बन्द भएपछि बालविवाह गर्नेको संख्यामा पनि वृद्धि भएको छ । पटक-पटक विद्यालय बन्द हुनु, वैकल्पिक माध्यमबाट पढाइ नहुनु र बन्दले गर्दा आर्थिक समस्या हुनुजस्ता कारणले सानै उमेरमा विवाह हुने गरेको हो । धेरैसमयसम्म विद्यालय बन्द भयो, घरको आर्थिक अवस्था पनि कमजोर र बैकल्पिक माध्यामबाट पढाइ नहुनुजस्ता कारणले आफुले ८ कक्षामा पढ्दा पढ्दै १६ वर्षको उमेरमा बिहे गरेको उमा बिक (परिवर्वित नाम) बताउँछिन् । 

कक्षा ७ मा अध्यनरत जाजरकोटकी गोमा (परिवर्तित नाम) को पनि उमाको जस्तै १६ वर्षमै बिहे गर्नु परेको सुनाउँछिन् । उमा र गोमा प्रतिनिधि पात्रमात्र हुन् । उनीहरुजस्तै कर्णालीका विकट गाउँ बस्तीका कैयौँ बालवालिकाले स्कुल बन्द हुँदा सानैमा बिहे गरेर गएका छन् ।


Author

थप समाचार
x