प्रदेश-१ मा एमाले विभाजनको असर
'आचार्यले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेस गर्छाैँ'
विराटनगर - मुख्यमन्त्री भीम आचार्यको सरकारलाई सहजै गिराउने गरी १० जना सांसदको हस्ताक्षर सनाखत गराउन सफल भएका नेकपा (एकीकृत समाजवादी) का नेता एवं सोही पार्टीबाट मुख्यमन्त्रीका रुपमा अघि सारिएका प्रदेश सांसद राजेन्द्र राईले आफू मुख्यमन्त्री पदकै लागि दाबेदार नभएको बताएका छन् ।
उनले सरकारको नेतृत्वको दाबीको कुरा नभए पनि प्रतिगमनविरुद्ध लागेका गठबन्धनबीच आगामी चुनावसम्म पनि सहयात्रा गर्नुपर्ने अवस्था रहेको भन्दै सल्लाहबाटै अघि बढ्ने र सरकारका लागि मरिहत्ते नगर्ने पनि जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एमालेबाट नेकपा (एस) मा दल परिवर्तन गरेको सनाखत गरेपछि संचारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सांसद राईले एमाले छाड्नुपर्दा आफूलाई प्रिय नलागेको समेत बताए । उनले आफूहरुलाई केपी ओलीले कारबाही गरेर निकालेका कारण पलायन हुनुभन्दा अर्को पार्टी गठन गरेर अघि बढ्न उपयुक्त लागेको प्रष्टिकरण दिए । सांसद राईले वर्तमान मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परिसकेकोले राजिनामाको माग गरे । उनले राजीनामा नदिए केहि दिनभित्रै गठबन्धनको तर्फबाट अविश्वास प्रस्ताव पेश गरिने चेतावनी दिए ।
‘म मुख्यमन्त्रीको दाबेर त होइन, तर देशैभरी गठबन्धनको सरकार बनिरहेको अवस्थामा अरु घटकहरूले केन्द्रीय र प्रदेशको जिम्मेवार पाइसकेको हुनाले र माधव नेपाल समूहको कहिँ पनि सरकार नबनेकोले आश गरिएको हो,’ राईले भने, ‘अहिले नै कति सदस्य मन्त्रीमण्डल भन्न मैले मिल्दैन, अझै ५/७ जनासँग कुराकानी भइरहेको छ, जावफ दिनु भएको छैन ।’
उनले कुराकानी भइरहेका एमालेका थप सांसदमध्ये केही अझै आफ्नो पार्टीमा थपिने दाबी गरे । सनाखतपछि प्रदेश सभामा सदस्य संख्याको आधारले मुख्यमन्त्री आचार्य अल्पमतमा परिससकेकोले नैतिकताका आधारमा सरकार छाड्न माग गरे । ‘एमालेमै दुख मेहेनत गरेको हुनाले पार्टी विभाजन हामीलाई पनि प्रिय छैन, उनले भने, केपी ओलीभन्दा धेरै लामो समयदेखि पार्टी बनाउन लाग्ने नेताहरु हुनुहुन्छ, हामीलाई जबरजस्ती केपी ओलीले निकालिदिएको हुनाले अब हामी त्यतिकै पलायन भएर बस्न सकेनौं, हाम्रो बाध्यता हो ।’
राईले अब एमालेले सरकार गठन गर्नै नसक्ने जिकिर गरे । साथै प्रदेश १ मा सरकार गठनको विषयमा केन्द्रीय नेताहरूलाई अनावश्यक दुख दिने काम पनि नगर्ने र आफैंबीच सहमतिले मुख्यमन्त्री प्रस्ताव गर्ने जानकारी दिए ।
यता १० जना सांसद नेकपा (एकीकृत समाजवादी) तिर लागेसँगै एमाले नेतृत्वको वर्तमान सरकार गठनको एक हप्तामै अल्पमतमा परेको छ । तर मुख्यमन्त्री भीम आचार्यले भने आफू राजिनामा दिने मनस्थितिमा नभएको र बरु संसदीय अभ्यास ‘फेस’ गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
१० जना सांसद नेकपा (एस) मा गएपछि ५१ सदस्यीय नेकपा एमालेको संसदीय दल अब ४१ सदस्यीय कायम भएको छ । सभामुख दलको सदस्य नहुने भएका कारण एमाले संसदीय दलको वास्तविक संख्या भने ४० कायम हुनेछ ।
एमाले फुटेका कारण प्रदेश १ मा अब कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनता समाजवादी र लिम्बुवानसहितको विपक्षी गठबन्धनले सरकार बनाउन ५० सदस्यसहितको सहज बहुमत तयार भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया