अनलाइनबाट सेवा खरिद गर्न प्रिपेड कार्डमार्फत ५०० डलरसम्मको भुक्तानी सुविधा
काठमाडौं : राष्ट्र बैंकले अनलाइनमार्फत ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रामा कारोबार गर्न पाउने व्यवस्था गर्ने भएको छ । वाणिज्य बैंकहरुले अनलाइनमार्फत् विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्न विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्नेछ ।
पछिल्लो समयमा विज्ञापनहरु फैसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल तथा युट्युब, गुगल लगायत अन्य सूचना प्रविधिको माध्यमबाट गरिने प्रचलन बढ्दै गएको छ । यसको भुक्तानी अनलाइनबाट विदेशी मुद्रामा हुन्छ । डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने भन्दै राष्ट्र बैंकले नयाँ व्यवस्था गर्न लागेको हो ।
विदेशबाट विभिन्न सेवाहरु खरिद गरेबापत स-साना प्रकृतिका रकम सहजताका साथ भुक्तानी गर्नसक्ने व्यवस्था नहुँदा पुँजी पलायन हुनसक्ने, हुण्डिले पश्रय पाउन सक्ने तथा राज्यले कर गुमाउनुका साथै छाँया अर्थतन्त्र मौलाउन सक्ने जोखिम देखिएको बैंकको निष्कर्ष छ । हालसम्म प्रिपेड कार्ड राष्ट्र बैंकको प्रस्तावित व्यवस्था हो । सम्बन्धीत सरोकारवालासँग राय, सल्लाह र कार्यान्वनमा जाने बैंकले बताएको छ ।
कसरी लिन सकिन्छ प्रिपेड कार्ड ?
विदेशी मुद्राको भुक्तानी गर्न अधिकतम सीमा पाँच सय अमेरिकी डलर छ । परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न सकिनेछ । कार्ड जारी गर्दा सम्बन्धित प्रयोगकर्ताको केवाइसी विवरण अद्यावधिक भएको हुनुपर्नेछ । सम्बन्धित प्रयोगकर्ताको स्थायी लेखा नं. (प्यान) लिनुपर्नेछ ।
वाणिज्य बैंकहरुले त्यस्ता कार्डमा उक्त दिनको विनिमय दरका हिसावले ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा जम्मा गर्न सक्नेछन् । वाणिज्य बैंकहरुले कार्डमा विदेशी मुद्रा जम्मा गर्दा उक्त रकममा विदेशबाट सेवा खरिद गर्दा नियमानुसार लाग्ने कर अग्रिम रुपमा कट्टा गरी जम्मा गर्नु पर्नेछ ।
प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकै वा पटक पटक गरी बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म उपभोग गर्न पाउने उल्लेख छ । प्रयोगकर्ताले नेपालको प्रचलित कानूनबाट प्रतिबन्ध नलगाइएका विदेशी सेवा नेपालमा बसी अनलाइन मार्फत् विदेशबाट आयात गर्न सक्नेछन् ।
प्रयोगकर्ताले अघिल्लो पटकसम्म अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्राभन्दा कम सटही गरेको भए वाणिज्य बैंकहरुले जुनसुकै बेला बार्षिक अमेरिकी डलर ५०० को सीमा ननाघ्ने गरी बाँकी रकम कार्डमा जम्मा गर्न सक्नेछन् । जम्मा गरिएको रकम उपभोग गरी प्रयोगकर्ताले कम्तिमा पनि सोको दोब्बर विदेशी मुद्रा आय आर्जन गरेको प्रमाणित कागजात पेश गरेमा वाणिज्य बैंकबाट आवश्यकता र औचित्यका आधारमा उक्त कार्डमा थप रकम जम्मा गर्न सटही सुविधा उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ ।
कारबाही
प्रिपेड कार्डको सुविधा लिन आउने ग्राहकबाट अन्य बैंकबाट यस्तो सुविधा नलिएको स्वघोषणा अनिवार्य रुपमा लिनुपर्नेछ । प्रिपेड कार्डमा विदेशी मुद्रा जम्मा गर्दा अन्य व्यक्तिको नाममा र अन्य कसैको कार्डमा विदेशी मुद्रा जम्मा गर्न पाइने छैन ।
ग्राहकले एकभन्दा बढी बैंकबाट यस्तो सुविधाको दोहोरो उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय (नियमित गर्ने) ऐन बमोजिम कारबाही हुने राष्ट्र बैंकको चेतावनी छ ।
यस्तो कारोबार गर्दा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ लगायतका प्रचलित कानून, नियम, निर्देशनको पूर्णतया पालना गर्नु पर्नेछ । यसरी जारी गरिएको कार्ड सम्बन्धी विवरण र सो कार्डबाट खर्च भएको विवरण सम्बन्धित वाणिज्य बैंकले देहायको ढाँचामा मासिक रुपमा प्रत्येक महिना समाप्त भएको सात दिन भित्र यस विभागमा पेश गर्नु पर्नेछ ।
हालसम्म के छ व्यवस्था ?
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको बुंदा नं. ६६ मा 'अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने' व्यवस्था छ ।
राष्ट्र बैंकबाट जारी भएको एकीकृत परिपत्र-२०७६ मा बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका डेबिट र क्रेडिट कार्ड धारक (होल्डर) हरूले नेपालभित्रै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले वार्षिक दुई हजार अमेरिकी डलरसम्म नेपालको प्रचलित कानूनबाट प्रतिबन्ध नलगाइएका विदेशी सेवा अनलाइन मार्फत् विदेशबाट खरीद गर्न सक्ने व्यवस्था छ ।
त्यसबाहेक नेपाली उपभोक्ताहरुले नेपालमै बसेर अनलाइन माध्यमबाट सेवा खरिद गर्न सक्ने व्यवस्था छैन । वाणिज्य बैंकहरुले आफ्ना ग्राहकहरुको तर्फबाट तेस्रो मुलुकहरुबाट लिएको सेवाको भुक्तानीको लागि अमेरिकी डलर ३ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्ने र अमेरिकी डलर ३ हजार देखि अमेरिकी डलर १० हजारसम्मको नियामक निकायको सिफारिसमा सटही सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था छ।
नेपालस्थित बैंक तथा वित्तीय संस्थाहरुले सेवा आयातबापतको भुक्तानीको लागि राष्ट्र बैंकद्वारा जारी विभिन्न परिपत्रहरुको अधीनमा रही सटही सुविधा प्रदान गर्ने गरेको छ । प्रविधिको बढ्दो प्रयोगले विभिन्न सेवाहरु घरमै बसी खरिद गर्न सकिने र स-साना प्रकृतिका भुक्तानीलाई सरलीकृत नगरिएमा उक्त सेवा आवश्यक पर्ने सेवाग्राहीले विदेशमा भएका आफन्त, साथीभाईहरुको बैंक खाता, पेपल, पायोजियर लगायतका माध्यमबाट भुक्तानी हुने प्रवृत्तिले गर्दा डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने राष्ट्र बैंकले बताएको छ ।
सबै क्षेत्र तथा जुनसुकै प्रयोजनको लागि विदेशी मुद्राको सटही सुविधाको व्यवस्था गर्दा देशको विदेशी विनिमय सञ्चितिमा अधिक चाप पर्न सक्ने हुँदा वाणिज्य बैंकहरुले आफ्ना ग्राहकहरुलाई सशर्त सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैंकले उल्लेख गरेकोछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया