प्रमुख समाचार

कोभिडविरुद्धको खोप नलगाएका बालबालिकामा समेत देखियो एन्टिबडी

नेपालभर १८ हजार बालबालिका संक्रमित, ४५ जनाको मृत्यु

अतिन आचार्य |
भदौ १५, २०७८ मंगलबार २०:२८ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ - पहिलो लहरको कोभिड-१९ संक्रमण फैलदा सबैभन्दा बढी प्रभावित ज्येष्ठ नागरिक थिए । चैतको दोस्रो सातादेखि कोभिडको दोस्रो लहर फैलिएपछि बालबालिकादेखि सबै उमेर समूहका मानिस प्रभावित बने । अधिक नेपालीले ज्यान गुमाए । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब डेढ महिना लगाएर 'सेरोप्रिभ्यालेन्स' को सर्भेक्षण नतिजा सार्वजनिक गर्‍यो । कोभिडको पहिलो लहरभन्दा दोस्रोमा संक्रमणदर बढी र मृत्युदर भएकाले अन्तरर्राष्ट्रिय स्तरमा नेपालको कोभिडको अवस्था देखाउन मन्त्रालयले सेरोप्रिभ्यालेन्स गरेको हो ।


सर्भेक्षणले बालबालिकामा एन्टीबडीको विकास भएको देखाएको छ । हालसम्म नेपालमा कोभिडविरुद्धको खोप नलगाउने समूहमा बालबालिका पर्छन् । तर, उनीहरूमा तुलनात्मक रुपले एन्टिबडीको विकास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ ।

सरकारले काठमाडौँ उपत्यकामा ४० वर्षदेखि माथिकालाई खोप लगाएका छन् । उपत्यका बाहिर भने ४५ वर्षका माथिका मानिसलाई खोप लगाएका छन् । यो समाचार तयार पार्दासम्म मुलुकभर १८ हजार १ सय ३५ मा कोभिड पुष्टि भएको छ । बालक १० हजार ५ सय ४१ र बालिका ७ हजार ५ सय ९४ जना छन् । ४५ बालबालिकाको मृत्यु भइसकेको छ ।

संक्रमणमुक्त भएकाले एन्टिबडीको विकास

कोभिडविरुद्धको खोप नलगाए पनि एन्टीबडीको विकास हुनुमा कोभिड संक्रमित भएर संक्रमणमुक्त भइसककेकाले एन्टीबडीको विकास भएको हुन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

बालबालिकामा एन्टिबडीको विकास हुनुमा मुलुकभर कोभिड संक्रमण फैलिएकाले उनीहरूमा एन्टिबडी निर्माण भएको डा. पौडेलको भनाइ छ । 'बालबालिकामा सामान्य स्वास्थ्यको समस्या देखिएमा परीक्षण नगरी प्राथमिक उपचार गर्ने भएकाले कोभिड देखिए पनि निको हुन्छ,' उनले भने,' बालबालिकाको कोभिड परीक्षण गर्न पनि गाह्रो भएकाले सामान्य तरिकाको उपचार विधिबाट संक्रमणमुक्त हुने गरेका छन् ।'

अभिभावकमा कोभिड संक्रमति देखिँदा पनि बालबालिकामा कोभिड सरेको हुन सक्ने भएकाले लक्षण देखा नपरी संक्रमणमुक्त हुने गरेको पौडेलले जानकारी दिए । कोभिड संक्रमणमुक्त भए पनि एन्टीबडी रहने भएकाले पनि लामोसमयसम्म एन्टीबडीको विकास भएको उनको दाबी छ ।

पहिलो मात्रा खोप लगाएकामा ८० प्रतिशत र दुई मात्रा खोप लगाएकामा ९० प्रतिशत कोभिडविरुद्धको एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ । ६ महिनाभन्दा बढी उमेरका बालबालिकाहरूमा असार २१ देखि साउन ३० गतेसम्म संकलित नमुनामध्ये १३ हजार १ सय ६१ जनाको परीक्षण तथा विश्लेषण गर्दा ६८ दशमलव ६ प्रतिशत व्यक्तिमा कोभिडको एन्टिबडी देखिएको मन्त्रालयले जनाएको छ । सेरोप्रिभ्यालेन्स रगतद्वारा परीक्षण गरिन्छ । रगतबाट कोभिडविरुद्ध एन्टिबडीको विकास भएको नभएको थाहा पाउन सकिने पौडललले जानकारी दिए ।

अन्य उमेर समूहका मानिस भन्दा बालबालिकाको कोभिड परीक्षण कम मात्रा हुने गरेको प्रवक्ता पौडेलले बताए । कोभिड भए पनि बालबालिकाले परीक्षण गर्न नमानी उनीहरूले त्यतिकै पचाउने गर्दा कोभिड निको भइ एन्टीबडीको विकास भएको हो । खोपको दुवै मात्रा लगाएकामा एन्टिबडी बढेको पौडेलले बताए । कोभिडमुक्त भएकामा भने कम मात्रामा एन्टिबडी बनेको उनको दावी छ ।

पौडेलले अध्ययन अनुसार पाँचदेखि आठ महिनासम्म एन्टिबडी रहने बताए । 'ठेउला रोगविरुद्ध खोप लगाएमा जीवनभर एन्टिबडी हुन्छ,' उनले भने,' कोभिडविरुद्ध खोप लगाए पनि सम्पूर्ण नागरिकले सामाजिक दूरी तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ।' 

१५-१५ दिनमा सेरोप्रिभ्यालेन्स परीक्षण गर्ने तयारी

सेरोप्रिभ्यालेन्स परीक्षण लामो समयको ग्याप गरिनुमा मुलुकभित्रको कोभिड संक्रमणमका कारण केही समय लम्बिएको पौडेलले जानकारी दिए । परीक्षण गर्नलाई काठमाडौँ ल्याउनुपर्ने भएकाले पनि नतिजा ढिलो भएको उनले बताए । 'निषेधाज्ञा र कोभिडको त्रासका कारण पर्याप्त जनशक्ति नहुँदा पनि ढिलो नतिजा आएको हो,' उनले भने ।

पहिलो सेरोप्रिभ्यालेन्स कोभिसिल्ड लगाएको केही समयपछि फागुन महिनामा गरीएको थियो । प्राविधिक कुरा र जनशक्तिको व्यवस्थापन गरेपछि १५-१५ दिनमा परीक्षण गर्ने गरी तयारी भइरहेको पौडेलको भनाइ छ । सेराेप्रिभ्यालेन्स भन्‍नाले कोभिडको स‌ंक्रमण अधिक भएकाे स्थानमा खोप लगाई सकेपछि बनेको एन्टिबडी परीक्षण गर्ने विधीलाई बुझाउँछ । पछिल्लो समय सरकारले एन्टिबडी परीक्षण गर्न लागि परेको छ । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x