प्रमुख समाचार

संसदीय समितिको बैठक

नेपालले ओली पक्षका सांसद रानालाई भने : प्रतिगमनको मतियार बाहिर जानुस्

इकागज |
साउन १०, २०७८ आइतबार १५:४ बजे

काठमाडौँ - संसद पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की परेको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की परेको हो । 

सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए । एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै बाहिर जान भनेका थिए ।


त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए । 

बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरिन् । त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले संसद् फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरे ।

उनले संसद्ला‍ई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखे । उनले सरकारले पूर्णता पाइनसकेको बताउँदै सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउनुपर्ने बताए । सभापति निरौलाले समितिको निर्णय कार्यान्वयन गर्न समिति क्रियाशिल रहेको बताइन्।  


Author

थप समाचार
x