सडकमा देखिएको त्यो दृश्य : अनि विद्यार्थीले सुरु गरे जाडोमा न्यानो उपहार
काठमाडौँ : प्लस टु पढ्ने छ जना युवा । कालिमाटीको एउटा क्याफेमा गफिइरहेका थिए । घर फर्किंदै गर्दा घडीले रातको ११ बजाइसकेको थियो । तीनओटा बाइकमा कालिमाटी हुँदै उनीहरू बल्खुतिर हुइँकिरहेका थिए । सडकमा देखिएको एउटा दृश्य देखेर उनीहरू टक्क अडिए । भुइँमा बोरा ओछ्याएर लगलग काप्दै सुतिरहेका मानिसतिर उनीहरूको दृष्टि पर्यो ।
मंसिर महिना । जाडो बिस्तारै बढिरहेको थियो । हतार-हतार घरतिर लागिरहेका उनीहरू सबैलाई कतिबेला घर पुगेर सिरकभित्र गुटुमुटु पर्नु भएको थियो । तर, उनीहरूले देखेको त्यो दृश्य उनीहरूको तनसँगै मन पनि कठ्यांग्रियो । कठ्याङ्ग्रिएको उनीहरूको मन घर गएपछि सिरकले पनि तताउन सकेन । तातो सिरकभित्र गुटुमुटु पर्दा पनि त्यो दृश्यले उनीहरूलाई चिसो बनाएको थियो । अंकित रोकाले घर गएपछि पनि उनीहरूको अनुहार झल्झली सम्झिरहेँ । सन्तोष गौतमलाई त्यो रात निद्रा परेन ।
अरुण थिङ, वीरबल पौडेल, अभिषेक मोक्तान र अनमोल राणालाई पनि त्यो दृश्यले निकै छोएको थियो । उनीहरू सबै बल्खुस्थित काठमाडौँ बनहार्ट कलेजका विद्यार्थी हुन् । उनीहरूको उमेर १८ देखि २० वर्षभित्र पर्छ । त्यो घटना एक महिना अगाडिको हो । जतिबेला उनीहरूको कक्षा १२ को परीक्षा चलिरहेको थियो । परीक्षा सक्किन केही दिन मात्र बाँकी थियो ।
अंकितले फेसबुक लाइभ गरे । लाइभमा उनले भने : ‘मेरो म्यासेज प्लस टुको परीक्षा दिनेहरूलाई । हाम्रो जाँच सक्किएपछि हामीले लगाउने सर्ट, पाइन्ट, कोट र स्वेटर यत्तिकै बस्छ । हिजो मैले बाटोमा लुगा नभएर कठ्याङ्ग्रिँदै बसेका मानिसहरूलाई देखेँ । नेपालभरिबाट लगभग चार लाख प्लस टुको जाँच दिइरहेका छौँ । तीमध्ये दुईलाख ड्रेस मात्रै बाँड्न सकियो भने पनि धेरै सहयोग हुन्छ भन्ने लाग्यो । बल्खु वरिपरि हुनेले मलाई मेसेज गर्नु । म तपाईंहरूको ड्रेस लिन आउँछु ।’ त्यस्तै, अरुले पनि ‘एकचोटि पढ्नुहोला’ भन्दै फेसबुकमा स्ट्याटस राखे ।
‘मंसिर लागेसँगै जाडो बढिरहेको छ । जाडोमा सबैसँग न्यानो कपडा नहुन सक्छ । जाडोमा न्यानो कपडा लगाउन नपाउँदा कस्तो हुन्छ सोच्नुहोस् त ? सडकलाई घर र आकाशलाई छानो मान्ने व्यक्तिहरूलाई सम्झिनुस् त ? एउटा मानव भएको नाताले अर्को मानवलाई सहयोग गर्नु मानवताको धर्म होइन र ?’ उनीहरूले पोस्ट गरेको स्ट्याटसमा लेखिएको थियो । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राखेपछि उनीहरूले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया आयो । धेरैले सहयोग गर्ने बाचा उनीहरूलाई गरे ।
‘यति धेरै रेस्पोन्स आउँला भनेर हामीले सोचेका पनि थिएनौँ,’ सन्तोषले भने, ‘फेसबुकमा आएको प्रतिक्रियाले झनै हामीलाई हौस्यायो ।’ सुरुमा उनीहरू छ जनाले आफूसँग भएको कलेज ड्रेस जम्मा गरे । कलेजको सर्टबाट कलेजको लोगो निकाले । अरु कलेजका साथीहरूबाट जम्मा भएको ड्रेसमा पनि त्यसै गरे । ३०-३५ जोर कलेज ड्रेस जम्मा भयो । ड्रेस जम्मा गरेकै रात कालिमाटी गए । कठ्याङ्ग्रिएर निदाउन नसकेकाहरूलाई पालैपालो त्यो ड्रेस बाँडे । सडकमा कठ्याङ्ग्रिनेले उनीहरूलाई धन्यवाद दिए । कलेजका शिक्षकहरूबाट स्याब्बासी खाए । परिवारका सदस्य उनीहरू पनि उनीहरूले गरेको कामबाट दंग थिए ।
उनीहरूले आफू पुग्न भ्याउने ठाउँसम्म पुगेर कलेज ड्रेस भेला पारे । ‘धेरै ठाउँबाट ड्रेस लिन आउनु भन्ने मेसेज आएको थियो,’ अरुणले भने, ‘तर, हामी सबै ठाउँमा भने जान सकिरहेका छैनौँ ।’ राम्रो कामको सुरुवाद गरे जताबाट पनि सहयोग मिल्ने उनीहरूको अनुभव छ । आफूजस्तै विद्यार्थीहरूलाई उनीहरूको सन्देश छ, ‘अप्ठ्यारोमा परेका व्यक्तिलाई आ-आफ्नो ठाउँबाट सहयोग गरौँ ।’‘कलेजको ड्रेस सिलाउन १० देखि १२ हजार पर्छ,’ अरुणले भने, ‘दुई वर्षमा चार महिना पनि राम्ररी कलेजको कोट लगाइँदैन । पछि यत्तिकै थन्किन्छ ।’ त्यसरी कलेज ड्रेस थन्काउनुभन्दा जतिसक्दो बाँडौँ,’ सन्तोषले थपे ।
केही समय पहिले उपत्यकाका विभिन्न ठाउँमा क्लोथ बैंक (कपडा बैंक) सञ्चालनमा आएका थिए । जहाँ हुनेले आफूसँग भएका नयाँ तथा पुराना कपडा लगेर राखिदिन्थे । नहुनले वा आर्थिक रूपमा विपन्न व्यक्तिहरूले ती कपडा निःशुल्क रूपमा लैजान्थे र लगाउँथे । तर, अहिले ति कपडा बैंकहरू देख्न मुस्किल छ । कोभिडले आर्थिक रूपमा धेरैलाई गाह्रो बनाइरहेको बेला त्यस्ता कार्यक्रम सञ्चालनमा आउनुपर्ने सन्तोषले बताए । ‘त्यस्ता कार्यक्रमहरू झन् यस्तो बेला सक्रिय हुनुपर्ने हो,’ सन्तोषले भने, ‘तर, पनि हामीले आ-आफ्नो ठाउँबाट सानो सहयोग गर्दा अरुलाई राहत हुन्छ भने सक्दो सहयोग गरौँ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया