प्रमुख समाचार

च्याम्पियन्स लिगमा बार्यन नै बलियो

इकागज |
मंसिर २६, २०७७ शुक्रबार ७:२० बजे

फाइल तस्बिर

काठमाडौँ : यस सिजनको जारी च्याम्पियन्स लिगका समूह चरणका खेलहरू बुधबार सकिएका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा यस पटक पनि केही अनपेक्षित नतिजा देखियो । म्यानचेस्टर युनाइटेड समूह चरणको अन्तिम खेलमा जर्मन क्लब आरबी लाइपजिगसँग पराजित हुँदै युरोपा लिगमा घटुवा भयो । त्यस्तै, रियल म्याड्रिड युक्रेनको शाख्तर डोनेस्कसँग पराजय व्यहोर्नुपरेपछि स्तब्ध बनेको छ । यद्यपि निर्णायक खेलमा बोरुसिया मन्चुनग्लाडबागलाई हराउँदै अन्तिम १६ मा प्रवेश गर्‍यो ।

उता इंग्लिस टिमहरुले भने समूह चरण सजिलै पार गरे । चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले एक खेल अगावै अन्तिम १६ का लागि स्थान पक्का गरिसकेका थिए । समूह चरण सकिएसँगै, कुन टिम बलियो वा कमजोर भन्ने बहस सुरु भइसकेको छ । यसै परिप्रेक्ष्यमा यो आलेखमा च्याम्पियन्स लिगको समूह चरणका खेलहरु बारेको अवलोकन प्रस्तुत गरिएको छ ।


दुई ठूला टिम एकै समूहमा 
च्याम्पियन्स लिगमा दुई टिम एउटै समूहमा पर्दा फुटबल सर्मथकहरू उत्साहित हुनु स्वाभाविक हो । यस पटक पनि उनीहरू उत्साहित हुने कारण पनि थियो । किनभने विश्व विख्यात फुटबलर लियनल मेस्सीले सज्जित बार्सिलोना र अर्का लोकप्रिय खेलाडी क्रिस्टियानो रोनाल्डाका कारण बलियो बनेको युभेन्टस एकै समूहमा परे । तर फुटबल सर्मथकहरू यी दुई क्लबको भीडन्तमा खासै रोमाञ्चक हुनसकेनन् । बार्सिलेनाले टुरिनमा भएको खेलमा घरेलु टिमलाई हरायो भने युभेन्टसले क्याम्प नौमा बदला लियो ।

दुवै खेल च्याम्पियन्स लिगको समुह चरणमा हुने सामान्य खेलहरू जस्तै मात्र देखिए । त्यसकारण, एउटा समूहमा दुई ठूला टिम हुदाँ प्रतियोगिता थप रोमाञ्चक हुन्छ भन्ने धारणा यस पटक मिथ्या साबित भयो । बार्सिलोना र युभेन्टसलाई समूहका अन्य टिमहरूले पनि कडा टक्कर दिन सकेनन् । बार्सिलोना र युभेन्टसले समूह ‘जी’ मै रहेका डिनामो किभ र फेरेनभारोसलाई सजिलै पराजित गरे । अन्त्यमा, समूह ‘जी’बाट युभेन्टस र बार्सिलोना समूह विजेता र उप–विजेताको हैसियतले नकआउट चरणमा प्रवेश गरे । 

फेरी पनि बार्यन म्युनिख बलियो
बार्यन म्युनिखले गत सिजनको च्याम्पियन्स लिग उपाधि चुम्नुअघिका एउटा पनि खेल हारेन । सोही कीर्तिमानी खेललाई टिकाउँदै यस सिजन पनि जर्मन क्लब अपराजित छ । बार्यनले समूह ‘ए’ का चार खेलमा विजय पायो भने दुईमा बराबरीमा चित्त बुझायो ।

समूह ‘ए’ को अर्को बलियो टिम एथलेटिको म्याड्रिडलाई अलियान्ज एरिनामा ४–० ले पराजित गरेको बार्यन स्पेनिस विपक्षीसँग उसकै घरेलु मैदानमा भने बराबरीमा रोकिन पुगे  । म्याड्रिडमा एथलेटिकोसँग रोकिनुअघि बार्यनको जर्मन क्लबले च्याम्पियन्स लिगमा पछिल्ला १५ खेलमा विजय प्राप्त गरेको थियो । त्यसो त डिएगो सिमियोनेको टिमसँग बराबरी खेल्नुअगावै जर्मन च्याम्पियनले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको थियो ।

समूह चरणका खेलहरुमा बार्यन प्रत्येक विभागमा बलियो देखियो । बार्यनको टिमले ६ खेलमा १८ गोल गरे विपक्षीले उनीहरुमाथि पाँच गोल प्रहार गरे  । बार्यनका मुख्य हतियार रोर्बट लेवेन्डोस्कीले समुह चरणमा तीन गोल मात्र गर्न सके । यद्यपि जर्मन क्लब सजिलै सबैभन्दा धेरै गोल गर्ने टिम बन्यो । 

एर्लिङ हालान्ड निरन्तर प्रभावशाली 
फुटबलमा ‘वान सिजन वन्डर’ भन्‍ने वाक्य खुबै प्रख्यात छ । कुनै पनि नयाँ वा युवा खेलाडीले माथिल्लो स्तरमा प्रभावशाली प्रदर्शन गर्दा उसको त्यस्तो लय एक सिजनमा मात्र सीमित हुने हो कि भन्ने शंका गरिन्छ । बोरुसिया डर्टमन्डका एर्लिङ हालान्ड जर्मनी आउनसाथ चम्किए । तर उनको उर्जा एक सिजनमै सकिने हो कि भन्ने धारणा बहिर आए । हालान्ड किन त्यति कमजोर प्रमाणित हुन्थे र । नर्वेजियन युवा स्ट्राइकर हालान्डले डर्टमन्डका लागि जारी च्याम्पियन्स लिगमा चार खेलमा ६ गोल गरिसके । उनले यस्तै लय बुन्डेसलिगामा पनि देखाएका छन् । जहाँ उनले आठ खेलमा १० गोल गरिसकेका छन् । गत जनवरीमा मात्र डर्टमन्ड आएका २० वर्षिय हालान्डले क्लबका लागि ३२ खेलमा ३३ गोल गरिसकेका छन् ।

यस सिजनको च्याम्पियन्स लिगको समूह चरणमा हालान्ड पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेयमार, युभेन्टसका अल्भारो मोराटा र म्यानचेस्टर युनाइटेका मार्कस रासफोर्डसँगै सर्वोच्च गोलकर्ता रहेका छन् । च्याम्पियन्स लिगमा हालान्डको नाममा केही कीर्तिमानहरू पनि रहेका छन् । जस्तै, महादेशीय क्लब फुटबल प्रतियोगितामा उनले पहिलो १० गोल गर्न जम्मा सात खेल मात्र खेल्नु पर्‍यो । त्यस्तै, १५ गोलको आँकडामा पुग्न हालान्डले १२ खेल मात्र खेले । यसअघि यो किर्तिमान रुडभान निस्टेलरोय र रार्बटो सोल्डाडाको नाममा थियो । उनीहरूले १५ गोल गर्न १९ खेल खेल्नु परेको थियो । यी तथ्यांकहरुका आधारमा पनि हालान्ड ‘वान सिजन वन्डर’ बन्‍ने बाटोमा नभई, सनसनीपूर्ण खेलाडी बन्ने बाटोमा छन् भनेर बुझ्न ग्राहो छैन् । 

फितला स्पेनिस महारथीहरू
रियल म्याड्रिडले पछिल्ला पाँच वर्षमा चार पटक च्याम्पियन्स लिगको उपाधी उचालेको छ । तर गएका दुई सिजन स्पेनिस टोली अन्तिम १६ बाटै घर फर्कियो । यस सिजन पनि रियललाई नकआउटमा स्थान पक्का गर्न सजिलो भएन । जर्मनीको बोरुसिया डर्टमन्ड, युक्रेनी टिम शाख्तर डोनेस्क र ‘सिरी ए’ को इन्टर मिलानसँग समूह बी मा रहेको रियलले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउन अन्तिम खेलसम्मै पर्खिनुपर्‍यो ।

समूह बी मा, बुधबार रियललाई जितको आवश्यकता थियो । रियलले फ्रेन्च फरर्वाड करिम बेन्जेमाको दुई गोलको सहयोगले जर्मन विपक्षी ग्लाडबागलाई पराजित गर्दै अन्तिम १६ को यात्रा पक्का गर्‍यो । उता स्पेनिस ला लिगामा संघर्षरत रहेको बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा पनि सहज रहेको छैन । समूह ‘जी’मा युभेन्टस, डिनामो किभ र फेरेनभारोससँग रहेको बार्सिलोनाले एक खेलमात्र हार्‍यो । तर बुधबार रोनाल्डो सम्मिलत युभेन्टससँग घरेलु मैदानमै पराजित भएपछि बार्सिलोनाले सन् २००७ यता पहिलो पटक समूह उप–विजेतामा चित्त बुझाउनु पर्‍यो । 

युनाइटेड युरोपामा
युरोपका मूख्य लिगहरूबाट चार टिम च्याम्पियन्स लिगको समूह चरणका लागि छनौट हुन्छन् । त्यसै अनुरुप, यस पटक इंग्लिस प्रिमियर लिगबाट लिभरपुलसँगै, म्यानचेस्टर सिटी, चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको पहिलो चरणमा थिए । तर चार इंगिलस टोलीमध्ये तीन मात्रै अन्तिम १६ को यात्राका लागि छनौट भए । समूह एच मा तेस्रो स्थानमा सिमित हुदाँ, युनाइटेड युरोपा लिगमा झर्न बाध्य भयो । इंगल्यान्डका बाँकी टिम भने आ–आफ्नो समूहको विजेता हुँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे ।

समूह एचमा युनाइटेडको प्रतिद्वन्द्वी पिएसजी, आरबी लाइपजिग र इस्तानबुल बासाकेसिरसँग रहेका थियो । सुरुवाती चार खेलमा जित हासिल गरेको युनाइटेडका लागि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न अन्तिमका दुई खेलबाट एक अंकको मात्र आवश्यकता थियो । तर, पिएसजी र लाइपजिगसँग लगातार पराजय भोगेपछि युनाइटेड समूह चरणबाटै बाहिरियो । जसका कारण, युनाइटेड महादेशिय क्लब फुटबलको दोस्रो श्रेणीको युरोपा लिग फर्किन बाध्य भयो । गत सिजन पनि युनाइटेड युरोपामै थियो ।

पछिल्ला तीन सिजन इंगल्यान्डका चार टिम च्याम्पियन्स लिगको नकआउटमा प्रवेश गर्न सफल हुँदै आएका थिए । तर यस पटक युनाइटेडको पराजयसँगै, तीन इंग्लिस टोली मात्र अन्तिम १६ मा पुगे । 


Author

थप समाचार
x