विपक्षी दलद्वारा बागमती प्रदेश सभाको विशेष अधिवेशनको माग
हेटौडा – बागमती प्रदेशका विपक्षी सांसद्हरूले प्रदेश सभाको विशेष अधिवेशनको माग गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सांसदले प्रदेश प्रमुखसमक्ष सभाको विशेष अधिवेशनको माग गरेका हुन् । २ भदौमा मुख्यमन्त्री नियुक्त अष्टलक्ष्मी शाक्यले प्रदेश सभा अधिवेशन चालु गर्नुपर्नेमा अधिवेशन अन्त्य गरेपछि विपक्षी दलका सांसदहरूले विशेष अधिवेशनको माग गरेका हुन् ।
३५ दिनअघि बागमती सरकारले नीति तथा कार्यक्रम र बजेट पारित गरेपछि स्थगित रहेको प्रदेश सभा बैठक १ र २ भदौमा बसेको थियो । सोही बैठकमा सांसदहरूले आफ्नो धारणा राखेपछि प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । बागमती प्रदेशको मुख्यमन्त्रीमा सोही दिन शाक्य नियुक्त भएकी थिइन् ।
शाक्य नेतृत्वको सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै उनले संसद् छलेर सरकार टिकाउन संसद्को अधिवेशन अन्त्य गरेको विपक्षी दलहरूको आरोप छ । मुख्यमन्त्री शाक्यले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी नेपालको संविधान को धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेकी हुन् ।
‘मुख्यमन्त्री शाक्यले आफू नेतृत्वको सरकारलाई सांसद्को विश्वासको मत पुग्ने नदेखेपछि प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको प्रस्टै छ,’ नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र हालै नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेका माधव नेपालबीचविवादका कारण २ भदौमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले एमाले बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई दलको नेता बनाउन सिफरिस गरेका थिए ।
पौडेलकै सिफारिसमा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रूपमा शाक्यलाई दलको नेता र बागमती प्रदेशको मुख्यमन्त्री प्रस्ताव गरेपछि उनी मुख्यमन्त्री बनेकी हुन् । मुख्यमन्त्री शाक्यले सोही दिन दुईजना मन्त्री नियुक्तसमेत गरेकी थिइन् । नेपालको संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मतका लिनुपर्ने हुन्छ । तर तत्कालीन अवस्थामा एमाले एक हुँदा प्रदेश सभामा सरकार गठनका लागि एमालेलाई बहुमत पुग्ने भए पनि माधव नेपालले एमाले विभाजन गरेपछिको अवस्थामा बागमतीमा एमालेको एकल बहुमतको सरकार बन्न कठिन छ ।
यसैबीच मुख्यमन्त्री शाक्यले संसद् छलेर सरकारको आयु लम्बाउनकै लागि शुक्रबार मन्त्रीपरिषद् बैठक बसेर प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेको विपक्षी दलका सांसद्हरूको आरोप छ । १६ जेठ गतेदेखि आह्वान गरिएको प्रदेशसभाको आठौं अधिवेशन बैठक ३ महिना मात्र सञ्चालन भएको छ । उक्त ३ महिनामा प्रदेशसभाको २४ वटा बैठक सम्पन्न भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार एउटा प्रदेश सभा अधिवेशनको अवधि ६ महिनासम्म हुनेछ ।
तत्कालीन समयमा नेपाल पक्षमा रहेकी शाक्य हाल ओली पक्षमा लागेपछि मुख्यमन्त्री बनेकी हुन् । नेपाललाई छोडेर ओलीलाई सघाएपछि उनको पक्षमा रहेका सांसद्ले पनि शाक्यको साथ छोडेका हुन् । कुल ५६ जना सांसदका साथ एमालेबाट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्यलाई तत्कालीन नेपाल पक्षीय सांसद्हरूको साथ अब छैन ।
नेपालको पार्टी नेकपा एसमा खुलेका नेता राजेन्द्र पाण्डेले आफू निकटको १२ जना सांसदहरुले मुख्यमन्त्री शाक्यलाई साथ नदिने र उनको सरकार ढल्ने अडान राखेपछि शाक्य संकटमा परेकी हुन् । मुख्यमन्त्रीले प्रदेश सभा अधिवेशन हठात् अन्त्य गरेकाले आफूहरूले विशेष अधिवेशनको माग गर्नुपरेको नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाको भनाइ छ । मुख्यमन्त्री शाक्यले सरकारको आयु लम्ब्याउने उद्देश्यले संसद् छलेर अधिवेशन अन्त्य गरेको भन्दै नेपाली कांग्रेसले अन्य दलहरूसँग सहकार्य गरी संसद्को विशेष अधिवेशनको माग गर्ने तयारी भइरहेको उनले बताए । उनले अन्य प्रतिपक्षी दलहरूको सहमतिमा प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया