प्रदेश २
आर्थिक वर्षको अन्त्यमा आन्तरिक मामिला मन्त्रालयको करिब डेढ करोड रकमान्तर
जनकपुरधाम- छुटयाइएको बजेट रकम खर्च गर्न नसक्दा आर्थिक वर्षको अन्त्यमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक करोड भन्दा बढी रकम रकमान्तर गरेको पाइएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार तत्कालीन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा विभिन्न शिर्षकमा छुट्याइएको रकमबाट १ करोड ३५ लाख २५ हजार रुपैया रकमान्तर गरिएको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले उपलब्ध गराएको विवरण अनुसार मन्त्रालयले विद्यार्थीहरूको लागि भित्ते पत्रिका गोष्ठीको लागि ६४ लाख, सवारी साधन मर्मतको लागि १० लाख, मसलन्द तथा कार्यालय सामग्री खर्चको लागि ५ लाख रुपैँया रकमान्तर गरिएको छ ।
त्यस्तै पदाधिकारीहरुको भ्रमण खर्चको लागि १० लाख, निजामती कर्मचारीहरुको भ्रमण खर्चको लागि ५ लाख, शान्ति सुरक्षा विशेष विभिन्न खर्चको लागि ३ लाख, प्रि–फ्याब भवन निर्माणको लागि २३ लाख २५ हजार र सामाजिक तथा आर्थिक सहायताको लागि १५ लाख रुपैया रकमान्तर गरिएको छ ।
महालेखापरीक्षकको कार्यालयले प्रत्येक वर्ष मन्त्रालयहरुमा शुरुमा बजेट विनियोजन कम गरी पछि अर्थ विविधबाट निकासा एवं रकमान्तर गरी रकम थप गर्ने परिपाटी बजेट सिद्धान्त विपरीत रहेको भन्दै यस्तो नगर्न पटक पटक चेतावनी दिँदै आए पनि मन्त्रालयले प्रत्येक वर्ष असार मसान्तमा बजेट रकमान्तर गर्दै आएको छ ।
यस्तै गत आर्थिक वर्षमा सो मन्त्रालयका मन्त्रीले भन्दा बढी रकम राज्यमन्त्रीले तलब भत्ता वापत बुझेका थिए । तात्कालीन मन्त्री ज्ञानेन्द्र कुमार यादवले तलब भत्ता र दैनिक भ्रमण भत्ता सहित १२ लाख ४ हजार ६ सय ७४ रुपैया बुुझेका छन् भने तात्कालिन राज्यमन्त्री सरोज सिंह कुशवाहाले तलब भत्ता, दैनिक भ्रमण भत्ता १५ लाख ९२ हजार १९ रुपैया र घर भाडा वापत २ लाख १६ हजार गरी कुल १८ लाख ८ हजार १९ रुपैया बुझेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया