प्रमुख समाचार

प्रिमियर लिग : नयाँ सिजनमा आर्सनलको पुरानै लय

इकागज |
साउन ३०, २०७८ शनिबार ९:३२ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु भएको छ । शुक्रबार राति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डको सामना गर्‍यो । र, पराजित भयो । यसैपटक प्रिमियर लिगमा बढुवा भएको टिमका लागि सर्जि कानोस र क्रिस्टियन नोगार्डले एक-एक गोल गरे । 

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनल हरेक विभागमा बलियो देखिएको थियो । तर गोल गर्न भने असफल रह्यो । आर्सनलको अग्रपंक्तिमा नियमित स्ट्राइकर पेयर एयमेरिक आबुमेयाङ र अर्का सिनियर फरवार्ड एलेक्जेन्डर लाकाजेट थिएनन् । उनीहरूको अनुपस्थितिमा मौका पाएका युवा खेलाडीहरूलाई ब्रेन्टफोर्डको रक्षापंक्तिले सहजै रोक्यो ।  


खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले स्वभाविक प्रतिक्रिया दिए । ‘म निराश छु । हामी जितको हकदार थिएनौँ । उनीहरूले थ्रो-इनबाट आएको बलमा गोल गरे । हामीले आफ्नो पेनाल्टी बक्सलाई रक्षा गर्न सकेनौँ,’ आर्टेटाको भनाइ थियो । 

उनले ब्रेन्टफोर्डले गरेको दोस्रो गोलमाथि प्रश्न उठाउन भने छाडेनन् । विजयी टिमले दोस्रो गोलका लागि मौका सिर्जना गर्दा आफ्ना गोलरक्षक बेन्ड लेनोमाथि फाउल भएको आर्टेटाको दाबी थियो । 

लिगको उद्घाटन खेलमा पराजित भएपछि आर्टेटा निराश हुनु स्वभाविक थियो । तर नतिजा अनपेक्षित भने थिएन । किनभने प्रि-सिजन दौरान पनि आर्सनल उति बलियो देखिएको थिएन । उसले सबै मैत्रीपूर्ण खेलमा पराजय भोगेको थियो । अनि लन्डन क्लबले नयाँ सिजनका लागि टिमको पुर्ननिर्माणमा सक्रिय ढंगले लागेको छैन । हो, आर्सनलले केही खेलाडी त अनुबन्ध गरेको छ, तर मुख्य समस्या हल भएको छैन । 

गत सिजन आर्सनलमा गोलको मौका सिर्जना गर्नसक्ने खेलाडीको कमी देखिएको थियो । करिब आधा सिजन खेल्दा रियल म्याड्रिडका प्लेमेकर मार्टिन ओडेगार्डले आर्सनललाई राहत त दिए । तर उनी रियल फर्किसकेका छन् । उनलाई इमिरेट्स रंगशाला फर्काउने प्रयास भइरहेको छ, भनिँदैछ । तर सरुवा बजार बन्द हुनै लाग्दा ओडोगार्ड आर्सनल फर्कने सम्भावना कम हुँदै गइरहेको छ । 

आर्सनलका आउँदा दुई खेल झनै कठिन छन् । उसले चेल्सी र म्यानचेस्टर सिटीको सामना गर्ने तालिका छ । अगस्ट महिनाको अन्त्यसम्म आर्सनलले तीन लिग खेलिसक्नेछ । तर तीन खेलबाट आर्सनलको खातामा अंक शून्य भए, अचम्म हुनेछैन । 

गत सिजन आठौँ स्थानमा सीमित भएको आर्सनलका समर्थक नयाँ सिजनलाई लिएर उत्साहित देखिएका थिए । तर सुरुवाती संकेत सकारात्मक छैन । यद्यपि आर्टेटा भने आशावादी छन् । ‘प्रशिक्षकका रुपमा मलाई आफ्नो टिमको बलियो र कमजोर पक्षबारे जानकार छु । हामीसँग भएको विकल्प भनेको खेलाडीहरुलाई उनीहरुको क्षमता अनुसारको खेल्न प्रेरित गर्ने र धेरै भन्दा धेरै खेल जित्ने हो,’ आर्टेटाले भने । 


Author

थप समाचार
x