प्रमुख समाचार

प्रदेश १ मा प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आव्हान

इकागज |
कात्तिक १५, २०७८ सोमबार १६:१० बजे

विराटनगर- प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ’प्यासी’ ले नयाँ सरकार गठनका लागि मंगलबार दिनको १ बजेभित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख प्यासीले १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।


उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री चयन गर्ने प्रक्रिया उल्लेख छ । सोहीअनुसार प्रदेश प्रमुख प्यासीले १ बजेभित्र मुख्यमन्त्रीको प्रस्तावसहित दाबी पेश गर्न आह्वान गरेका हुन् ।

आचार्य गत भदौ १० गते नेकपा एमाले संसदीय दलको नेता हुँदै प्रदेश १ को मुख्यमन्त्रीमा चयन भएका थिए । उनले मुख्यमन्त्री बनेको ६८ दिनपछि सोमबार राजीनामा दिएका हुन् ।

विपक्षी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्रकुमार राईलाई आगामी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने सहमति आइतबार नै भइसकेको छ । उक्त सहमतिपछि विपक्षी पाँच दलीय गठबन्धनले सांसदहरूको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखसमक्ष बुझाउने तयारी गरेका छन् ।


Author

थप समाचार
x