रासायनिक मल सरकार आफैले खरिद गर्ने
बेवारिसे शव व्यवस्थापन गर्न निर्देशिका
काठमाडौँ – रासायनिक मल सरकार आफैले खरिद गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रासायनिक मल सरकार आफैले खरिद गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए । ‘रासायनिक मल सरकारले खरिद गर्ने निर्णय भएको छ । त्यसका लागि मल निर्यात गर्ने मुलुकहरूको नाम लिस्टिङ गर्ने र जहाँबाट ल्याउन सस्तो र सहज हुन्छ त्यहीबाट ल्याउने निर्णय भएको छ,’ खाणले भने ।
अब मुलुकहरूको लिस्टिङ गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी मन्त्रिपरिषद्ले दिएको छ । त्यस्तै बैठकले बेवारिसे शव व्यवस्थापन गर्ने निर्देशिका जारी गरेको छ । ‘बेवारिसे शव लामो समयसम्म त्यत्तिकै रहने अवस्था थियो । निर्देशिका बनाएर व्यवस्थापन गर्न सहज बनाउने निर्णय गरेको छ,’ खाणले भने । यो प्रस्ताव गृहमन्त्रालयले लगेको थियो ।
त्यस्तै बैठकले गण्डकी र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्ति गरेको छ । गण्डकीकी सीता पौडेललाई हटाएर पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको हो ।
यस्तै योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल र सदस्यमा दीलबहादुर लिम्बु र रामप्रसाद फुँयाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले नेपाली सेनाको कार्यवाहक प्रधानसेनापतिमा प्रभुराम शर्मालाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया