प्रमुख समाचार

आयल निगमको नाफा १२.८७ अर्ब, सरकारलाई ६६ अर्ब राजस्व बुझायो

इकागज |
पुस १३, २०७७ सोमवार ६:५७ बजे

काठमाडौं : नेपाल आयल निगमले गत आर्थिक वर्षमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ । कोभिड–१९ ले पेट्रोलियम पदार्थको खपत केही कम हुने अनुमान गरिए पनि निगमले चार वर्ष यताकै उच्च नाफा कमाएको हो । निगमले सार्वजनिक गरेको अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार, मोतिहारी–अमलेखगन्ज पेट्रोलयम पाइपलाईनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका  साथै सञ्चित नाफाको ब्याज आम्दानी बढेपछि निगमको नाफा बढेको हो । 

पाइपलाइनबाट डिजेल ढुवानी गर्दा १० महिनाको अवधिमा १ अर्ब ४७ करोड रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैंकको व्याजबाट मात्र १ अर्ब ७७ करोड रुपैयाँ आम्दानी भएको निगमले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।  


निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार, व्याज आम्‍दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपिजी ग्यासमा दिदै आएको अनुदान घटेका कारण उक्त नाफा आर्जन गर्न सम्भव भएको हो । समग्रमा २०७६/७७ मा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ । निगमले आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । 

अन्तराष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घटेको र निगमले स्वचालित मुल्य प्रणाली लागू गर्दै गएपछि निगमले नाफा कमाउँदै आएको छ । निगमले पेट्रोलियम आपूर्तिकर्ता इन्डियन आयल कर्पाेरेशन (आइओसी) ले पठाएको मुल्य अनुसार अंग्रेजी क्यालेण्डर अनुसार हरेक १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । 
भण्डारण क्षमता वृद्धिदेखि दोश्रो पाइपलाइनको योजना अघि सारेको निगमले अघिल्लो वर्षको नाफा रकम विभिन्‍न वाणिज्य बैंकमा राखेको थियो । निगमका अनुसार, नाफा रकम पुर्वाधार विकासमा खर्च गर्दै निगमलाई अघि बढाइने योजना छ । निगमले पहिलो पटक नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार पारेको हो । 

आर्थिक वर्ष २०७५/७५ मा  २९ करोड रहेको चुक्ता पुँजी वृद्धि गरी निगमले ११ अर्ब रुपैयाँ पुर्‍याएको थियो । आर्थिक वर्ष ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेकोमा २०७६/७७ मा नाफा रकमबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने बताइएको छ । अर्थन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय विमा कम्पनी, राष्ट्रिय बाणिज्य बैंक र नेपाल बैंकको शेयर रहेको छ ।

निगमका सरकारको ९९ प्रतिशत सरकारको शेयर रहेको छ । गत वर्ष निगमले इन्धनको कारोबार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रुपैयाँ राजस्व बझुाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कम हो । 

निगमले पछिल्लो पाँच वर्षमा औसत १ अर्ब रुपैयाँ सडक मर्मत कर तिरिरहेको छ । त्यस्तै, गत आर्थिक वर्षमा प्रदुषण करबापत् २ अर्ब ९४ करोड र पूर्वाधार विकास कर अन्तगर्तत १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ । 

आर्थिक वर्ष     नाफा रकम रुपैयाँमा
२०७६/७७–  १२ अर्ब ८७ करोड
२०७५/७६–  ८ अर्ब ७५ करोड
२०७४/७५–  ३ अर्ब ५८ करोड
२०७३/७४–  ९ अर्ब ४५ करोड
२०७२/७३–  १९ अर्ब ३६ करोड
स्रोत : नेपाल आयल निगम


Author

थप समाचार
x