चिसोले एक सातामा चारको मृत्यु
सांकेतिक तस्बिर
लहान : केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका-५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गत मङ्सिर २२ देखि मङ्सिर २८ गतेसम्मको अवधिमा ती चारै जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले बताए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका-८ र गोलबजार नगरपालिका-१३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका-८ अस्पतालचोकका १३० र गोलबजार नगरपालिका-१३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरेको प्रजिअ कणेँलले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया