प्रमुख समाचार

अर्थमन्त्रीले कुटेको जस्तो गर्ने, बिमा समिति रोएजस्तो गर्ने

कोभिड-१९ बिमा दाबी भुक्तानीमा अर्थमन्त्रीको निर्देशन पालना भएनन्

इकागज |
मंसिर २५, २०७७ बिहीबार १५:३७ बजे

काठमाडौं : एक साताअघि अर्थ मन्त्रालयले तीन दिनभित्र बीमाको दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो । बिहीबार बिमा समितिले अर्थको निर्देशनविपरित विज्ञप्ती जारी गरेको छ । मंसिर महिनामा बिमा दाबी भुक्तानीको चाप परेको भन्दै नियमित भुक्तानीमा कठिनाइ भएको बताएको छ । कोरोना महामारीका कारण सबैभन्दा बढी गत असोज र कार्तिक महिनामा संक्रमण भएकाले दाबी भुक्तानीको चाप परेको उसको भनाइ छ ।

'उक्त समयमा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारी एवं बीमा समितिमा कार्यरत कर्मचारीहरूमा समेत संक्रमण देखिएको छ । उक्त महिनामा दाबी भुक्तानी प्रकृया अवरूध्द हनु पुगेको व्यहोरा सम्पूर्णमा अनुरोध गर्दछौ । उक्त अवधिको दाबी भुक्तानीका लागि यो महिनामा सबैभन्दा बढी चाप पर्न गएको छ ।  यो चाप कम भएपछि नियमित तवरले भुक्तानी प्रकृया संचालन भएकोले केही समयसम्म धैर्य गर्न अनुरोध समेत गरेको छ ।' बिमा समितिले विज्ञप्तिमार्फत् भनेको छ । 


भेरिफिकेसनमा समय लाग्यो
केही कोरोना परीक्षण रिपोर्ट स्पष्ट नहुँदा दाबी भुक्तानीमा ढिलाइ भइरहेको समितिले बताएको छ । भेरिफिकेसनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेशनका लागि पठाउनुपर्ने भएकोले केही समय लाग्‍न गएको समितिको भनाइ छ ।

कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमाको दायित्व बीमा समिति र सरकारको समेत हुने भएकोले यसको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने गरेको समितिले जानकारी दिएको छ । बीमाको सर्वमान्य सिध्दान्त अनुसार एउटै दाबी विभिन्‍न बीमा कम्पनीहरूबाट छुट्टा छुट्टै किसिमले भुक्तानी नगर्ने हुँदा कतिपय बीमा दाबीहरू दोहोरो पर्ने भएकोले पनि भेरिफिकेशन गर्न र दोहोरो भुक्तानी नियन्त्रण गर्न केही समय लागेको समितिले बताएको छ ।

शिखर इन्स्योरेन्समा समितिको निरीक्षण
बिमा समितिले बिहीबार शिखर इन्स्योरेन्समा निरीक्षण गरेको छ । बीमितहरुले दाबी भुक्तानीका लागि केही फाइलहरू कागजात पूरा गरेको नदेखिएको समितिले जनाएको छ  । समितिका अनुसार  बीमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातहरू सहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ ।  सम्बन्धित बीमा कम्पनीले सबै कागजात पुरा भए/नभएको यकिन गरी कागजात पुरा भएका फाइलहरू भुक्तानीका लागि बीमा पुल व्यवस्थापक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा पठाउनुपर्छ । केही फाइलहरू कागजात पुरा गरेको नदेखिएकोले बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशन दिएको छ ।

२४ गते बुधबार सम्मको बीमा दाबी भुक्तानी स्थिति
कागजात पुरा भएका दाबी संख्या : १७ हजार दुई सय ३५
भेरीफिकेशन लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या : ४ हजार १ सय ५२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भेरीफिकेशन भएर आएको संख्या : २ हजार ४ सय ९३
दाबी भुक्तानीको विवरण संख्या : ८ हजार १ सय ४५
सबै कागजात पुरा भई भुक्तानी गर्न बाँकी संख्या : ९ हजार ९०
कागजात नपुगी पुन: निर्जीवन बीमा कम्पनीहररुमा फिर्ता भएको दाबी संख्या : १ हजार १ सय ३६


Author

थप समाचार
x