प्रमुख समाचार

यसरी सुरु भयो प्रकृतिको राजनीतिक अभियान

अनिष भट्टराई |
पुस १५, २०७७ बुधबार १९:३५ बजे

पोखरा : ‘केटीहरूको गफमा संसारका सबै कुरा हुन्छन् तर राजनीतिक कुरा हुँदैनन्,’ प्रकृति भट्टराई बस्नेतले नेपाल लिट्रेचर फेस्टिभलको ९ औं संकरणको अन्तिम दिनको ‘युवाको नजरमा देश’ सेसनमा भनिन् । यो उनको शंका होइन, अनुभव हो । ब्याचलर्स इन सोसियल वर्क पढेकी उनले क्याम्पस दिनमा राजनीतिबारेमा गफ गर्ने साथी पाइनन् । 

कक्षामा पढाइका हिसाबले आफूभन्दा अब्बल साथी देखेकी उनले राजनीति र देशको समसामयिक गतिविधिबारे छलफल गर्न कोही भेटिनन् । ‘क्लासमा ब्रिलिएन्ट माइण्ड थिए, तर राजनीतिबारे छलफल गर्ने साथी पाइनँ, केटीहरू विश्वको कुरा गर्न सक्छन्, राजनीतिको बाहेक,’ प्रकृतिले भनिन् ।


काठमाडौंमा हुर्किएकी प्रकृतिले प्लस टु पढ्दासम्म घर नजिकका दाइको संगत गरिन् । उनीहरूको संगत बच्चैदेखि गरेकी उनले सानैमा गहकिला शब्द सिकिन् । अंग्रेजी माध्यममा पढेकी प्रकृतिलाई उनीहरूले घरमा पढाइमा सहयोग गर्न सकेनन् । 

बुबाआमाले कक्षागत हिसाबले कम पढेपनि शैक्षिक चेत बढी रहेकाले प्रकृतिलाई  लोकसेवाको तयारी गर्ने विद्यार्थीसँग पढ्न पठाउँथे । उनीहरूसँग बस्दा प्रकृतिले सानोमै ‘सोसियोलोजी’, ‘डेमोक्रेसी’ जस्ता शब्द सिकिन् । भलै उनलाई ती शब्दका अर्थ याद थिएनन्, उनको मस्तिष्कमा ती शब्द गडे ।

ती दाइहरूसँग प्रकृतिले पछि देशका समसामायिक गतिविधि, बन्दै गरेका नीति, बन्न नसकेका नीतिबारे छलफल गर्न सक्ने भइन् । चियागफमा उनी दाइहरूसँग बसेर देशको अवस्थामा बहस गर्थिन् । प्लस टु सकाएपछि दाइहरूसँगको संगत छुटेपछि उनले राजनीतिबारे उनले छलफल गर्न सकिनन् ।  

कक्षामा कोही पनि केटी साथीमा राजनीतिक चेत किन छैन भन्नेबारे उनलाई कौतुहलता जाग्यो । २०७४ को स्थानीय चुनाव ताका उनले ‘वुमन लिड’ नामक संस्थामा काम गर्दा इन्टर्नशीपका लागि एक राजनीतिक पार्टीसँग चुनावी अभियानमा हिँडिन् । काठमाडौं–१ मा हिँडेकी उनले त्यहाँका महिलामा पनि राजनीतिक साक्षरता भेटिनन् । महिलाले आफूले कसलाई र किन भोट गर्दैछु समेत भन्न नसक्ने अवस्था उनले देखिन् ।
‘काठमाडौं क्षेत्र नम्बर १ त नेपालकै टपमस्ट एजेकुटेड प्लेस हो, तर त्यहीँका महिलामा पनि राजनीतिक साक्षर र धेरैसँग भोटिङ कार्ड पनि रैनछ,’ भट्टराईले भनिन्, ‘महिलामा राजनीतिको ज्ञान नहुँदा मैले सोचेंकी डेमोक्रेसीमा आधा भन्दा बढी ज्ञान छैन भने यसको अर्थ के ?’

क्याम्पस तथा समुदायमा राजनीतिक चेत कम देखेपछि उनलाई अभियान चलाउने इच्छा जाग्यो । तर अरुझैं आफूलाई नै राजनीतिको ज्ञान छ कि छैन भन्‍नेबारे आफूमानै संशय छायो र ४ वर्षसम्म पनि अभियान थाल्न सकिनन् । तर पछि उनले आफ्ना केही साथीहरूसँग राजनीतिमा चिया गफ थालेपछि उनलाई ‘महिलाका लागि राजनीतिक साक्षरता’ अभियान थाल्ने प्रेरणा मिलेको बताउँछिन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x