प्रमुख समाचार

सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन कांग्रेस केन्द्रीय सदस्यहरूको माग

इकागज |
साउन ३०, २०७८ शनिबार १८:५९ बजे

काठमाडौँ - प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केनद्रीय सदस्यहरूले सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा धारणा राख्‍नेक्रममा सदस्यहरूले सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् । 

केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार जारी बैठकमा बोल्दै सदस्यहरूले कोभिडविरुद्धको खोप सबै विद्यार्थीलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सुचारु गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । खोपको अभावमा विद्यार्थीहरूले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न सदस्यहरूले सरकारको ध्यानाकर्षण गराएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 


बैठकमा नेताहरूले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरूलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए । पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरूलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरूले आग्रह गरेको प्रवक्ता शर्माले बताए । भूतपूर्व गोर्खा सैनिकहरूले बेलायतमा विभिन्न माग राखेर धर्ना दिइरहेकाले उनीहरूको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दबाब थिएका छन् । 

अफगानिस्तानमा रहेका नेपाली युवाहरूको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई सदस्यहरूले आग्रह गरेका छन् । प्रवक्ता शर्माले भने, ‘अफगानिस्तानमा पछिल्लो जे घटना भइरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरू कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरू कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? र आवश्यक पर्‍यो भने सरकारले उनीहरुलाई प्रक्रिया पुर्‍याएर उद्धार गर्न गम्भीर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’

बैठकमा नेताहरुले पार्टीको आसन्‍न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी छ ।


Author

थप समाचार
x