६ दिनमा फर्कियो सेयर बजारमा हरियाली, कसले कमाए-कसले गुमाए ?
९५.४६ अंकले बढेर नेप्से २०६१.४१ मा, ४.८६ प्रतिशतले बढ्यो बजार
काठमाडौं : राजनीतिक अनिश्चिततासँगै ओरालो लागेको सेयर बजार फेरि पुरानै लयमा फर्किन थालेको छ । ६ दिन अघिकै अंकमा नेप्से परिसूचक फर्केको हो ।
गत मंसिर ३० मा नेप्से परिसूचक २०६१.४१ अंकमा पुगेको थियो । मंगलबार नेप्से ९५.४६ अंकले बढेर २०६१.४१ मै अडिएको छ । यस अवधिमा बजार चार दशमलव ८६ प्रतिशतले बढेको छ ।
आइतबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गर्ने निर्णय गरे । राजनीतिक अस्थितरता बढ्ने संकेत पाएपछि लगानीकर्ताहरु जोखिमयुक्त सेयर बजारबाट बाहिरिन थाले । आइतबारको कारोबारमा नेप्से परिसूचक ४.७२ प्रतिशतले घटेको थियझ । नेप्से परिसूचक ९६.८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६६ विन्दुमा पुगेको थियो ।
तर, सोही दिन प्रधानमन्त्रीको कदमविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुग्यो । अदालतले सरकारको निर्णय बदर गर्ने र प्रतिनिधी सभा पुनर्स्थापना हुने अपेक्षा जनमानसमा जिवितै रहँदा लगानीकर्ताहरु 'पर्ख र हेर'को अवस्थामा छन् ।
ब्रोकर कमिशन घटाउने आश्वासन पाएकाले पनि लगानीकर्ताहरुमा उत्साह बढेको अनुमान छ ।पुस ३ मा अर्थमन्त्री विष्णु पौडेलले सेयर ब्रोकर कमिशन घटाउन निर्देशन दिएका थिए । पछिल्लो समय धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पनि ब्रोकर कमिशन घटाउने विषयमा सकारात्मक देखिएका छन् । जसले लगानीकर्तामा उत्साह कायमै छ ।
साथै अधिकांश कम्पनीहरुको साधारणसभा पुस महिना बस्ने गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समय भएकाले यसलाई लगानीकर्ताहरुले अवसरको रुपमा सदुपयोग गर्न चाहन्छन् । पुस मसान्तसम्ममा राख्ने गरी धेरै कम्पनी तथा वित्तीय संस्थाहरुको साधारणसभा डाकेका छन् । उनीहरुले आकर्षक लाभांश समेत घोषणा गरेका छन् ।
यद्यपि लगानीकर्ताहरुले लाभांश लिने भन्दा बढी सेयर किनबेच गरेर प्राप्त हुने लाभमा केन्द्रीत हुने गरेका छन् । मुलुकमा संकटको समयमा लगानीका सम्भावित क्षेत्रहरु कमजोर हुँदा लगानीकर्ताहरु सेयर बजारबाट नाफा कमाउने लोभले सेयर बजारमा लगानी बढाउने गर्छन् । सशस्त्र द्वन्द्वकालदेखि नेपालमा विगतका संकटपूर्ण अवस्थामा सेयर बजारमा उछाल आउने गरेको छ । भूकम्प र भारतीय नाकाबन्दी जस्तो संकटकालीन समयमा पनि सेयर बजार उकालो लागेको थियो । अहिले कोरोना महामारीले सबै आर्थिक क्षेत्र आक्रान्त छ । कोभिड-१९का कारण आर्थिक क्षेत्रमा परेको नोक्सानीलाई भरथेग गर्न सेयर बजारबाट लगानी बढाएर नाफा कमाउने दाउमा लागेके देखिन्छ ।
गत मंसिर १६ बाट नेप्से परिसूचक २००० अंकबाट उकालो लाग्न थालेको थियो । मंसिर १७ मै नयाँ किर्तिमानी कायम गर्दै नेप्से २०७१.०३ अंकमा पुग्यो । त्यसपछि नेप्सेमा उतारचढाव आइरहेको छ । नयाँ किर्तिमानी कायम भएपछि पछिल्लो १६ दिनमा नेप्से १९३२ अंकभन्दा तल झरेको छैन भने २०६७.१७ अंकभन्दा माथि बढेको पनि छैन ।
पछिल्लो १६ दिनयताको नेप्से परिसूचकहरु
मंसिर १५ |
१९९५ |
मंसिर १६ |
२०००.४० |
मंसिर १७ |
२०७१.०३ |
मंसिर १८ |
२०५५.४५ |
मंसिर २१ |
१९३२.११ |
मंसिर २२ |
२००४.३९ |
मंसिर २३ |
१९९५.३५ |
मंसिर २४ |
१९५५.७५ |
मंसिर २५ |
१९६४.०२ |
मंसिर २८ |
२०१०.४५ |
मंसिर २९ |
२०६७.१७ |
मंसिर ३० |
२०६१.४१ |
पुस १ |
२०५५.२२ |
पुस २ |
२०३२.५२ |
पुस ५ |
१९३५.६६ |
पुस ६ |
१९६५.९६ |
मंसिरमा २९ मा नेप्से परिसूचक ५६.७२ अंक अर्थात २.८२ प्रतिशत बढेर २०६७.१७ बिन्दुमा बन्द भएको थियो। यो ‘अलटाइम हाइ क्लोजिङ्ग’ भन्दा ४ अंक तल हो। यस अघि गत मंसिर १७ गते नेप्से २०७१.०३ विन्दुमा बन्द भएको थियो। जुन हालसम्मकै उच्च बन्द बिन्दु हो । यद्यपि, नेप्से त्यसपछिको कारोबार दिन अर्थात मंसिर १८ गते २११८.६८ बिन्दुसम्म पुगी २०५५.४६ विन्दु झरेर बन्द भएको थियो। सो २११८.६८ विन्दु हालसम्मकै उच्च ‘इन्ट्रा डे हाइ’ विन्दु हो ।
कसले कमाए, कसले गुमाए ?
सोमबार वाणिज्य बैंकहरुमा उच्च लाभांश घोषणा गरेको नबिल बैंकको सेयर मंगलबार १२३ अंकले बढेर रोकिएको थियो । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको सेयर १३ सय ५९ अंकले बढेको थियो । राष्ट्रिय बिमा कम्पनीको प्रोमोटर सेयर पनि १३ सय २६ अंकले बढेको हो ।
सबैभन्दा बढी सेयर बढ्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआइसी एशिया, अप्पर तामाकोशी पनि छन् ।
सबैभन्दा बढी गुमाउनेमा नारायणी विकास बैंकका सेयर लगानीकर्ता छन् । नारायणीको सेयर ४८ अंकले घटेको छ । त्यसपछि युनाइटेड इदी-मार्दी आरबी हाइड्रोपावर लिमिटेडको घटेको छ ।
यस अवधिमा २०५ कम्पनीको ५५ हजार ७ सय २१ पटकको कारोबारमा १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर कारोबार भएको छ । ६ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको खरीदबिक्री भएको छ ।
कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये सबै समूहको परिसूचक बढेको हो । सबैभन्दा बढी जीवन बीमा समूहका परिसूचक ७.४३ प्रतिशतले बढेको छ । त्यसपछि निर्जीवन बीमा समूहमा बढेको छ । यो ५.७३ प्रतिशतले बढेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया