प्रमुख समाचार

प्रदेश २ का पूर्वराज्यमन्त्री कुशवाहा सरकारी गाडीमै सरर

सुभाष कर्ण |
भदौ ३, २०७८ बिहीबार १९:१० बजे

जनकपुरधाम - प्रदेश-२ का पूर्वआन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजसिंह कुशवाहाले पदमुक्त भएको महिना दिन बितिसक्दा पनि राज्यकोषको सेवा सुविधा लिइरहेका छन् । पदमा रहँदा प्रदेश सरकारका तर्फबाट लिएको सुविधा उनले अहिलेसम्म फिर्ता गरेका छैनन् । कुशवाहा राज्यमन्त्री रहेको बेला कार्यालय तथा निवासमा प्रयोग गर्दै आएका सवारी साधन, एसी र सीसीटीभीलगायतका सामाग्री पदबाट हटेको एक महिना बितिसक्दा पनि फिर्ता नगरेका हुन् ।

राज्यमन्त्री पदमा रहेको बेला सरकारले उपलब्ध गराएको झण्डावाल गाडीबाट झण्डा हटाए पनि सो गाडी उनले सरकारलाई फिर्ता गरेका छैनन् । सरकारी नम्बर प्लेटकै गाडीलाई उनल् आफ्नो निजी काममा प्रयोग गर्दै आएका छन् । पदबाट हटेपछि उनलाई नौतिकताको आधारमा सेवा, सुविधाजन्य सामग्री आफैं फिर्ता गर्नका लागि पर्खिए पनि उनले  फिर्ता नगरेपछि मौखिक तथा लिखित रूपमै ताकेता गरिएको मन्त्रालयका सचिव विरेन्द्र यादवले बताए । 


‘सरकारका तर्फबाट उपलब्ध गराइएका ती सामग्री फिर्ता गर्न हामीले उहाँलाई पटक-पटक लिखित र मौखिक आग्रह गरे पनि उहाँले ती सामग्री फिर्ता गर्नु भएको छैन,’ यादवले भने ।  मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाका अनुसार पुर्वराज्यमन्त्री कुशवाहाले कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएका झण्डा सहितको भेन्यु कम्पनीको प्र.२-०२-००१ झ ००६२ नम्बरको चार पांग्रे गाडी, एउटा मोटरसाइकल, सीम कार्डसहितको मोबाइल, निवासमा प्रयोगका लागि सीसीटीभी ५ थान, एसी, सोफा, कम्प्युटर र ल्यापटपसहित सामग्री फिर्ता गरेका छैनन् ।
 
‘उहाँ पदबाट हटेलगत्तै हामीले धेरै पटक मौखिक रूपमा ताकेता गरे पनि उहाँले कुनै वास्ता नगरेपछि १३ साउनमा ती सबै सामग्री फिर्ता गर्न सबै सामग्रीको विवरण टिपोट गरेर लिखित पत्राचार गरेका छौं, तर उहाँले अहिलेसम्म केही प्रतिक्रिया दिनु भएको छैन,’ प्रवक्ता कुशवाहाले भने, ‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफैं सोच्नुपर्ने कुरा हो । हामी कर्मचारीले आवश्यक प्रक्रिया र पत्राचार गर्नबाहेक थप केही गर्न सक्दैनौं । सामग्री फिर्ता नगरेको भन्ने जानकारी गराउँदै प्रक्रियागत रूपमा कारबाहीका लागि मुख्य सचिव तथा मुख्यमन्त्री कार्यालयलाई सुचना दिइसकेका छौं।’

यता पुर्वराज्य मन्त्री कुशवाहाले आफुले मन्त्री पदबाट हटेलगत्तै गाडीलगायत सबै सामग्रहरू फिर्ता गरिसकेको जिकिर गरेका छन् ।  ‘केही समानहरू फिर्ता गर्न बाँकी होला त्यो पनि केही दिनमा फिर्ता गर्ने तयारीमा छु,’ मन्त्रालयले पत्र पठाएको बारेमा प्रश्न गर्दा उनले भने, ‘सामग्री फिर्ता दिनेबारे मन्त्रालयलाई पत्र पठाउन मैले नै आग्रह गरेपछि मन्त्रालयले पत्र पठाएको हो । केही सामान फिर्ता दिन बाँकी होला त्यो पनि चाँडै फिर्ता पठाइदिन्छु ।’

सरकारी नम्बरप्लेटको झण्डावाल गाडीसमेत फिर्ता नगरी अहिलेसम्म प्रयोग गर्दै आइरहनु भएको छ नि ? भन्ने इकागजको प्रश्नमा उनले, ‘अहिले भीडभाडमा छु पछि कुरा गरौंला,’ भन्दै जवाफ दिन चाहेनन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्रलाई प्रतिनिधित्व गराउनका लागि जसपाले ६ साउनमा दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र यादव र सोही मन्त्रालयका राज्यमन्त्री कुशवाहालाई मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिन लगाएर पदमुक्त गराए पनि कुशवाहाले राज्यका तर्फबाट गाडीलगायतका सुविधा लिइरहेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x