प्रमुख समाचार

प्रिमियर लिगमा यो साता : म्यानचेस्टर डर्बीदेखि ‘रेलिगेसन ब्याटल’सम्म

इकागज |
मंसिर २७, २०७७ शनिबार ७:५४ बजे

म्यानचेस्टर युनाइटेडविरुध्द म्यानचेस्टर सिटी 
सोल्स्यारको दुविधा
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यार दबाबमा छन् । जब उनी दबाबमा हुन्छन्, तब उनी रक्षात्मक खेल रणनीति छनौट गर्छन् । गत सिजन पनि उनले धेरै खेलमा त्यसै गरे । यस सिजनका महत्वपूर्ण खेलहरूमा सोल्स्यारले रक्षात्मक टिम छनौट गरेका छन् ।

उदाहरणका लागि, च्याम्पियन्स लिगमा आरबी लाइपजिविरुद्धको खेल । जहाँ उनले तीन सेन्ट्रल डिफेन्डर र दुई ‘होल्डिङ मिडफिल्डर’ खेलाए । त्यो पनि, स्ट्राइकरबिना मैदान उत्रिएको टिमसँग आमनेसामने हुँदा । यस्तो संरचनामा खेलाउनु भनेको सोल्स्यारले आफ्नो रक्षापंक्तिलाई विश्वास नगर्नु हो । जबकि सोल्स्यार आफैँले खरिद गरेका तीन डिफेन्डर युनाइटेडको टिममा छन् ।


सोल्स्यारले सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध शनिबार कस्तो रणनीति बनाउलान् ? शायद रक्षात्मक नै । तर रक्षात्मक भएर खेल्दा बल अधिकांश समय, सिटीका आक्रमक खेलाडीहरूसँग रहनेछ । विपक्षीलाई बलमाथि नियन्त्रण राख्न दिनु भनेको आफू स्वतः दबाबमा पर्नु हो । तर के सोल्स्यारसँग आक्रमक फुटबल खेल्ने सुविधा छ ? त्यो पनि विश्व फुटबलमा उत्कृष्ट मानिएका प्रशिक्षक पेप ग्वार्डिओलाको बलियो सिटी टिमविरुद्ध । जे जस्तो उपाय अपनाए पनि सोल्स्यार दबाबमै रहनेछन् ।

एभरटनविरुध्द चेल्सी 
रोद्रिगेजसँगको अपेक्षा 
इटालियन कार्लो एनसिलोटीको नेतृत्वमा एभरटनले यो सिजन राम्रो सुरुवात गर्‍यो । सुरुवाती चार खेल जितेको एभरटनले त्यसपछिका साताहरूमा बलियो लय कायम राख्न सकेन । पछिल्ला पाँच खेलबाट एभरटनले चार अंक मात्र बटुल्न सकेको छ । एभरटनको बलियो सुरुवातमा यसै सिजन इंगल्यान्ड आएका हामेस रोद्रिगेजको पनि महत्वपूर्ण भूमिका थियो । तर उनी सिजन अघि बढदै जादाँ फिक्का देखिदै गएका छन् ।

एभरटनको पछिल्लो खेलमा रोद्रिगेजले केही हदसम्म राम्रो खेले । तर बर्नलीविरुद्ध उनले एभरटनलाई पुरै तीन अंक दिलाउन सकेनन् । त्यसकारण यो साता एभरटन चेल्सीसँग आमने-सामने हुँदा रोद्रिगेज एनसिलोटीको मुख्य हतियार हुन जरुरी छ । एभरटन सर्मथकहरूले धेरै वर्षपछि साँच्चैको विश्वस्तरीय खेलाडीलाई आफ्नो देखिरहेको परिप्रेक्ष्यमा रोद्रिगेजले अपेक्षाकृत खेल देखाउन जरुरी छ ।

