प्रमुख समाचार

बाढीपहिरोले तीनको मृत्यु, दुई बेपत्ता

इकागज |
भदौ १४, २०७८ सोमबार १२:१० बजे

दार्चुला- विभिन्‍न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्‍न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका-१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिराले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।


यस्तै दुहुँ गाउँपालिका-५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । बाढीले घरजग्गासहित पुल, जलविद्युत्, पानीघट्ट र पशुचौपायामा समेत क्षति पुर्‍याएको छ । यो क्षेत्रमा पाँच  पसल, दुई लघु जलविद्युत् आयोजना, चार झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको स्थानीयले बताएका छन् ।

त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए ।

निजाङगाडकै खोलाले दार्चुला-तिङ्कर सडकको पुल र दुई झोलुङ्गे पुल बगाएको छ । यो क्षेत्रका आधार्दजन घर तथा पसल बगाएको छ । दार्चुला तिङ्कर सडकखण्डको निजाङगाड पुल बग्दा दुहुँ र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।

दुहुँ-३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम धीरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका- १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको होटल तथा पसल बगाएको छ । 

यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् । राती २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रमा खेतबारी नोक्सान गरेको छ । वारिपारि जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको छ । अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि सामान सार्न सुरक्षाकर्मी परिचालन गरिँदैछ । रासस
 


Author

थप समाचार
x