प्रमुख समाचार

केही दिनमै पाँच लाख गरिबलाई १०, १० हजार बाँड्छौं : अर्थमन्त्री शर्मा

'सहिद परिवार र घाइतेकाे भेटघाटमा कमी भए पनि उनीहरूका समस्या सम्बोधन गरिरहेका छाैं'

इकागज |
कात्तिक १४, २०७८ आइतबार २०:१४ बजे

हेटौंडा – नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई १०, १० हजार रूपैयाँ बाँड्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल, हेटौंडाको प्रथम अधिवेशनको आइतबार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।  

आफ्नो पार्टीको पहलमा सरकारले पाँच लाख गरिबलाई सो रकम बाँड्न लागेको उनले बताए । दसैंअगाडि नै सो रकम बाँड्ने योजना भए पनि प्रक्रियागत रूपमा ढिलाइ भएकाले अब केही दिनमै रकम बाँड्ने सूचना जारी गर्ने उनले जानकारी दिए । बजेटको प्रतिस्थापन विधेयक बनाउन दुई दिन समय पाएका अर्थमन्त्री शर्माले कुल बजेटको २.८ प्रतिशतमात्रै चलाएर प्रतिस्थापन गरिएको शर्माले उल्लेख गरे । 


द्वन्द्वका घाइते र पीडितलाई मासिक पाँच हजार रूपैयाँ उपचार खर्च उपलब्ध गराउने, सहिद परिवारलाई मासिक तीन हजार रूपैयाँ दिने व्यवस्था प्रतिस्थापन विधेयकमार्फत बजेटमा गरिएको उनले जनाए । यस्तै द्वन्द्वकालका सहिद परिवार र घाइतेलाई भेटघाटमा केही कमी भए पनि सरकारले उनीहरूका समस्या सम्बोधन गरिरहेको शर्माको भनाइ छ । 

‘माओवादी पार्टीले जनतालाई गरिबीमुक्त गर्ने, बेरोजगारमुक्त गर्ने र समुदायलाई नै उत्पादनसँग जोड्ने योजना बनाएको छ । सरकारले पढ्दै कमाउँदै कार्यक्रम, श्रम सहकारी बनाउने कार्यक्रम ल्याएको छ । अब विद्यार्थीहरू अध्ययनरत समयमा नै व्यवसायिक बन्नेछन्,’ पार्टीको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने । 

अध्यक्ष पुष्पकमल दाहाल र पार्टीमाथि लागेका आक्षेपविरुद्ध प्रतिवाद गर्न उनले वाइसीएल नेताहरूलाई निर्देशन दिए । ‘तपाईंहरू प्रतिगमन र प्रतिगामीविरुद्ध लड्न तयार हुनूस् । वाइसीएललाई ०६४ माजस्तै सक्रिय बनाउन आवश्यक छ,’ शर्माले भने, ‘आज हामी जहाँ छौं, द्वन्द्वकालमा संयोगले बाचेकाहरूमात्रै छौं, हामीले ल्याएको परिवर्तनलाई रक्षा गर्दै अघि बढौं ।’


Author

थप समाचार
x