भ्रममा नपर्नुहोला, जेठ २ लाई यान्त्रिक ढंगले बुझ्नु हुँदैन : ईश्वर पोखरेल
विराटनगर - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई ०७५ जेठ २ मा फर्काउने कुरालाई यान्त्रिक रुपमा नबुझ्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । जेठ २ मा फर्किने विषयमा एमालेका विभिन्न तहका पार्टी कमिटीभित्रै विवाद चर्किंदै गएको बेला महासचिव पोखरेलले त्यसलाई कार्यदलको सुझावका रुपमा मात्रै बुझ्न आग्रह गरेका हुन् ।
मोरङको विराटचोकमा आइतबार अखिल नेपाल किसान संघले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० बुँदे सहमति र जेठ २ को बिषयमा लामो व्याख्या गर्ने कोसिस गरेका थिए । पोखरेलले भने, ‘१० बुँदे सहमति भनेको त्यसबेला पार्टी अध्यक्ष केपी ओली र माधव नेपालको सहमतिमा बनेको १० सदस्यीय कार्यदलले दिएको सुझाव हो, कार्यदलको सुझाव भनेको निर्णय होइन, त्यसलाई पार्टी केन्द्रले कार्यन्वयन गर्ने हो, कार्यन्वयन गरिरहँदा यान्त्रिक हिसाबले कार्यन्वयन हुन सक्दैन, यो सिजर्नात्मक ढंगले कार्यन्वयन हुन्छ ।’
पोखरेलले यसो भनिरहँदा एमाले सुनसरीभित्र अहिले त्यहि जेठ २ मा फर्किने विषयमा कुरा नमिलेर विवाद उत्कर्षमा पुगेको छ । मोरङमा भने शनिबार बसेको सचिवालयको बैठकले जेठ २ मा फर्किने निर्णय गरी त्यतिबेलाका पार्टी अध्यक्ष विनोद ढकाललाई पार्टी अध्यक्षमा पुनस्र्थापना गरिएको छ ।
महासचिव पोखरेलले जेठ २ मा फर्किनु भनेको बिषय कानुनी रुपमा २०७५ फागुन २३ को सर्वोच्चको फैसलाले पुर्वपार्टीमा फर्काएर नयाँ एमाले बनाइदिएको तर्क गरे ।
‘कानुनी रुपमा एमाले भयौं, हामी जेठ २ मा पुग्यौं, म कम्रेडहरूलाई भन्न चाहन्छु, यसलाई यान्त्रिक ढंगले मात्रै बुझ्नु हुदैन, कोही पनि कम्रेडहरूले भ्रममा नपर्नु होला’ उनले भने, ‘हिजो त्यसबेला पार्टीको जिम्मेवारी लिनु भएका कोही कम्रेडहरू पार्टीको पक्षमा हुनुहुन्छ भने, क्रियाशिल हुनुहुन्छ भने ती सवै साथीहरूलाई पार्टीमा समेट्नुपर्छ, जिम्मेवारी दिनुपर्छ ।’
उनले जेठ २ पछि पार्टीमा तमाम घटनाहरू भएको बताए । जेठ २ पछि नै माओवादी केन्द्र लगायतका पार्टीबाट आफ्नो पद त्यागेर आफुमाथि कारवाही सहेर एमाले एकतामा आएको दाबी गर्दै जेठ २ मा फर्किने नाममा एकतावद्ध भएकाहरूको बारेमा पार्टी मौन बस्न नसक्ने जिकिर प्रस्तुत गरे । कानुनी र राजनीतिक हिसावले मात्रै जेठ २ को औचित्य रहेको महासचिव पोखरेलले बताए । उनले अहिलेको एमाले विकसित र नयाँ अवस्थाको भएकोले जेठ २ लाई त्यहि हिसाबले मात्रै बुझ्नुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया