प्रमुख समाचार

कुलमानको बर्हिगमनसँगै विद्‍‍‍युत्‌ चुहावट बढ्यो

विकास थापा |
पुस १६, २०७७ बिहीबार ८:९ बजे

काठमाडौं : कुलमान घिसिङको बहिर्गमनपछि विद्‍‍‍युत्‌ प्राधिकरणको प्रणालीमा बिजुली चुहावट बढ्न सुरु भएको छ । कुलमानले प्राधिकरण छाड्नुअघि १५ प्रतिशतमा सीमित रहेको विद्‍‍‍युत्‌ चुहावट गत कात्तिकसम्म आइपुग्दा १.६ प्रतिशतले बढेको छ । प्राधिकरणले कात्तिकदेखि पुस १५ सम्मको चुहावटको गणना गरेको छैन ।

विद्‍‍‍युत्‌ प्राधिकरणका कायम मुकाम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोभिड-१९ का कारण कर्मचारीहरु अनुगमन गर्न नपाएको, लकडाउनले घरमै बस्‍नु परेको, कोरोनाकै कारण उद्योगहरु सञ्चालन हुन नसकी प्राविधिक चुहावट वृद्धि हुन पुगेकोलगायतका कारण दर्शाए । 'हामीले यो आर्थिक वर्षमा चुहावटलाई १४.५ प्रतिशतमा झार्ने लक्ष्य लिएका थियौं,’ शाक्यले बुधबार इकागजसँग भने, ‘अब १५ नै रहने भयो ।’


उद्योग चल्न नसक्दा बिजुली खपतको ढाँचामा आएको परिवर्तनले प्राविधिक चुहावट बढ्न पुगेको उनको तर्क छ । उद्योगले बिजुली खपत गर्दा प्राविधिक चुहावट गार्हस्थ्य (घरायसी) भन्दा कम हुने गर्छ । मंगलबारको उच्चतम विद्‍‍‍युत्‌ माग (पिक लोड) लाई आधार मान्ने हो भने १.६ प्रतिशत चुहावट हुनु भनेको चार लाख युनिट बिजुलीको आम्दानी नाश हुनु हो । प्राधिकरणको आफ्नै विद्‍‍‍युत्‌गृह, भारतबाट आयात र निजी क्षेत्रका गरी मुलुकको विद्‍‍‍युत्‌‌ प्रणालीमा यतिखेर २ करोड ५२ लाख युनिट बिजुली उपलब्ध छ ।

तराईमा ‘अस्वाभाविक’ माग वृद्धि
तराई क्षेत्रमा यसपालि एकाएक विद्‍‍‍युत्‌‌को माग (लोड) बढेको छ । तराईमा मात्रै सय मेगावाट लोड बढेको छ भने काठमाडौं उपत्यकामा घटेको छ । तराईमा माग बढेपछि प्राधिकरणले भारतबाट थप सय मेगावाटै बिजुली आयात गरेको छ । आयातीत बिजुली चुहावटमा रुपान्तरण भएको आशंका गरिएको प्राधिकरणका एक अधिकारीले बताए ।  तराईमा बत्तीको माग बढ्ने गर्मीयाममा मात्र हो । हिउँद लाग्‍नेबित्तिकै पंखा नचल्ने हुँदा अघिपछि माग घट्‍थ्यो ।

ती अधिकारीका अनुसार कोभिड १९ का कारण अनुगमन र नियन्त्रणमा कमी आएपछि तराई क्षेत्रमा चुहावट बढेको हो । त्यसमाथि गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेयता राजनीतिक दल, कर्मचारीतन्त्र, स्थानीय प्रशासनको ध्यान जुलस, आमसभा, र्‍यालीमा केन्द्रित छ । ‘सबैको ध्यान मुलुकको राजनीतिमा केन्द्रित भएका बेला तराईमा बिजुलीको माग बढेको देखिन्छ,’ ती अधिकारीले भने ।

ती अधिकारीका भनाईलाई केही तथ्यांकले पनि पुष्टि गरेका छन् । अघिपछि तराईमा हिउँदयामा माग बढ्दैनथ्यो । भारतबाट आयातीत बिजुली नेपालको आन्तरिक प्रसारण लाइन अभावका कारण काठमाडौंसम्म आइपुग्दैन । तराईमै खपत हुन्छ ।

प्राधिकरणले २०७६ सालको पुस १४ गते भारतबाट ४९८ मेगावाट बिजुली आयात गरेको थियो । २०७७ सालको पुस १४ गते भारतबाट आयात भएको बिजुलीको परिमाण हो ६३४ मेगावाट । बढेजति आयात भएको छ । यता काठमाडौं उपत्यकामा भने विद्‍‍‍युत्‌‌को माग घटेको छ । गत पुसदेखि यसपालिको पुससम्मको अवधिमा प्राधिकरणको प्रणालीमा ८६ मेगावाट विद्‍‍‍युत्‌ थप भएको छ । गत वर्ष यही अवधिमा उपत्यकाको माग ४१६ मेगावाट थियो । यस वर्ष भने उक्त माग ३७६ मेगावाटमा सीमित भएको छ ।

सधैं उपत्यकाको माग बढ्नेपर्नेमा घटेको तर घट्‍नुपर्ने ठाउँमा बढेको अवस्था छ । यही बेला बीच बीचमा सिष्टम ट्रिपिङ (बत्ती झ्याप्पै जाने) भइरहेको छ । ‘पटक पटकको सिष्टम ट्रिपिङले तीनवटा कुरालाई संकेत गर्छ,’ ती अधिकारीले भने, ‘विद्‍‍‍युत्‌ गृहको उत्पादन क्षमतामा ह्रास, प्रसारण लाइनले ओसर्न नसक्ने बिजुलीको अवस्था र सवस्टेशन तथा कन्डक्टर (तार) को मर्मत सम्भार अभाव ।’

गत वर्ष ४१६ मेगावाटको माग धानेको उपत्यकामा यसपटक ३७६ मेगावाटमा झर्दा पनि ट्रिपिङ भइरहनु भनेको विद्‍‍‍युत्‌ प्राधिकरणको प्रणाली दुरुस्त नहुनु हो । तर प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक शाक्य भने तराईमै लोड बढेको भनेर छुट्याउन नसकिने बताउँछन् ।

‘तराईको लोड वृद्धि अस्वाभाविक होइन,’ शाक्यले बुधबार इकागजसँग भने, ‘मंसिर महिनाको चुहावटको विवरण पुसको तेस्रो साता आउँछ, त्यतिखेर थाहा हुन्छ ।’ शाक्यले केही दिनयता भइरहेको ट्रिपिङ भने आफूलाई अस्वाभाविक लागिरहेको बताए । यसबारे उनले सम्बद्ध प्राविधिकहरुसित दिनहुँजसो छलफल गरिरहेको पनि उल्लेख गरे ।

बिजुलीको विद्यमान अवस्था
प्राधिकरणका प्रवक्ता तिमिल्सिनाका अनुसार गत  यतिबेला (आइतबार) विद्‍‍‍युत्‌‌को उच्चतम माग १४६० मेगावाट छ । यो मागमध्ये प्राधिकरणको कुलेखानीसहितका जलाशययुक्त विद्‍‍‍युत्‌गृहबाट १०६ मेगावाट, कालीगण्डकी ए, मध्यमर्स्याङ्‍दी, मर्स्याङ्‍दीलगायत अर्धजलाशय र नदी प्रवाहीबाट समेत गरी ४१४, निजी क्षेत्रबाट ३२० मेगावाट बिजुली बन्दोबस्त गरिएको छ । अपुग (६२० मेगावाट) भारतबाट आयात भइरहेको छ ।

यसैगरी ऊर्जाका आधारमा प्राधिकरणले २४ घण्टा ७० लाख ४५ हजार युनिट र निजी क्षेत्रले ७० हजार युनिट उत्पादन गर्दै आएका छन् । भारतबाट दैनिक ८० लाख युनिट आयात भइरहेको छ । गत वर्ष प्रणालीमा दुई करोड १७ लाख युनिट बिजुली उपलब्ध थियो भने हाल दुई करोड ५२ लाख युनिट छ ।
 


Author

थप समाचार
x