कांग्रेस अधिवेशन
दाङका दुई उपमहानगरमा हमाल र रावत
बुटवल - नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको दाङ जिल्लामा सबै पालिकाको नतिजा आएको छ । जस मध्ये मुख्य चासोका रूपमा हेरिएका दुई उपमहानगरपालिकामा संस्थापन नजिकका उमेद्वार विजयी छन् ।
तुल्सीपुर उपमहानगरपालिकाका सभापति पदका उम्मेदवार सुरेश हमालले प्रतिस्पर्धी अनिल कार्कीलाई १६० मत अन्तरले पराजित गरे । सभापतिमा हमालले ३६८ मत प्राप्त गर्दा कार्कीले २०८ मत पाए । एक उपसभापति बाहेक अन्य सबै पद पनि हमाल समूहले नै जितेको छ ।
उनि कांग्रेसको यातायात विभागका केन्द्रीय सदस्य हुन् । उनलाई दिपक गिरीको समेत साथ थियो । कार्कीलाई भने गेहेन्द्र गिरीको साथ थियो । कांग्रेस नेताहरूका अनुसार गिरीसहित प्रदेशमन्त्री डिल्ली चौधरी, बुद्धिराम चोधरीको समर्थन थियो ।
दाङ जिल्लाकै अर्को उपमहानगरपालिका घोराहीको सभापतिमा ३० वर्षीय तिलक रावत निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार नगरमा नेतृत्व चुन्न मतदान भएको थियो । प्राप्त मत परिणाम अनुसार रावतले २८६ मत प्राप्त गरे । उनका प्रतिष्पर्धी २८ वर्षीय निरज गिरीले १६२ मत प्राप्त गरे । घोराहीमा कुल ४६८ मतदाता रहेकोमा ४६२ मत खसेको थियो ।
विजयी रावत पनि पार्टिको संस्थापन समूहका राजु खनाल पक्षका हुन् । उनको प्यानलका अधिकाश पदाधिकारी विजयी भएका छन् । दाङ जिल्लाका दश पालिका सबैको परिणाम आएको हो । देउखुरीको लमही नगरपालिकामा सञ्तोष बुढाथोकी निर्वाचित भएका छन् । गढवा गाउँपालिकाको सभापतिमा गढवामा किरण पौडेल निर्वाचित भएका छन् ।
राजपुर गाउँपालिकामा नरेन्द्र भण्डारी विजयी भएका छन् । देउखुरीका चार पालिकामध्य लुम्बिनी प्रदेशको केन्द्र तोकिएको राप्ती गाउँपालिकामा शुक्रबार नै वडा नं. ७ का वडाध्यक्ष विद्याशरण चौधरीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।
बंगला चुली गाउपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यहाँ जागेश्वर अधिकारी गाउँपालिकाको सभापति चयन भए । दंगीशरण गाउँपालिकामा भएको निर्वाचनबाट शम्भु गिरी निर्वाचित भएका छन् ।
शान्तिनगर गाउँपालिकामा शुक्रबार नै झकल केसीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । दाङको सबै भन्दा पश्चिमको पालिका बबई गाउँपालिकामा भएको निर्वाचनबाट प्रकाश बस्नेतको प्यानल निर्वाचित भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया