'ढल राख्नुपर्छभन्दा सबैले ल ल मात्रै भने अहिले सडक भासियो'
‘डराइहाल्नु पर्दैन, ड्रेनेज राम्रो गराए केही सुरक्षित’
पोखरा- पोखरा-९ महेन्द्रपुलका कृष्ण बानियाँ आइतबार बेलुका खाना खाइरहेका बेला बाहिर हल्लाखल्ला भएको सुने । घर बाहिर निस्किएर हेर्दा उनको घरकैअघि ठूलो भ्वाङ परेको देखे । केहीबेर उनी अत्ताल्लिए । उनी अचम्मित भने भएनन् । किनकी उनलाई थाहा थियो, कुनै दिन ठूलो पानी परे यहाँ खाडल पर्छ भन्ने ।
आइतबार बेलुकाको झरीपछि पौने १० बजेतिर महेन्द्रपुल नजिकैको सडक भासियो । गरिमा विकास बैंक र उत्तम भाँडा पसलअघिको सडक भासिँदा अहिले यी भवन जोखिममा छन् । बानियाँ आफूले पहिलेबाट नै त्यहाँ ढल राख्नुपर्ने बताउँदै आएपनि स्थानीयले चासो नदिएको गुनासो गर्छन् । विन्दावासिनी मन्दिरबाट वर्षाको बेला महेन्द्रपुल हुँदै नयाँबजार, पृथ्वीचोकसम्म आइपुग्छ । तर पानीको निकासीका लागि ठूला ढल राख्नुपर्ने भएपनि अरुले चासो नदिएको बानियाँको आपत्ति छ । ‘यस्तो हुन्छ भन्ने पहिले नै थाहा थियो, विन्दावासिनीदेखिको पानी आउँछ । ढल राख्नुपर्छ है भन्दा सबैले ल, ल मात्र भनेर छाड्ने गरे,’ बानियाँ भन्छन् ।
सडक निर्माणकै बेला नहर राख्नुपर्छ भनेपनि सानो निकासा मात्र बनाएर छाड्दा अहिले त्यो निकासा पनि पुरिएको बानियाँ बताउँछन् । सडक मर्मत र खानेपानी पाइप विस्तारको कामले यहाँको सडकलाई पटक पटक भत्काउने बनाउने गरिएको छ । यसले सडकमा राखिएका ढलहरू पनि पुरिने सम्भावना छ । पोखरामा अहिले जाइकाले महानगरको समन्वयमा बृहत्तर खानेपानी आयोजनाको काम गरिरहेको छ ।
खानेपानी र सडक निर्माण कम्पनीले पनि यस्ता विषयमा ध्यान दिएर काम गर्नुपर्ने बानियाँको सुझाव छ । ‘उनीहरूलाई मात्र दोष दिन मिल्दैन, जनप्रतिनिधिहरूसँग कति पटक कुरा राखेँ तर टेरेनन्,’ बानियाँले भने । आफूहरूको घरभित्रै पानी पस्दा पनि स्थानीयले ख्याल राख्न नसकेको उनको गुनासो छ । ‘सडकको पानी कहिलेकाहीँ घरभित्रै पस्छ । आधा खुट्टासम्म आउँछ । कसैले भित्रैबाट यो बारे सोच्न सकेनन्,’ उनले भने ।
‘डराइहाल्नु पर्दैन, ड्रेनेज राम्रो गराए केही सुरक्षित’
किसान सिंह गुरुङ, इन्जिनियर
पोखरामा पहिला भासिएको ठाउँ अर्मला र अहिले भासिएको महेन्द्रपुलको अवस्था फरक हो । अर्मलामा कमेरो माटोलाई पानीले बगाएपछि त्यहाँ भासिएको थियो । महेन्द्रपुलमा कमेरो माटो बगाएर भासिएको होइन । महेन्द्रपुलमा सडक बनाउँदा तल गिट्टिलाई चुनले बाँधेको छ । लगातारको पानीले त्यो चुन पगालेर चुनले गिट्टि छाडेपछि भासिएको हो । माथि माटो कमजोर भएर तल चुनले छाडेपछि भासिएको हो ।
यो एकैसाथ हुने कुरा होइन, यसका लागि समय लाग्छ । चुन खोक्रो बनेर गिट्टि छाडेपछि मात्र माटो झर्छ । पोखरा देशकै पानी धेरै पर्ने सहर हो । भुगर्भको अवस्था हेर्दा यहाँको ड्रेनेज सेफ्टि ठीक छैन । व्यवस्थित किसिमले यहाँको पानीलाई अन्तिम गन्तव्यसम्म पुर्याउन नसके यस्ता घटना अझै घट्छन् । पानीलाई कसरी हुन्छ, सुरक्षित तरिकाले अन्तिम गन्तव्यसम्म, चाहे त्यो खोला होस्, ताल होस् पुर्याउनुपर्छ ।
पोखराको भुगर्भ कटौराको जस्तो छ । माथि हिमालहरू छन् । पहिला अन्नपूर्ण, माछापुच्छ्रे हिमालमुनिका हिमताल फुटेर पोखरा बनेको हो । सेती वारिसम्म यो धेरै बगर जमेर बस्यो । पोखराको फर्मेसन कमजोर छ । यहाँ मानिसहरूको बसोबास, विकास निर्माणका कामले पनि कमजोर जगलाई कमजोर बनाएका छन् । महेन्द्रपुलमा अहिले भासिएको ठाउँमा डराइहाल्नु चाहिँ पर्दैन । पानीको राम्रो निकासी गराएर त्यहाँको माटो पुर्ने हो भने केही सुरक्षित हुन सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया