प्रमुख समाचार

सरकार फेरिए पनि मधेसीमाथि विभेद कायमै : महन्थ ठाकुर

सुभाष कर्ण |
असोज १६, २०७८ शनिबार १९:२१ बजे

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथि विभेद कायमै रहेको बताएका छन् । शनिबार धनुषास्थित जिरोमाइल युवा कमिटी पदाधिकारीको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

‘देशमा संघीयता जारी भएपश्चात धेरै पटक फेरिएका सरकारले मधेसी जनतामाथि विभेद र अन्याय हुन नदिने प्रतिबद्धता जनाए तर ती प्रतिबद्धता आजसम्म कार्यान्वयन हुन सकेको छैन,’ कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले भने, ‘सरकारले मधेसी जनतामाथि गर्दै आएको अन्याय र विभेदविरुद्ध पार्टीले राखेको माग सम्बोधन नगरेसम्म लोसपाको संघर्ष जारी रहन्छ । संविधानमा गरिएको विभेद अन्त्य नभएसम्म सडक र सदनबाट संघर्ष जारी राख्नेछौं ।’


मधेस आन्दोलनको क्रममा लगाइएका कतिपय मुद्दाहरू जिल्ला अदालत, उच्च अदालत र सर्वाेच्च अदालतमा रहेकाले ती मुद्दा फिर्ता गर्नेलगायतका माग पुरा नभएसम्म आफूहरूको संघर्ष जारी रहने उनले चेतावनी दिए । ‘सरकारमा जानु ठूलो कुरा होइन हाम्रो माग र मुद्दा सम्बोधन गर्ने कुनै पनि सरकारमा हाम्रो दल सहभागी हुनसक्छ । तर यसबारे अहिले नै टुंगो लागेको छैन । सरकारमा जानेबारे हामी चाँडै निष्कर्षमा पुग्छौं,’ उनले भने ।

मधेसी जनतामाथि पटक–पटक अन्याय भएको भन्दै उनले संघर्षका लागि मधेसी जनतालाई अघि बढ्न आग्रह गरे । कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य परमेश्वर साहले राज्यले युवामा लगानी गरेमात्र देश विकास सम्भव हुने बताए । 

उनले प्रदेश २ सरकारले यहाँका जनतालाई समाज परिर्वतनको दिशा देखाउने र जनहितमा सराहनीय काम गर्दै आएको बताउँदै धार्मिक र समाजिक क्षेत्रमा विद्यमान कुरीति, अन्धविश्वासलगायतका गलत क्रियाकलाप हटाउन युवाको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे  । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x