प्रमुख समाचार

अनलाइन फाराम सच्याउने यातायातका दुई कर्मचारीलाई कारबाही

इकागज |
असोज २५, २०७८ सोमबार २१:२३ बजे

जनकपुरधाम - यातायात व्यवस्था कार्यालय जनकपुरका दुई कर्मचारीलाई प्रदेश-२ को भौतिक पूर्वाधार विकास मन्त्रालयले कारबाही प्रक्रिया अघिबढाएको छ । केही व्यक्तिको अनलाइन फाराम एडिट गरेको आरोपमा मन्त्रालयले यातायात कार्यालय जनकपुरमा कार्यरत करार सेवाका कर्मचारीद्वय भीष्मनारायण साह र दिलीप साहलाई कारबाही गर्न यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएको छ । 

गत असोज १९ गते मंगलबार साँझ उनीहरू दुवै जनाको आइडीबाट केही व्यक्तिहरूको अनलाइन फाराम एडिट भएकोले आवश्यक कारबाही गर्न कार्यालयलाई पत्राचार गरेको हो ।


पत्रमा उनीहरू दुवै जनालाई त्यहाँबाट आवश्यक कारबाही गरी मन्त्रालयलाई जानकारी गराउन भनिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दीपक कुमार दासले जानकारी दिए । 
 
उनीहरु दुवै जना करारका कर्मचारी रहेकोले मन्त्रालयले कारबाही गर्न नमिल्ने जनाउँदै यातायात कार्यालयलाई नै कारवाही गरेर पठाउन भनिएको सचिव दासले बताए । 

भीष्मनारायण साह र दिलिप साहको आइडीबाट केही व्यक्तिहरूको फाराम एडिट गरिएको यातायात व्यवस्था विभागमार्फत नै आफूहरूलाई जानकारी भएको उनले बताए । 

यस सम्बन्धमा यातायात कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र साहले कार्यालयसँग मन्त्रालयले कर्मचारीद्वय भीष्मनारायण साह र दिलीपलाई कारबाही गर्न पत्र आएकोले  उनीहरूमाथि आवश्यक छानबिन अघि बढाइ सकिएको जानकारी दिए । उनले  दोषी ठहर भए निजामती सेवा ऐनको नियम कानुन अनुसार दुवै जनामाथि कारबाही गर्ने बताए ।


Author

थप समाचार
x