प्रमुख समाचार

नेपाल र भारतको खेल आज : १९ खेलमध्ये नेपाल दुई, भारत १३ खेलमा विजयी

इकागज |
भदौ १७, २०७८ बिहीबार ७:४६ बजे

काठमाडौँ- साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोली पाहुना टोली भारतसँग आज पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुने खेलमा दुबै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सिमित दर्शकले मैत्रिपूर्ण खेल हेर्ने मौका पाउने भएका छन् ।

नेपाल र भारतबीच ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा खेल हुँदैछ । नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ । 


भारतसँग हुने मैत्रिपूर्ण खेलमा नेपाली टोली जितका लागि खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् । नेपालका लागि ७३औँ खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारिरिक हिसाबमा तयार टोली तयार भएको बताए ।

यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रिपूर्ण खेल सहज नहुने बताएका छन् । प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केहि परिवर्तन देखिए पनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।

भारतीय टोलीका प्रशिक्षक इगोरले पनि कोरोनाका कारण उत्पन्‍न कठिन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले आफ्नो टोलीलाई फाइदा पुग्‍ने बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए । दर्शकका लागि पाँच हजार एक सय टिकट बिक्री हुने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुपर्ने अध्यक्ष शेर्पाले बताए । त्यस्तै रंगशाला प्रवेशका लागि दर्शकले पीसीआर परीक्षणपछिको नेगेटिभ रिपोर्ट वा कोभिडविरुद्धको दुवै डोज खोप लगाएको खुल्ने कागजात देखाउनुपर्नेछ । 


Author

थप समाचार
x