प्रमुख समाचार

मेस्सीको पेरिस यात्राले दुःखी बन्‍यो जन्मघर रोसारियो

इकागज |
साउन २८, २०७८ बिहीबार ६:४५ बजे

काठमाडौँ- पेरिस अब लियोनल मेस्सीको नयाँ घर बनेको छ । फ्रान्सेली राजधानीमा मेस्सी कमसेकम दुई वर्ष रहनेछन् । मेस्सीको आगमनलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) का समर्थकले पर्व ठानिरहेका बेला अर्जेन्टिनाको रोसारियो भने दु:खी छ । रोसारियो त्यही सहर हो, जहाँ मेस्सी जन्मे । त्यहाँको नुएल्स ओल्ड ब्वाइज उनको पाठशाला बन्यो । हो, यही पाठशालामा मेस्सी फर्कने चर्चा थियो । बार्सिलोनासँग मेस्सीको सम्बन्ध विच्छेद हुन लागेको खबर आउँदै गर्दा, नुएल्सका समर्थक पुलकित भएका थिए । आशा गरेका थिए, मेस्सी रोसारियो फर्कनेछन् ।

हाल अर्जेन्टिनाको फुटबल समस्यामा छ । प्राय क्लब ऋणमा छन् । त्यहाँको लिगले उत्पादन गरेका प्रतिभावान खेलाडीहरु युरोप गइरहेका छन् । तर यस्तो परिस्थितिले पनि नुएल्सका समर्थकलाई सपना देख्‍न रोकेन । सपना पनि कति ठूलो, विश्वकै ‘सर्वोत्कृष्ट’ खेलाडीलाई अर्जेन्टिना फर्काउने ।


‘हामी उत्साहित हुनु स्वभाविक हो । किनभने रोसारियो मेस्सीको घर हो । नुएल्स उसको क्लब हो । हुनसक्छ ऊ फर्कन तयार छैन । तर हामीले सपना देख्‍न त पाउँछौँ नि । फेरि उसले बार्सिलोना छाड्दा सम्भावित गन्तब्यको सूचीमा नुएल्सको नाम पनि त थियो,’ नुएल्सका पूर्व अध्यक्ष जुवान जोसे कोकिनाले रोयटर्ससँग भनेका छन् ।

नुएल्सका समर्थकको चित्त दुखाउँदै मेस्सीले पीएसजीसँग सम्झौता गरिसकेका छन् । उनले बुधबार नै पीएसजीसँगको सबै औपचारिकता पूरा गरिसकेका छन् । उनले त्यहाँ जर्सी नम्बर ३० लगाउनेछन् । ६ पटक बालोन डोर जितेका मेस्सीले १८ वर्ष बार्सिलोनाको सिनियर टिमबाट खेलेपछि क्याट्लोनिया छाडेका हुन् । पीएसजी मेस्सीको आगमनले यति खुशी छ कि, प्रचारका लागि बनाइएको भिडियोमा मेस्सीलाई पेरिसका नयाँ हिरा भनिएको छ ।

हुन त मेस्सीको पीएसजी स्थान्तरणलाई लिएर रोसारियो अचम्मित भने भएको छैन । किनभने थोरै मान्छेले मात्रै सोचेका थिए, मेस्सी नुएल्स फर्कन्छन् भनेर । जुन क्लब अर्जेन्टिनाका कप्तानले १३ वर्षको उमेरमा छाडेका थिए । तर नुएल्सका समर्थकलाई सपना देख्‍ने कारण थियो । कारण अरु कोही नभएर । डिएगो म्याराडोना हुन् । जो केही समयअघि बितिसके । म्याराडोनाले पनि नुएल्सबाट खेलेका थिए, केही समय । 

युरोपबाट फर्केपछि म्याराडोना सन् १९९३-९४ सिजनका लागि नूएल्ससँग आबद्ध भए । उनले नूएल्सको जर्सीमा डेब्यू गर्दा, मैदानमा ६ वर्षे मेस्सी पनि उपस्थीत थिए । यस्तोमा मेस्सी पनि नुएल्स फर्कदा कलबको इज्जत निश्चय पनि बढ्थ्यो । हुन त म्याराडोना र मेस्सी मात्र नुएल्ससँग जोडिएका पात्र होइनन् । माउरिसियो पोचेटिनो र मार्सेलो बिएल्सा पनि कुनैबेला नुएल्सकै खेलाडी थिए । तर मेस्सीलाई अनुबन्ध गर्नु नुएल्सका लागि सबैभन्दा ठूलो सफलता हुनसक्थ्यो । ‘म्याराडोना बोका जुनियर्स समर्थक थिए । तर पनि उनी नुएल्स आए । मेस्सी त नुएल्सकै समर्थक हुन् । यस्तोमा उनी फर्कने आश गर्न हामीलाई करै लाग्छ,’ कोकिनाले भने ।  


Author

थप समाचार
x