अफगानिस्तानको नियतिः अमेरिका बाहिरियो, रुस भित्रियो
काठमाडौँ- अफगानिस्तानबाट अमेरिकी फौज फर्कँदै गर्दा, महत्वपूर्ण प्रश्न उठेको छ । जुन हो, अफगानिस्तानको सुरक्षा जिम्मेवारीबाट अमेरिका पन्छिएपछि त्यहाँको स्थिति कसले सम्हाल्ने ? यो प्रश्नको उत्तर दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तयार छन् । किनभने पछिल्लो समय उनले आफ्नो सक्रियता बढाएका छन्, अफगानिस्तान मामिलामा ।
रुस मध्य एसियामा आफ्नो पकड मजबुद बनाउन चाहन्छ । यसका लागि उसलाई अफगानिस्तानमा प्रभाव बढाउनै पर्ने आवश्यकता छ । किनभने यो क्षेत्रलाई लिएर पुटिनको एउटा महत्वपूर्ण चासो छ, इस्लामिक उग्रवाद । उनी इस्लामिक उग्रवाद रुसी सीमासम्म नपुगोस भन्नेमा सचेत छन् । अनि त्यही सचेतनाले उनलाई अफगानिस्तानमाथि निगरानी बढाउन सुझाएको छ ।
ताजिकस्तान, रुसी गठबन्धनको सदस्य हो । जहाँ रुसी सेनाको बेस नै छ । गत साता त्यहाँ रहेको रुसी सेनाले आफ्नो ‘टयांक’ अफगानिस्तानसँग जोडिएको सीमामा तैनाथ गर्यो । जसको मुख्य उदेश्य, अफगानिस्तानमा सुरक्षा स्थिति थप बिग्रिहाले ताजिकस्तानलाई पर्नसक्ने असर टार्ने नै हो । किनभने रुसलाई डर छ, कुनैपनि बेला काबुलको हालको सरकार ढल्न सक्छ । र, तालिबानले सत्ता कब्जा गर्नसक्छ । हुन पनि अमेरिकी फौज घर फर्कदै गर्दा तालिबानले अफगानिस्तानका थप जिल्लामाथि कब्जा जमाउँदै गइरहेको छ । यस्तोमा तालिबान काबुल नै पुग्न के बेर ?
हुन त अमेरिकाले आफ्नो फौज फर्काउने निर्णय गर्दा रुस दुःखी हुनु पर्ने कारण छैन । किनभने अमेरिकाको अनुपस्थितिमा अफगानिस्तानमा आफ्नो भूमिका बढाउने दाउमा छ, रुस । फेरि रुस र अफगानिस्तानको नाता पनि पुरानै छ । अफगानी भूमिमा सोभियत संघ सन् १९८९ मा हारेको थियो । हुन त अमेरिकाले पनि अफगानिस्तानमा लडाई कहाँ जितेको हो र ।
जे होस्, अफगानिस्तानको लडाई पार लगाउन नसकिने निक्र्योलमा अमेरिका पुग्दै गर्दा, रुसले आफ्नो सक्रियता बढाउन थालिसकेको थियो । यसको प्रमाण हो, सन् २०१८ मा रुसले आयोजना गरेका सम्मेलन । त्यहाँ उपस्थित भएका थिए तालिबानका प्रतिनिधी मण्डल र अफगानी नेताहरू । यसकारण, रुसी सक्रियता नौलो भने होइन ।
अब रुस के चाहन्छ त ? ‘अमेरिकाको बेइज्जत गर्न चाहन्छ,’ असफान्ड्यार मिर । उनी स्टान्फोर्ड विश्वविद्यालयसँग आवद्ध शोधकर्ता हुन् । ‘अफगानिस्तानमा अमेरिकाको समर्थन प्राप्त सरकार नहोस् भन्ने चाहन्छ, रुस । किनभने पुटिन अफगानिस्तान सहितको मध्य एसियालाई आफ्नो प्रभावक्षेत्र मान्छन्,’ मिर थप्छन् ।
बरु रुस तालिबानको नेतृत्वसँग सम्बन्ध बढाउने प्रयासमा लागेको छ । उसको ठम्माई छ, तालिबानसँगको सम्बन्धले अन्य इस्लामिक सशस्त्र संगठन आइएसएस र अलब काइदालाई तह लगाउन सकिन्छ । यसको छनक रुसी कूटनीतिज्ञले दिइसकेका छन् । ‘तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदैछ । वास्तवमा यो नराम्रो होइन । किनभने तालिबान शन्तिपूर्ण राजनीतिमा आए अरु जिहादी समूहको खतरालाई परास्त गर्न सकिन्छ । किनभने यस्ता समूहहरु मध्य एसिया, इरान वा पाकिस्तानमाथि हमला गर्न चाहन्छन्,’जमिर काबुलोभले भनेका छन् । काबुलोभ अफगानिस्तानका लागि पुटिनले चयन गरेका विशेष दूत हुन् ।
तर काबुलोभको अनुमानसँग रुसकै राजनीतिक शास्त्री तथा मध्य एसिया विज्ञ अर्काडी डुबनोभ सहमत छैनन् । बरु यस्तो रणनीति खतरापूर्ण रहेको भनाई छ, डुबनोभको । ‘रुस एउटा लडाकू समूहलाई च्यापेर अन्य लडाकू समूहलाई परास्त गर्ने रणनीतिमा लागेको छ । मेरो विचारमा यो खतरनाक रणनीति हो । जसले रुसलाई हानी पुर्याउन सक्छ । यस्तो लाग्छ रुस पुरानो घाउँ मेट्टाउन चाहन्छ,’ डुबनोभ भन्छन् ।
सोभियत संघले अफगानिस्तानमा नमज्जाले हार बेहोरेको थियो । मस्को अहिले पनि त्यो विगतबाट बाहिर निस्कन सकेको छैन । त्यसोभए के पुटिनको अफगानिस्तान रणनीति सन् ८० को दशकमा भएको युद्धसँग जोडिएको छ त ? अर्का रुसी विद्वान यस प्रश्न वा तर्कसँग सहमत छैनन् । ‘हो, रुस अफगानिस्तानमा आफ्नो उपस्थिति बढाउन चाहन्छ । तर उसको हालको रणनीतिको त्यस युद्धसँग कुनै सम्बन्ध छैन,’ नाम नबताउने शर्तमा ती विज्ञले फाइनान्सियल टाइम्सलाई बताउँछन् ।
जे होस्, पुटिन सोभियतकालिन प्रभावलाई पुर्नजागृत गर्ने धेयमा छन् । अमेरिकी फौज फिर्ता हुँदा पुटिनलाई आफ्नो लक्ष्यमा अघि बढ्न सजिलो पनि भएको छ । रुसी राष्ट्रिपति आफ्नो मुलुक युरेसियाकै रक्षक रहेको सन्देश दिन चाहन्छन् । ‘रुसको चासो मध्य एसियाली मुलुकहरूलाई कसरी सुरक्षित राख्ने भन्नेमा छ । किनभने ती मुलुकहरूमध्ये कोही रुसी गठबन्धका सदस्य छन् भने कोही नजिकका मित्र हुन् । त्यसकारण रुसको प्राथमिक ध्यान अफगानिस्तानको शन्ति प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा छैन,’ डुबलोभ भन्छन् । मध्य एसियाको सुरक्षा आफ्नो जिम्मेवारी भएको र यसका लागि अन्य शक्ति सक्षम नभएको सन्देश पनि रुसले दिन चाहेको डुबलोभको भनाई छ ।
युरेसियाका केही संगठनमा रुसको पकड बलियो छ । जस्तै, युरेसियन इकोनोमिक युनियनमा । यो समूहको सदस्य अर्मेनिया, बेलारुस, कजाकस्तान, किर्गिजस्तान लगायतका मुलुक हुन् । अनि सीएसटीओ नाम गरेको सैन्य गठबन्धनमा पनि रुसकै बोलबाला छ । ताजिकस्तान पनि सीएसटीओको सदस्य हो । यस्ता मञ्चमा रुसले बारम्बार मध्य एसिया तथा युरेसिया क्षेत्रको सुरक्षाबारेमा कुरा उठाउँदै आएको छ ।
तमाम रणनीतिका बाबजुद पनि मस्को खतरामुक्त रहेको भने होइन । ‘अफगानिस्तान थप अशान्तितर्फ धकेलिनु भनेको सीएसटीओका लागि कठिन परीक्षा हो । किनभने अफगानिस्तानमा गडबढ हुने बित्तिकै त्यसको असर समग्र मध्य एसियामा असर पर्छ । यस्तो अवस्थामा सुरक्षाको जिम्मा सीएसटीओमाथि आउने नै भयो । यस्तोमा उसले आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ,’ मस्कोस्थित कार्नेज सेन्टरका प्रमुख डिमित्री टे«निन भन्छन्, ‘भुल्न नहुने तथ्य के हो भने, रुस र अन्य मध्य एसियाली मुलुकसँग पर्याप्त स्रोत अनि सामथ्र्य छैन जसका भरमा अफगानिस्तानमा शान्ति व्यवस्था नाजुक भएको खण्डमा उनीहरूले हस्तक्षेप गरुन् ।’
मध्य एसिया र अफगानिस्तान बुझेका प्राय विज्ञहरूको बुझाई के छ भने, अमेरिकी फौजको अनुपस्थितिमा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाउनेछ । कमसेकम आशिंक रुपमै भएपनि । ‘तालिबानले अफगानिस्तानमथि कब्जा जमाउने छ । यसमा म ढुक्क छु । तर उनीहरूले त्यस मुलुक चलाउन सक्नेछैनन् । किनभने उनीहरू अझैँ १३ औँ शताब्दीमै छन्, सोचाईको हिसाबले । यस्तोमा अफगानस्तिानको अवस्था साँच्चै नै विरक्तलाग्दो हुनेछ,’ नाम नबताउने शर्तमा एक रुसी कूटनीतिज्ञले फाइनान्सियल टाइम्सलाई भनेका छन् ।
पछिल्लो पटक तालिबानले सन् सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा सत्ताको बागडोर सम्हालेको थियो । त्यसबखत इस्लामिक कानून लागू गरिएको थियो । अनि मानवअधिकारको प्रत्याभूति पनि थिएन । बरु अफगानिस्तान विभिन्न लडाकू समूहहरूका लागि आधार शिविर बनेको थियो । अनि ओसामा बिन लादेन जस्ता व्यक्तिले शरण पाएका थिए ।
यसपटक अफगानिस्तानमा भिन्न तरिकाले राज्य सञ्चालन गर्न रुसले तालिबानलाई सुझाव दिनेछ । डुबलोभ यही अनुमान गर्छन् । तर तालिबानले रुसको सुझाव स्विकार गर्छ वा गर्दैन, प्रष्ट छैन । ‘तालिबानले सुझाव ग्रहण गर्न जानेको छैन । बरु तालिबानी नेतृत्वमा रहेकालाई आर्थिक सहयोग चाहिएको छ । तर रुस तालिबानलाई पैसा दिन तयार छैन,’ डुबलोभ भन्छन् ।
अफगानिस्तान मामिलामा रुसले पाकिस्तानसँग सहकार्य गर्न चाहेको छ । र, त्यसका लागि बाटो पनि बनाइरहेको छ । ‘त्यसैपनि पाकिस्तानसँगको सम्बन्ध रुसका लागि महत्वपूर्ण छ । तालिबानसँग नजिक रहेको पास्तिानको चीनसँगको सम्बन्ध पनि अत्यन्तै समुधुर छ । यस्तोमा रुसको ध्यान पाकिस्तानमाथि हुनु स्वभाविक हो,’ टे«निन भन्छन् । तर फेरि रुस पाकिस्तानसँग बढी नजिक भएर आफ्नो नजिकको मित्र भारतलाई चिढ्याउन पनि चाहँदैन ।
अब महत्वपूर्ण प्रश्नको जवाफ खोजौँ । फौज फर्काउँदैमा अमेरिकाको प्रभाव अफगानिस्तानमा कमजोर भइहाल्ने हो ? नयाँ दिल्लीस्थित थिंकट्यांक अब्र्जभर रिसर्च फाउन्डेसनका प्रमख तथा दक्षिण एसिया मामिलाका विज्ञ हर्ष पन्त अमेरिका अफगानिस्तानमा कमजोर भइनहाल्ने धारणा राख्छन् । ‘हो, अफगानिस्तानमा अमेरिकाको नयाँ कदम के हुनेछ भनेर अन्य शक्ति राष्ट्र पर्खिरहेका छन् । तर अमेरिकासँग कयौँ विकल्प छन्, जसको उपयोग गरे उ त्यहाँ शक्तिशाली रहिरनेछ,’ पन्त भन्छन् । (फाइनान्सियल टाइम्सको सहयोगमा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया