सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री देउवा
फाइल फाेटाे
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । शुक्रबार ग्यालेक्सी फोरके टेलिभिजनको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अंगका रूपमा स्थापित रहेको भन्दै यो टेलिभिजनले पनि सोही मान्यताअनुसार प्रेस जगतलाई फस्टाउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे ।
उनले रामायण, को बन्छ करोडपतिजस्ता कार्यक्रम प्रसारण गर्न लागेकामा टेलिभिजनलाई शुभकामना दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशका सबै जातजाति, भाषाभाषीको आवाजलाई मुखरित हुने गरी बलियो राष्ट्रिय एकता कामय गर्न सञ्चार माध्यमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले तल्ला तहका गरिखाने वर्गको आवाजलाई मुखरित गर्दै उनीहरूको भाषा, संस्कृतिको जर्गेना गर्ने गरी काम गर्न टेलिभिजनलाई आग्रह गरे । सन्तुलित, मर्यादित समाचार सामग्री प्रस्तुत गरेर स्वस्थ प्रतिस्पर्धा गर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे । अध्यक्ष दाहालले तथ्य बंग्याइएका गलत समाचारको मारमा आफू पनि बेलाबेलामा पर्ने गरेको भन्दै सही, तथ्यपूर्ण र निष्पक्ष पत्रकारिता गर्न सञ्चारकर्मीसमक्ष आग्रह गरे ।
कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उक्त सञ्चारमाध्यमको सफलताको कामना गरे । शुक्रबादेखि उक्त टेलिभिजनले आफ्नो नियमित प्रसारण सुरु गरेको हो । टिभीमा चर्चित रियालीटी शोदेखि समाचार प्रस्तुतिसम्ममा नयाँ शैली अपनाइने व्यवस्थापक पक्षले जनाएको छ ।
टेलिभिजनका अध्यक्ष जिवी राईले उच्चतम प्रविधिबाट गुणस्तरीय सामग्री प्रस्तुत गर्ने जानकारी दिँदै सञ्चारकर्मीको हित र उनीहरूको सेवा सुविधामा पनि कुनै कन्जुस्याइँ नगरिने दाबी गरे । सही सूचना र मर्यादित मनोरञ्जन दिने आफूहरुको उद्देश्य रहेको पनि उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया