प्रमुख समाचार

बालिकाको सडेको लास फेला, बलात्कारपछि हत्याको आशंका

इकागज |
साउन २६, २०७८ मंगलबार ९:३९ बजे

विराटनगर- उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित मोहनपुर जंगलमा १६ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान अघि बढाएको छ । साउन १९ गते केही स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थलमा पुग्दा सड्न थालिसकेको अवस्थामा शव भेटिएको र तत्कालै अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । गौतमका अनुसार अनुसन्धानका क्रममा शव मोहनपुरकै बालिकाको भएको खुलेको थियो । मृतक बालिकाका अभिभावकहरूले शव सनाखत गरेसकेको प्रवक्ता गौतमले बताए ।


‘केहि शंकास्पद कुरा पनि पत्ता लागेका कारण घटनाको गम्भीर अनुसन्धान भइरहेको छ’ प्रवक्ता गौतमले भने, ‘सुरुमा हामीलाई अभिभावकहरूले जानकारी दिएका थिएनन्, पछि जाहेरी दिइसकेका छन्, तीन जनालाई अनुसन्धानकै क्रममा नियन्त्रणमा लिएका छौँ ।’ उनले आफु अहिले पनि घटनास्थलमै रहेको जानकारी दिए ।

बलात्कारपछि हत्याको आशंका
त्रियुगा नगरपालिका-६ का वडाध्यक्ष निर्मल चौधरीले बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने बताए । शव भेटिएको भोलिपल्ट मात्रै अभिभावकले आफुलाई छोरी हराएको जानकारी गराएको चौधरीले बताए । ‘घाँसे दाउरेले शव देखेपछि मैले पनि जंगलसम्म गएर हेर्दा विभत्स देखिन्थ्यो, अनुहार र हात खुट्टा चैँ कुहिसकेको थियो’ वडाध्यक्ष चौधरीले भने, ‘बलात्कार गरेर हत्या गरेको आशंका छ ।’

बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाइघाटमा लगिए पनि त्यहाँ विस्तृत रिपोर्ट नआउने भएपछि पुनः धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएर पोष्टमार्टम गरिएको थियो । वडाध्यक्ष चौधरीका अनुसार पोष्टमार्टमपछि बालिकाको दाहसंस्कार गरिएको छ ।

उनले प्रहरीसँग घटनाको अनुसन्धानबारे जानकारी लिन खोजे पनि जानकारी नआएको बताए । बालिका स्थानीय देउरी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । पहिले पनि दिदीको घरमा गएर बस्‍ने गरेकोले अभिभावकहरूले यसपटक एक सातापछि मात्रै बालिकाको खोजी नीति थालेका थिए । 
 


Author

थप समाचार
x