प्रमुख समाचार

मेस्सी र रोनाल्डोलाई छायाँमा पारिदिने ‘पोलिस’ मेसिन लेवेन्डोस्की

इकागज |
पुस ५, २०७७ आइतबार ७:३८ बजे

काठमाडौं : बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवेन्डोस्कीलाई ‘मेसिन’ भनिन्छ । पोलिस राष्ट्रिय टिमका कप्तान लेवेन्डोस्कीलाई यो नाम अरु कसैले दिएको नभएर उनको श्रीमतीले दिएकी हुन् । हुन पनि, लेवेन्डोस्की मेसिन जस्तै नै छन् । निरन्तर गोल गरिरहने मेसिन । यस सिजन मात्रै उनले बार्यनका लागि १७ खेलमा १८ गोल गरेका छन् । बोरुसिया डर्टमन्डबाट बार्यन आएपछि उनले ३०६ खेलमा २६४ गोल गरिसकेका छन् ।

त्यसकारण पनि यसै साता उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै फिफा वर्ष खेलाडी घोषित हुँदा कसैले प्रश्न गरेनन् । किन लेवेन्डोस्की भनेर । सबैलाई थाहा छ लेवेन्डोस्की यस्तो ठूलो पुरस्कारको हकदार हुन भनेर । उनले फिफा वर्ष खेलाडीको पुरस्कार थापेपछि प्रतिक्रियाको ओइरो लाग्यो । प्रतिक्रिया पनि सकारात्मक मात्रै । ‘लेवेन्डोस्की यस पुरस्कारको असली हकदार हो । उसले बाहेक कसैले पनि यो पुरस्कार पाउनु हुँदैन थियो,’ गत सिजन ४७ खेलमा ५५ गोल गरेका खेलाडीमाथि बार्यन अध्यक्ष कार्ल हेन्ज रुमिनिगको टिप्पणी थियो ।


लेवेन्डोस्कीले उच्च स्तरको फुटबल खेलेको लगभग एक दशक हुन लाग्यो । २१ वर्षको उमेरमा जर्मन बुन्डेसलिगा आएका लेवेन्डोस्की पछिल्ला सात सिजन मध्ये पाँचमा लिगको सर्वोच्च गोलकर्ता चुनिएका छन् । तर उनी ३२ वर्ष पुग्दा मात्र फिफाको प्रतिष्ठित अर्वाडको हकदार मानिए । विश्वभरका राष्ट्रिय टोली प्रशिक्षक, कप्तान, प्रशिक्षक लगायतले मतदान गरी चुन्ने फिफा वर्ष खेलाडीको सूचीमा गत वर्ष उनी शीर्ष १० मा पनि परेनन् । तर यसपटक उनले कसैलाई अच्चिमत नबनाई यो पुरस्कार हात परे ।

लेवेन्डोस्कीलाई च्याम्पियन्स लिगमा गोल गर्न नसक्ने स्ट्राइकरका रूपमा लिइन्थ्यो । गत सिजन बार्यनलाई युरोपियन क्लब फुटबलको सर्वोच्च उपाधी जिताउँदा १५ गोल गरेका लेवेन्डोस्कीले त्यसअघि खासै जादु देखाउन सकेका थिएनन् । २०१३ को च्याम्पियन्स लिगको सेमिफाईनलमा रियल म्याड्रिडविरुद्ध चार गोल गर्नु बाहेक अरुबेला आफ्नो स्तरको खेल देखाउन सकेका थिएनन् ।

२१ वर्षको उमेरमा जर्मन बुन्डेसलिगा आएका लेवेन्डोस्की पछिल्ला सात सिजन मध्ये पाँचमा लिगको सर्वोच्च गोलकर्ता चुनिएका छन् । तर उनी ३२ वर्ष पुग्दा मात्र फिफाको प्रतिष्ठित अर्वाडको हकदार मानिए ।

तर गत फेुबु्रअरी देखि उनको च्याम्पियन्स लिगमा केही परिवर्तन आयो । अन्तिम १६ को पहिलो लेगमा चेल्सीविरुद्ध एक–एक गोल असिस्टको योगदान गरेका लेवेन्डोस्कीले दोस्रो लेगमा दुई गोल गर्दै दुई असिस्ट पनि दिए ।  उनी त्यत्तिमै रोकिएनन् । बार्सिलोनाविरुद्धको क्‍वार्टरफाईनल र लियोनसँगको सेमिफाईनलमा पनि उनले गोलको सिलसिलालाई कायम राखे । प्रतियोगितामा उनले कुल १५ गोल गरे । रोनाल्डोले च्याम्पियन्स लिगको एक सिजनमा सर्वाधिक गोल (१७) गर्ने कीर्तिमानको नजिक पुगे ।

यस सिजन लेवेन्डोस्कीले च्याम्पियन्स लिगमा तीन गोल गरिसकेका छन् । यससँगै च्याम्पियन्स लिगमा उनको कुल गोल संख्या ७१ पुगेको छ । उनी रियल म्याड्रिडका पूर्व महान् खेलाडी राउल गोन्जालेजसँगै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा तेस्रो स्थानमा छन् । सूचीको पहिलो स्थानमा रहेका रोनाल्डोको १३४ गोल छ भने दोस्रो स्थानमा रहेका मेस्सीको ११८ ।

यो अंग्रेजी साल लेवेन्डोस्कीलाई फापेको छ । किनभने गत अक्टोबरमा मात्रै उनलाई युरोपको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो । पोलिस लिग खेल्दा खेल्दै कलिलो उमेरमा डर्टमन्ड स्काउटको सिफारिसमा जर्मनी आइपुगेका लेवेन्डोस्कीले जारी सिजनको लयलाई कायम राखे अर्को वर्ष पनि उनी उल्लेखित पुरस्कारबाट पुरस्कृत हुने सम्भावना बलियो रहन्छ ।

लेवेन्डोस्कीलाई उनकी श्रीमतीले ‘मेसिन’ भने पनि पोलिस कप्तानलाई उनका सहकर्मीहरू ‘दि बडी’ को नामले बोलाउँछन् । लेवेन्डोस्कीको खानपिन प्रतिको सचेतना र शारीरिक वनावटका कारण उनलाई उनका साथीले ‘दि बडी’ का नामले बोलाउने गरेका हुन् ।

अन्त्यमा
लेवेन्डोस्कीकी श्रामती एन्‍ना पोल्यान्डकी पूर्व राष्ट्रिय कराते खेलाडी हुन् । उनी ब्यवसायिक ‘न्युट्रिनिस्ट’ पनि हुन् । जो श्रीमानको खानपान र डाइटमा विशेष ध्यान दिन्छिन् । आफै पनि खानपान र शारीरिक अभ्यासमा विशेष ध्यान दिने भएका कारण लेवेन्डोस्की खासै घाईते हुँदैनन् । उनले जर्मन बुन्डेसलिगामा चोटका कारण २० भन्दा कम खेलमात्रै गुमाएका छन् । त्यही भएर पनि जर्मनीका पूर्व महान् खेलाडी ओभिर कान बार्यन स्ट्राइकर लेवेन्डोस्की युवा खेलाडीका लागि ‘रोल मोडल’ भएको बताउछन् । ‘कुनै युवा खेलाडी लामो समयसम्म उच्च स्तरको फुटबल खेल्न चाहानछ भने उसले लेवेन्डोस्की जस्तै अनुशासीत हुन सिक्नुपर्छ,’ कानले भनेका छन् । 


Author

थप समाचार
x