आर्सनलविरुध्द बर्नली 
आर्सनललाई युवा खेलाडीहरूको साथ 
इंगल्यान्डका कुनै पनि ठूलो क्लबमा युवा खेलाडीले मौका पाउन मुस्किल छ । आर्सनल भने यो सिजन युवा खेलाडीलाई मौका दिने कार्यमा उदार देखिएको छ । तर आर्सनल प्रशिक्षकका लागि युवा खेलाडीलाई मौका दिनेबाहेकका उपायहरू पनि धेरै छैनन् । किनभने उनका धेरै सिनियर खेलाडीहरूले सोचे अनुसार खेल्न सकेका छैनन् । यसै साता युरोपा लिगमा आइरिस विपक्षि डुन्डल्कलाई ४-२ ले पराजित गरेको आर्सनलमा टिममा युवा खेलाडीहरूले मौका पाए । जोसेफ विल्लक, एडबार्ड नेकेटिया र फोलारिन बालोगन जस्ता युवा प्रतिभाहरूले गोल गर्दा आर्सनलको रक्षापंक्तिमा भने कुनै सुधार देखिएन । जारी लिगमा पनि आर्सनलले गोल गरेको भन्दा खाएको संख्या बढी छ ।

आर्सनल प्रशिक्षक मिकेल आर्टेटाका लागि युवा खेलाडीहरूले युरोपा लिगमा गोल गरेको खबर खुशीयाली मनाउन योग्य त छँदैछ । साथमा टाउको दखाइको विषय पनि बनेको छ । किनभने स्पेनिस रणनीतिकारसँग युवा फर्वाडहरूलाई बर्नलीविध्दद्धको खेलमा निरन्तरता दिने की पाका खेलाडीलाई विश्वास गर्ने भन्ने दुविधा रहनेछ । त्यसो त, २१ वर्षीय नेकेटियाले जारी सिजनमा आर्सनलका अनुभवी स्ट्राइकरहरू पेयर एमरिक आबुमेयाङ र अलेक्जेन्डर लाकाजेटले भन्दा बढी गोल गरेका छन् । त्यस्तै, बालोगनले युरोपा लिगमा ६१ मिनेट खेल्दै दुई गोल गरिसके ।  त्यसकारण, आर्टेटालाई यस साता टिम छनौट गर्न सजिलो हुनेछैन । 

क्रिस्टल प्यालेसविरुद्ध टोटनहम 
‘लिग लिडर’लाई प्यालेसको चेतावनी 
प्रिमियर लिगको शीर्षस्थानको टोटनहम जारी सिजनमा सबैभन्दा कम गोल खाने टिम हो । जोसे मौउरिन्हाको नेतृत्वको टिमले ११ खेलमा नौ गोल मात्र खाएको छ । तर टोटनहमको रक्षापंक्ति डिफेन्डरहरूको भरमा मात्र बलियो भएको होइन । मिडफल्डरद्वय मौसा सिसोको र पियर एमाइल होयब्याकको सन्तुलित प्रदर्शनका कारण पनि टोटनहमको रक्षापंक्ति बलियो देखिएको हो ।

तर क्रिस्टल प्यालेसले यस साता टोटनहमको रक्षापंक्तिलाई बलियो चुनौति दिनेछ । प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले प्यालेसका लागि सोचे अनुरुपको योगदान नगरिरहेको भएपनि गएको साता वेस्टबु्रमविध्द दुई गोल गरेका बेल्जियन टोटनहमसँग उर्जावा देखिन सक्छन् । बेन्टेकेका साथै विलफ्रिड जाहा र एबेरेची एजको उपस्थितीले प्यालेसको आक्रमणलाई चुनौतिपूर्ण बनाएको छ । त्यसकारण, मौउरिन्होका डिफेन्डरहरूले प्यालेसलाई सहजरुपमा लिने गल्ती गर्नेछैनन् । 

लिड्सविरुध्द वेस्टह्याम 
मिडफिल्डको लडाई 
डेभिड मोयस सँधै आफ्नो टिमलाई शारीरिक रुपमा बलियो बनाउने प्रयास गर्ने गर्छन् । यो सिजन वेस्टह्याम मोयसले चाहे अनुरुप खेलिरहेको छ । वेस्टह्यामका खेलाडी शारीरिक रुपमा बलियो देखिन्छन् । मोयसले अंगिकार गरिरहेका ४-५-१ संरचनाले वेस्टह्यामलाई सन्तुलित बनाएको छ । यस सिजन वेस्टह्यामका लागि डेक्लान राइसले वेस्टह्यामको मिडफिल्डलाई धानिरहेका छन् । तर शनिबार वेस्टह्यामले लिड्स युनाइटेडको चुनौति सामना गर्दा राइसले काल्भिन फिलिप्सलाई प्रतिद्वन्द्वीका रुपमा पाउनेछन् । राइस र फिलिप्सबीचको प्रतिस्पर्धाले खेल कता मोडिने भन्ने संकेत गर्नेछ । राइस र फिलिप्सको प्रतिद्वन्द्विता यस खेलमा मात्र सीमित हुने छैन । यी दुई इंगल्यान्डको राष्ट्रिय टोलीमा पहिलो रोजाइको मिडफिल्डर बन्नका लागि पनि एकआपसमा संघर्षरत छन् । 

वुल्भरह्याम्पटनविरुद्ध एस्टन भिल्ला 
राहुल हिमिनेज बिनाको वुल्भरह्याम्पटन  
एस्टन भिल्लाले यस सिजन खेलेका चार ‘अवे खेल’मध्ये तीनमा जित हासिल गरेको छ । तर लगातार दुई खेल हारेपछि भिल्लाको लय बिग्रेको देखिएको छ । डिन स्मिथको नेतृत्वमा रहेको भिल्लाले हारका बावजुत पनि आफ्नो शैलीमा परिवर्तन गरेको छैन । त्यसकारण, वुल्भससँग आमने-सामने हुँदा पनि भिल्लाले आक्रामक फुटबल खेल्ने प्रयास गर्नेछ ।

उता वुल्भसले भने पछिल्ला खेलहरूमा आफ्नो शैली परिर्वतन गरेको छ । पोर्चुगिज प्रशिक्षक नुनो स्पिरिटो सान्टोले आफूले प्रयोग गर्दै आएको ३-४-३ को संरचनालाई पछिल्ला खेलहरूमा ४-३-३ मा रुपान्तरण गरेका छन् । त्यसकारण, यो खेलमा फरवार्डहरू महत्वपूर्ण साबित हुन सक्नेछन् । वुल्भसका प्रमुख स्ट्राइकर राउल हिमिनेज अनुपस्थिति रहने भएकाले, आक्रमणको जिम्मा भने ड्यानियल पोडेन्स, पेद्रो नेटो र अडामा ट्राओरेले लिनेछन् । 

साउथह्याम्पटनविरुद्ध सेफिल्ड युनाइटेड 
बलियो साउथह्याम्पटनलाई जितबिहिन सेफिल्डको चुनौति
सेफिल्ड युनाइटेडले जारी सिजनमा एक अंक मात्र बटुल्न सकेको छ भने साउथ ह्याम्पटन २० अंकका साथ लिग अंक तालिकामा पाँचौ स्थानमा रहेको छ । राल्फ हासेनहुटेल नेतृत्वको साउथह्याम्पटनले आकर्षक फुटबल खेल्दै प्रिमियर लिगमा छाप छोडिरहेको छ । सेन्ट मेरिजमा सेफिल्डलाई स्वागत गर्दा साउथह्याम्पटन तीन अंक कब्जा गर्ने रणनीतिमा हुनेछ । जितले साउथ ह्याम्पटनको शीर्ष चारमा छनौट हुने सम्भावना सुदृढ गर्नेछ ।

फुलहमविरुद्ध लिभरपुल 
योर्गेन क्लपले मूख्य खेलाडीहरूलाई आराम नदिने 
यही साता च्याम्पियन्स लिगमा मोहम्मद सलाहले नयाँ कीर्तिमान राखे । मिज्जील्यान्डविरुद्धको गोलसँगै इजिप्सयन फरवार्ड लिभरपुलको जर्सीमा सबैभन्दा धेरै च्याम्पियन्स लिग गोल गर्ने खेलाडी बने । यसअघि, यो कीर्तिमान स्टिभन जेरार्डको नाममा थियो । लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले बाराम्बार ब्यस्त तालिकाबारे गुनासो गर्दै आएका छन् ।

घरेलु लिग र च्याम्पियन्स लिगका खेलहरू लगातार खेल्नुपर्दा खेलाडीहरूले आराम नपाउने उनको भनाई थियो । तर मिज्जील्यान्डविरुद्धको खेलमा सलाह, ट्रेन्ट अलेक्जेन्डर आर्नोल्ड लगायतका खेलाडीरुले आराम पाएनन् । फुलहमसँगको खेलमा पनि क्लपले मूख्य खेलाडीहरूलाई आराम दिने सम्भावना छैन । लिग अंक तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुलले लन्डन भ्रमणमा बलियो टिम नै उर्ताने सम्भावना छ । (अन्तराष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा)


Author

थप समाचार
x