प्रमुख समाचार

भारत सरकारकै कारण उत्पादक कम्पनीले खोप दिन सकेन

भारत सरकारले अनुमति नदिए सिरमले छिट्टै रकम फिर्ता गर्ने : नेपाली दूतावास

अतिन आचार्य |
साउन २२, २०७८ शुक्रबार २०:७ बजे

काठमाडौँ-  नेपाललाई कोभि‍सिल्ड खोप उपलब्ध गराउने भन्दै अग्रिम रकम लिएको 'सिरम इन्स्च्युट' ले अब पनि खोप उपलब्ध नगराए रकम फिर्ता लिने जानकारी भारतस्थित नेपाली दूतावासले दिएको छ । नेपालले खरिद गरेको खोप भारत सरकारले निर्यात गर्न अनुमति नदिएको कारण पहिलो डोज कोभिसिल्ड लगाएकाहरू अझै खोपको पर्खाइमा छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले माघ महिनामा भारतसँग खोप खरिद गर्न सम्झौता गरेको थियो । २० लाख डोज खोप प्रति खोप ४ डलरमा किन्‍ने गरी सम्झौता भएको थियो । खरिद सम्झौता भएको सात महिना भइसक्दा पनि कम्पनीले दोस्रो लट खोप पठाउन सकेको छैन । 'कोभिसिल्ड' खोप खरिदका लागि सरकारले ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी गरेको थियो । 


कम्पनीले नेपाल सरकारसँग खोप आपूर्ति गर्न लिएको रकमसमेत फिर्ता गर्न तयार रहेको दिल्ली स्थित नेपाली दूतावासका उपप्रमुख रामप्रसाद सुवेदीले इकागजलाई बताए । भारतले खोप निर्यातमा अनुमति नदिएमा नेपालसँग खरिद गर्न लिएको रकम फिर्ता गर्न सक्ने उनको भनाई छ । 'खरिद गरेको खोप नेपाल पठाउन निरन्तर कम्पनीसँग सम्पर्कमा छौँ,' उनले भने ।

कम्पनीले खोप खरिद गर्न लिएको रकम फिर्ता नगरोस र खोप नै उपलब्ध गराओस भन्‍ने पक्षमा दूतावास रहेको पनि उनले सुनाए । भारतले अनुमति दिएमा कम्पनीले जुनसुकै समय पनि नेपाललाई खोप पठाउन सक्ने सुवेदीले जानकारी दिए । मुख्य कुरा भारतले निर्यातमा अनुमति दिनुपर्ने उनको भनाइ छ । कोभिडको दोस्रो लहर आएदेखि भारतले खोप निर्यातमा रोक लगाएको छ ।

'अगष्ट महिनासम्म आफ्ना नागरिकलाई पहिलो डोज लगाइ सकेपछि केही समय रोकेर नेपालमा खोप पठाउन भारतले अनुमति दिन सक्छ,' उनले भने । भारत सरकाले अन्य मुलुकलाई खोप निर्यातमा रोक लगाएको सुवेदीले जानकारी दिए । भारतले उत्पादन गरेको खोप अन्य मुलुकले पाउन भारतको नीतिमा नै भरपर्ने सुवेदीको भनाइ छ ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x