प्रमुख समाचार

चोटसँग पनि नहार्ने ‘स्विडिस सिंह’ इब्राहिमोभिच

इकागज |
मंसिर २८, २०७७ आइतबार ७:१८ बजे

काठमाडौं : स्विडिस स्ट्राइकर ज्लाटन इब्राहिमोभिच ३९ वर्ष पुगिसके । तर पनि उनले उच्च स्तरको खेल देखाउन छाडेका छैनन् । फुटबलमा जो सुकै खेलाडी पनि शारीरिकरुपमा चुस्त हुनुपर्छ । ३९ वर्षको उमेरमा इब्राहिमोभिच युवा अवस्थामा जस्तै उर्जावान छन् । क्रिस्टियानो रोनाल्डो र रोमेलु लुकाकु आबद्ध भएको लिगमा उनीहरुको भन्दा कम खेल खेलेर लिगमा सर्वोच्च गोलकर्ता रहनु भनेको चानचुने कुरा होईन । इब्राहिमोभिचको सन्देश हो, ‘स्विडिस सिंह सजिलै थाक्नेवाला छैन ।’

फुटबलमा प्राय खेलाडीले ३० कटेपछि सन्यासका बारेमा योजना बनाउँन सुरु गर्छन् । तर, इब्राहिमोभिचले कहिले सन्यास लिन्छन्, अनुमान गर्न सजिलो छैन । किनभने उनी आफै लामो समयसम्म खेल्ने धारणा ब्यक्त गरिहन्छन् । तर बेलाबेलामा स्विडिस लेजेन्डलाई चोटले सताइरहेको हुन्छ । तीन वर्षअघि उनले घुडाँको चोट बोके । म्यानचेस्टर युनाइटेडमा छदाँ बोकेको चोटले इब्राहिमोभिचलाई आफ्नो करियर थप लम्बाउन प्रेरणा दियो ।


अरु खेलाडीलाई करियर छोट्याउन बाध्य पार्ने चोटले इब्राहिमोभिचलाई भने करियर झन् अगाडि बढाउन उर्जा प्रदान गर्‍यो । त्यसैले त इब्राहिमोभिच फरक छन् । 
‘मलाई चोटले बलियो बनायो । त्यसकारण म सजिलै आफ्नो करियर टुङ्गयाउने पक्षमा छैन । म माथिल्लो स्तरको प्रतियोगिता खेलिरहेको छु । जहाँ प्रत्येक खेलमा उच्च प्रदर्शन गर्न आवश्यक छ । म त्यही गर्ने कोसिसमा छु,’ इब्राहिमोभिचले बिबिसीसँगको अन्तरवार्तामा भने ।

हाल एसी मिलानबाट खेलिरहेका इब्राहिमोभिचलाई स्विडेनकै सर्वकालिन महान् खेलाडी मानिन्छ । उनी २०१६ मा इंगल्यान्ड पुगेका थिए । जहाँ उनले युनाइटेडको जर्सीमा युरोपा लिग जिते । यसअघि उनले आयाक्स, इन्टर मिलान, एसी मिलान, बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट लिग जितिसकेका थिए ।

त्यसो त अरु खेलाडीलाई जस्तै, इब्राहिमोभिचलाई पनि चोटले सताएकै हो । युनाइटेडमा हुँदा बाकेको चोटले उनलाई एक वर्ष फुटबलबाट टाढा राख्यो । युनाइटेड पछि उनी अमेरिकाको मेजर लिग सकर खेल्न एलए ग्यालेक्सीसँग अनुबन्धित भए । र, गत जनवरीमा मात्रै इब्राहिमोभिच मिलान फर्केका हुन् । जहाँ उनले १० गोल गरिसकेका छन् ।

‘यदि मैले राम्रो खेलिन भने अर्को खेलाडीले मेरो स्थान लिन्छ । सबैको नियती यही नै हो । त्यसकारण, एउटा खेलाडी सधै दबाबमा रहन्छ । तर मलाई दबाब मनपर्छ । मैले बिगतमा धेरै सफलता हासिल गरेको छु । भलै म बिगतको सफलतामा खुशीयाली मनाएर बस्ने मानिस होइन । म वर्तमानले टिक्ने हो । र, जहिले सम्म राम्रो खेलिरहन सक्छु, म एसी मिलान जस्ता ठूला क्लबमा टिकिरहन्छु,’ इब्राहिमोभिचको भनाई थियो ।

जारी सिरी ए मा, मिलान २६ अंक सहित शिर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको सासुओलोले एक खेल बढी खेल्दा २२ अंक बनाएको छ भने इन्टर मिलान र नेपोली तेस्रो र चौथो स्थानमा छन् (यो आलेख तयार पार्दासम्म ) । मिलानले सिजनको सुरुवातबाटै बलियो लय देखाएको छ । पछिल्लो पटक सन् २०१०-११ मा सिरी ए जितेको मिलानलाई यस पटक उपाधी जित्ने मौका छ । अनि संयोगबस पछिल्लो लिग उपाधी यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका इब्राहिमोभिच यसपटक फेरी मिलानलाई साथ दिन आइपुगेका छन् ।

‘हामी बलियो लयमा छौ । हामी वास्तवमै आर्कषक फुटबल खेलिरहेका छौ । तर हामीले लिग जितिसकेका छैनौ । त्यसकारण हामीले धैर्यता र सर्तकता राख्न जरुरी छ,’ इब्राहिमोभिचले भने । 

मिलानले आइतबार सान सिरोमा पार्माको सामना गर्नेछ । त्यस्तै, लिगका अन्य पारम्पारिक शक्तिहरु नेपोली र इन्टर मिलानले क्रमशः साम्पडोरिया र काग्लियारीसँग भिड्नेछन् । त्यस्तै, लिगमा पाँचौ स्थानमा रहेको युभेन्टसले जेनोआको चुनौति सामना गर्नेछ ।


Author

थप समाचार
x