प्रमुख समाचार

शेखर, अर्जुननरसिंहलगायतका नेता डडेल्धुरामा, ११ दिनदेखि जारी कांग्रेस डडेल्धुराको अनशन स्थगित

इकागज |
असोज १७, २०७८ आइतबार १५:२५ बजे

कैलाली - नेपाली कांग्रेस डडेल्धुराले विगत ११ दिनदेखि जारी रहेको रिले अनशन स्थगित गरेको छ । कांग्रेसका नेता तथा केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डाक्टर शेखर कोइराला र गुरुराज घिमिरेलगायतका नेता डडेल्धुरा पुगेपछि अनशन स्थगित गरिएको नेपाली काङ्ग्रेस पार्टी डडेल्धुराका जिल्ला उपसभापति करुणाकर भट्टले जानकारी दिए। 

शीर्ष नेताहरूले माग सम्बोधन गर्न पहल गर्ने जनाएपछि तत्काललाई अनशन स्थगित गरिएको उनले बताए। डडेल्धुरास्थित पार्टी कार्यालय किशुनजी भवनमा ११ दिनदेखि कार्यकर्ताहरू अनशनमा बसिरहेका थिए। क्रियाशील सदस्यता विवाद कायमै रहेको अवस्थामा गत भदौ २५ गते सम्पन्न भएको वडा अधिवेशन खारेजको माग गर्दै उनीहरूले रिले अनशन थालेका थिए। 


सभापति शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराको वडा तहको निर्वाचन भने देउवाले प्रशासनको आडमा सम्पन्न भइसकेको छ । उक्त निर्वाचन अर्को समूहले मान्य नहुने बताउँदै आएको छ । 

डा.काेइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार कांग्रेसका केन्द्रीय सदस्यहरू केसी, कोइराला, गुरुराज घिमिरे र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोख्रेलले पार्टीको क्रियाशिल सदस्यता वितरणमा भएको अनियमितताविरुद्ध अनसनरत कांग्रेसका नेता एवं कार्यकर्ताको गुनासो सुनेका छन् । अनशनरत नेता कार्यकर्ता र केन्द्रबाट गएका नेताहरूबीच विजयादशमीपछि धर्ना कार्यक्रमलाई निरन्तरता दिने गरी ११ दिनदेखी जारी आन्दोलन स्थगित भएको छ । 


Author

थप समाचार
x