एमालेको महाधिवेशन तयारीबीच चितवन जाँदै ओली
नारायणी नदीमा पानी जहाजको अवलोकन गर्ने
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन जाने भएका छन् । चितवनमा हुने एमालेको १० औं महाधिवेशनको तयारीबीच ओली चितवन जाने भएका हुन् । एमालेले मंसिर १० र १२ गते चितवनस्थित गण्डकी नदी किनार र सौराहामा महाधिवेशन आयोजना गर्दै छ ।
महाधिवेशन व्यवस्थापन मूल समितिका संयोजक रामबहादुर थापा र सहसंयोजक सुरेन्द्र पाण्डे पनि ओलीका साथमा सोमबार चितवन जाने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । चितवनमा दुई दिनसम्म रहने ओली पार्टी केन्द्रित विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । एमालेको १० औं महाधिवेशन चितवनमा हुने तय भएपछि ओली पहिलो पटक चितवन जान लागेका हुन् ।
स्थलगत मार्गमार्फत ओली चितवन जाने र सो क्रममा भरतपुर महानगरपालिका–२९ दासढुंगामा मदन भण्डारी र जीवराज आश्रितको श्रद्धाञ्जली कार्यक्रममा उनी सहभागी भई मदन स्मृति पार्कको अवलोकन पनि गर्ने कार्यक्रम छ । चितवन पुगेर ओली, थापा र पाण्डेले महाधिवेशन उद्घाटन सत्र स्थल नारायणी नदी किनार र सौराहाको बन्द सत्र स्थलको निरीक्षण गर्ने छन् ।
तर सौराहामा कहाँनेर बन्दसत्र गर्ने भनेर आइतबारसम्म टुंगो लागिसकेको छैन । सोमबार सौराहामा बसेर मंगलबार बिहान ओलीले नारायणी नदी किनार शिवघाटमा पानी जहाजको अवलोकन गर्ने कार्यक्रम रहेको सचिव तामाङले जानकारी दिए । यसपछि ओली माडी नगरपालिका–९ अयोध्यापुरीमा रहेको राम मन्दिरमा पुगी अवलोकन गर्नुका साथै स्थानीयसँग छलफल गर्नेछन् । आफू सरकारमा भएका बेला ओलीले रामको जन्मस्थल माडीको अयोध्यापुरी भएको दाबी गर्दै त्यहाँ राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गरेका थिए ।
शीर्ष नेताको केन्द्रमा चितवन
एमालेले चितवनमा महाधिवेशन आयोजना गर्ने तय भएपछि चितवनमा शीर्ष नेताको दौडधुप सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र रहेको चितवनमा एमालेले पनि विशेष चासो राखेको देखिन्छ । तत्कालीन माओवादी नेतासमेत रहेका एमाले स्थायी कमिटी सदस्य थापाको पनि निर्वाचन क्षेत्र रहेकाले चितवनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
माओवादी अध्यक्ष दाहालले शुक्रबार चितवन पुगेर आगामी निर्वाचनमा आफू चितवनबाटै चुनाव लड्ने बताएका थिए । उनले एमालेले आफूलाई केन्द्रमा राखेर नै पार्टीको महाधिवेशन चितवनमा गर्ने भएको जिकिर गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया