प्रमुख समाचार

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नेमा विश्‍वस्त छौँ :  नेता पौडेल

इकागज |
पुस १३, २०७७ सोमबार १६:५ बजे

फाइल तस्बिर

दमौली : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधि सभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरू विश्‍वस्त रहेको बताएका छन् । कांग्रेस तनहुँ-२ ले सोमबार भीमादमा गरेको विरोधसभालाई सम्बोधन गर्दै पौडेलले सरकारले प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको र  अदालतले त्यसलाई सच्याउने विश्‍वास व्यक्त गरे । 

नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।” मुलुकलाई संकटबाट बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो । 


नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो । “संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उनले भने, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।”
 
कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले काङ्ग्रेसमा केही कमजोरी रहे पनि दबाबपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्‍ने बताए ।  प्रतिनिधि सभा विघटनको विरोध गर्दै  कांग्रेस तनहुँले दुई  निर्वाचन क्षेत्रमा विरोध सभा गरेको थियो । तनहुँ-१ को दमौली र २ को भीमादमा भएको सभालाई नेता पौडेलले सम्बोधन गरेका थिए । (रासस)
 


Author

थप समाचार
x