प्रदेश २ का विषयगत समितिहरू निष्क्रिय, कतिपय सभापतिविहीन
जनकपुरधाम- प्रदेशसभा नियमित संचालन हुन नसक्दा प्रदेशसभा अन्तर्गतका विभिन्न विषयगत समितिहरु पनि निष्क्रिय बन्दै गएको छ ।
केही समिति सभापतिविहिन रहेको छ भने केही समितिमा पदाधिकारीहरुको बेवास्ताका कारण बैठक बस्न सकेकाे छैन । प्रदेशसभा गतिशील नरहेको अवस्थामा विषयगत समितिहरु समेत क्रियाशील हुनुपर्नेमा निष्क्रिय हुन गएको हो ।
प्रदेश सरकारको निरीहता र प्रदेशसभा नियमित रुपमा संचालन हुन नसक्दा प्रदेशसभाका विषयगत समितिहरु निष्क्रिय अवस्थामा पुगेको सरोकारवालाहरुको भनाई छ । प्रदेशसभाका सचिव रंजितकुमार यादवले केही समिति सभापतिविहिन र सभापति रहेका समिति पनि चासो नलिएको कारण निष्क्रिय जस्तो देखिएको बताए ।
'सातौ अधिवेशन अन्त्यसँगै समितिमा भएको पदीय परिवर्तनले केही दिनदेखि निष्क्रिय देखिएपनि छठपछि बाँकी रहेका समितिमा सभापति चयन गरेपछि बैठकले तीव्रता पाउँछ' सचिव यादवले भने ।
उनले भने 'प्रदेश सरकार र प्रदेशसभाका सदस्यहरुले चासो लिएमा समितिमा सभापति नरहेपनि प्रदेश सभाको जेष्ठ सदस्यको सभापतित्वमा बैठक बसाउन सकिन्छ तर तिनीहरुले ध्यान नपुर्याएकाले बैठकमा निष्क्रियता देखिएको हो ।'
कतिपय अवस्थामा प्रदेशसभाको बैठक सुरु भएपछि समितिको बैठक समेत बस्ने गरेको छ । तर प्रदेशसभाको बैठक नै बस्न नसकेको कारण समेत असर पुगेको छ ।
अर्थ तथा योजना समितिका सभापति मनिष सुमनले केही समिति सभापतिविहिन र प्रदेश सभाको नियमित रुपमा बैठक संचालन हुन नसक्दा केही असर परेपनि आफूहरु सक्रिय रहेको बताए ।
उनले भने 'सरकारको बेवास्ताका कारण पनि आफ्नो समितिले काम गर्न नसकेको हो, सरकारको चार वर्षको अवधिमा एक पटक मात्रै कर सम्बन्धी विधेयक छलफलका लागि पठायो, त्यसपछि आजसम्म न त कुनै बजेट र विनियोजन विधेयक नै पठाएको छ । यस्तो अवस्थामा आफूहरुले के काम गर्ने ।'
प्रदेशका अर्थ तथा योजना समिति, विकास समिति, कृषि तथा भूमि व्यवस्था समिति, महिला बालबालिका तथा समाजिक न्याय समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति, सार्वजनिक लेखा समिति सहितका ७ वटा रहेका छन ।
ती मध्ये सार्वजनिक लेखा समिति, कृषि तथा भूमि व्यवस्था समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति सभापतिविहिन रहेका छन् भने अन्यमा सभापति भएपनि दलीय आधारमा सदस्य बाँडफाँड गर्न नसक्दा निष्क्रिय थियाे । तर पछिल्लो महिना ती समितिमा पदपूर्ति गरिएपनि बैठक बसाउनेतर्फ सरकारले चासो नलिइएकाले निष्क्रियता बढेको लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले बताए ।
सार्वजनिक लेखा समितिमा सभापति पदको लागि रामकुमार यादव र शत्रुधन महतोले उम्मेदवारी दिएका थिए । तर, पार्टी भित्र किचलो देखिएपछि आजसम्म सभापति चयन हुन सकेको छैन । त्यसैगरि कृषि समितिका सभापति रहेका वीरेन्द्र प्रसाद सिंह भने प्रदेश सरकारमा बालबालिका मन्त्री बनेपछि सो समितिको सभापति पद खाली रहेकाे छ ।
अर्को प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति रहेका रामचन्द्र मण्डललाई माओवादी पार्टीले कारवाही गर्दा उनको सांसद पद गुमेपछि हाल त्यसमा सभापति चयन गर्न सकिएको छैन । राजनितिक परिवर्तन कारण समेत समितिमा असर परेको देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया